राप्ती सोनारीका १० भूमिहीन परिवारलाई लालपुर्जा



वीरेन्द्र जैसी । नेपालगन्ज ।

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का १० जना भूमिहीनलाई जग्गाधनी प्रमाणपुर्जा प्रदान गरिएको छ । स्थानीय सात जना भूमिहीन सुकुम्वासी र तीन जना भूमिहीन दलित गरी १० जनालाई लालपुर्जा प्रदान गरिएको हो । जिल्ला भूमि समस्या सधामान समिति बाँकेले उक्त वडाबाट प्रमाणीकरण भई गाउँपालिकाबाट पुनप्रमाणीकरण भएर आएका ३३ जना निवेदकमध्ये पहिलो चरणमा १० जनालाई लालपुर्जा प्रदान गरेको जनाएको छ ।

जिल्ला भूमि समस्या सधामान समिति बाँकेका संयोजक तथा प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङले ३३ मध्ये चार जनाको तीन पुस्तामा जग्गाजमिन रहेको पाइएकोले रद्ध भएका र बाँकी १९ निवेदकको हाल बसोबास गरिरहेको ठाउँ प्रदान गरिने जग्गाको कित्तामा समायोजन नभएको बताए । बाँकी १९ जनालाई उनीहरू बसोबास गरिरहेको कित्ता समायोजनपश्चात् चाँडै लालपुर्जा प्रदान गरिने उनले जानकारी दिए ।

लालपुर्जा प्राप्त गरेका नागरिकहरूले लामो पर्खाइपछि जग्गाधनी बन्न पाएकोमा खुसी व्यक्त गरे । एक सय १० वर्गमिटर जग्गाको लालपुर्जा प्राप्त गरेपछि एक लाभग्राही विष्णुदेवी मल्लले नाचेर खुसी व्यक्त गरिन् । उनले आफूहरूको लामो समयको पर्खाइपछि जग्गाधनी बन्न पाएकोमा खुसीको सीमा नै नरहेको बताइन् । हाल लालपुर्जा वितरण गरिएका निवेदनबारे प्रमाणीकरणको सबैजसो प्रक्रिया करिब एक वर्षअघि नै पूरा भएको राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष मिनराज खड्काले जानकारी दिए ।

प्रमाणीकरण भए पनि बीचमा प्रतिनिधिसभा सदस्यको निर्वाचन परेकोले निर्वाचन आचारसंहिताका कारण लालपुर्जा वितरणको काममात्रै स्थगित भएकोमा अहिले प्रदान गरिएको उनको भनाइ छ । उनले बाँकी रहेका निवेदकहरूलाई यथाशीघ्र लालपुर्जा प्रदान गर्नुपर्ने बताए । १० जनालाई एकैपटक लालपुर्जा प्रदान गर्नका लागि औपचारिक कार्यक्रम पनि आयोजना गरिएको थियो ।

उक्त अवसरमा बाँके क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य सुरेश चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेल, वडाध्यक्षहरू लगायतको उपस्थिति रहेको थियो । सो अवसरमा बाँकेका प्रमुख जिल्ला अधिकारी तामाङले आफूहरूले अहिले भूमिहिन दलित र भूमिहिन सुकुम्वासीलाई पहिलो प्राथमिकतामा राखेर लालपुर्जा प्रदान गर्ने प्रक्रियालाई तीव्रता दिइरहेको दाबी गरे ।

बाँकेमा साढे ६९ हजार निवेदन

बालेन नेतृत्वको सरकार आएपश्चात् बाँके जिल्लामा भूमि समस्या समाधान समितिले पहिलोपटक १० परिवारलाई लालपुर्जा प्रदान गरेको हो । तर, अहिले भएको लालपुर्जा वितरणको काम भूमि समस्यासम्बन्धी परेका निवेदनका तुलनामा निकै कम हो । अहिले प्रदान भएका लालपुर्जाको लागि धेरै प्रक्रिया पनि एक वर्षअघि नै पूरा भइसकेको थियो । जिल्ला भूमि समस्या समाधान समिति बाँकेका अनुसार हालसम्म जिल्लामा भूमि समस्या समाधानका लागि ६९ हजार पाँच सय ३१ वटा निवेदनहरू परेका छन् भने २०८३ असारयता मात्र एक सय ६५ थान मात्रै लालपुर्जा वितरण गरिएका छन् ।

यस हिसाबले जिल्लामा अझै ठूलो सङ्ख्यामा नागरिकहरू भूमि समस्या समाधानको पर्खाईमा रहेका छन् । जिल्लामा अव्यवस्थित बसोबासीसम्बन्धीका ४९ हजार तीन सय ९८ वटा निवेदन परेका छन् भने सात हजार पाँच सय ३१ वटा भूमिहीन सुकुम्वासी र तीन हजार नौ सय ३५ वटा भूमिहीन दलितसम्बन्धीका निवेदनहरू रहेका छन् । अझै आठ हजार ६ सय ६७ निवेदनहरू इन्ट्री हुनै बाँकी रहेका समितिका सदस्यसचिव तथा वरिष्ठ नापी अधिकृत रामकुमार बस्नेतले जानकारी दिए ।

निवेदनहरू सबैभन्दा बढी राप्ती सोनारी गाउँपालिकाका १४ हजार पाँच सय २२ वटा र सबैभन्दा कम जानकी गाउँपालिकाका दुई हजार ६ सय ५२ वटा रहेका छन् । बाँकेका प्रमुख जिल्ला अधिकारी तथा जिल्ला भूमि समस्या सधामान समिति बाँकेका संयोजक दिलकुमार तामाङले पनि अहिले भएको लालपुर्जा वितरणको काम निकै कम भएको स्वीकार गरे ।

उनले थोरै सङ्ख्यामा भए पनि लालपुर्जा वितरण गर्दा औपचारिक कार्यक्रम गर्नुको कारण यसमा अन्य स्थानीय तहहरूलाई पनि सहजीकरणका लागि तदारुकता अपनाउन तथा नागरिकहरूमा सकारात्मक सन्देश प्रवाह गर्नु रहेको उनले बताए । अबको केही दिनमा खजुरा गाउँपालिका वडा नम्बर ४ मा ५२ परिवारलाई लालपुर्जा प्रदान गर्ने तयारी गरिएको पनि उनले जानकारी दिए । परेका सबै निवेदनमाथि छानबिन गरी पहिला वडाबाट प्रमाणीकरण गर्ने र त्यसपछि गाउँपालिकाबाट पुनः प्रमाणीकरण गरेर अन्तमा जिल्ला भूमि समस्या समाधान समितिले लालपुर्जा प्रदान गर्ने निर्णय गर्ने व्यवस्था रहेको छ ।

यस काममा नापी तथा भूमि प्रशासनका कर्मचारीहरूले सघाउने गर्दछन् । पहिले यससम्बन्धी काम गर्ने जिल्ला समिति राजनीतिक नियुक्ति भएको हुने गरेको थियो भने प्रधानमन्त्री बालेन नेतृत्वको सरकारले अध्यादेश ल्याएर राजनीतिक नियुक्तिको सट्टा प्रमुख जिल्ला अधिकारी संयोजकत्वको कर्मचारी संयन्त्र सम्मिलित समिति रहने व्यवस्था गरेको थियो । २०८३ असारदेखि हालसम्म देशभर भूमिसम्बन्धी समस्याको निवेदन दिएका ६ हजार नौ सय चार थान लालपुर्जा वितरण गरिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ मंसिर ४ गते बिहीबार