पहिरोले रिसाङवासी फेरि समस्यामा सडक र खानेपानीमा क्षति



जाजरकोट ।

लगातारको वर्षाले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका बासिन्दाको समस्या फेरि बल्झिएको छ । शनिबार रातिदेखि परेको अविरल वर्षापछि सडक माथिबाट खसेको ठूलो पहिरोले लुम्बिनी–रारा राजमार्ग पूर्ण रूपमा अवरुद्ध बनाएको छ भने खानेपानीका पाइप बगाउँदा बस्तीमा पिउने पानीको समस्या बल्झिएको छ । स्थानीय सेरबहादुुर वलीका अनुसार सडक अवरुद्ध भएपछि दैनिक कामका लागि सदरमुकाम आउनेजाने स्थानीय जोखिम मोलेर हिँड्न बाध्य छन् । पहिरो खसेको क्षेत्र जोखिमपूर्ण भएकाले पैदल आवतजावतसमेत सहज नभएको उनले बताए । वर्षा नरोकिए थप पहिरो खस्न सक्ने त्रासले स्थानीयलाई झनै चिन्तित बनाएको उनको भनाइ छ ।

‘पहिरोले सडक यातायात मात्र प्रभावित पारेको छैन, स्थानीय खानेपानी संरचनामा समेत क्षति पुगेपछि स्थानीयवासी थप संकटमा परेका छन्,’ उनले भने, ‘राजमार्ग अवरुद्ध भएपछि रिसाङ हुँदै कुशे गाउँपालिकातर्फ जाने यातायात सेवा ठप्प भएको छ, भने सदरमुकाम खलंगासँगको नियमित आवतजावत प्रभावित हुँदा स्थानीयको दैनिक जीवनमा प्रत्यक्ष असर परेको छ ।’ बिरामीलाई स्वास्थ्य संस्था लैजानदेखि दैनिक उपभोग्य सामग्री ओसारपसार गर्नेसम्मका काम प्रभावित हुने अवस्था बनेको स्थानीय बताउँछन् ।

पहिरोले सडक संरचनामा क्षति पु¥याउनुका साथै स्थानीय खानेपानी आपूर्तिमा समेत असर पारेको हो । खानेपानीका संरचना तथा पाइपलाइनमा क्षति पुगेपछि स्थानीयलाई दैनिक आवश्यक पानी जुटाउन कठिनाइ हुन थालेको छ । एकातिर सडक बन्द हुँदा बाह्य क्षेत्रबाट आवश्यक सामग्री ल्याउन समस्या छ भने अर्कोतिर खानेपानीमा समेत अवरोध आएपछि रिसाङवासीले वर्षायाममै आधारभूत सेवाको संकट झेल्नुपरेको छ । स्थानीयका अनुसार वर्षा र पहिरोको समस्या नयाँ नभए पनि पटक–पटक दोहोरिने घटनाले दीर्घकालीन समाधानको आवश्यकता देखिएको छ ।

रिसाङ आसपासको सडकखण्डमा यसअघि पनि पहिरोको समस्या देखिँदै आएको छ । गत साउन ३० गते पनि सोही क्षेत्र आसपासमा ठूलो पहिरो गएको थियो । त्यसपछि फेरि पहिरो खस्दा समस्या निम्तिएको हो । लगातारको वर्षासँगै एउटै क्षेत्रमा पटक–पटक पहिरो खस्नुले यो सडकखण्ड वर्षायाममा उच्च जोखिममा रहेको स्थानीय कर्णबहादुुर वलीको भनाइ छ । सडक खुलाउने काम तत्कालीन समाधान भए पनि पहिरोको जोखिम घटाउने दीर्घकालीन उपाय नअपनाइए यात्रु र स्थानीयले हरेक वर्ष यस्तै समस्या भोग्नुपर्ने अवस्था रहेको उनले बताए ।

पहिरो ठूलो भएकाले तत्कालै सडक सञ्चालनमा ल्याउन कठिनाइ भइरहेको छ भने वर्षा जारी रहेकाले पहिरो पन्छाउने क्रममा थप माटो तथा ढुंगा खस्ने जोखिमसमेत रहेको छ । प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले अवरुद्ध सडक खुलाउन आवश्यक पहल भइरहेको बताए । उनका अनुसार सडक सञ्चालनमा ल्याउन सम्बन्धित निकायसँग समन्वय भइरहेको छ । ‘तर सडक कहिलेसम्म पूर्ण रूपमा खुल्छ भन्ने यकिन नहुँदा स्थानीयमा अन्योल कायमै छ । सडक अवरुद्ध भए पनि मान्छे हिडेर आउजाउ गरिरहेका छन्, तर रिसाङमा मुुख्य समस्या खानेपानीको हो,’ उनले भने, ‘बैकल्पिक व्यवस्थापन गरी रिसाङमा खानेपानी व्यवस्थापन गरिएको छ, यसमा प्रशासन र नगरपालिकाले ध्यान दिएका छन् ।’

राजमार्ग अवरुद्ध हुँदा खाद्यान्न, दैनिक उपभोग्य वस्तु तथा अन्य आवश्यक सामग्रीको ढुवानीमा असर पर्न सक्ने स्थानीयको चिन्ता छ । सडक लामो समय बन्द रहे बजारमा सामानको अभाव र मूल्यवृद्धिको समस्या देखिन सक्ने उनीहरूको भनाइ छ । त्यसैगरी स्वास्थ्य, शिक्षा तथा सरकारी सेवाका लागि सदरमुकाममा निर्भर स्थानीयलाई पनि समस्या थपिनेछ । विशेषगरी आकस्मिक बिरामीलाई अस्पताल पु¥याउने अवस्था जटिल बन्न सक्ने भएकाले सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

रिसाङमा पछिल्लो पहिरोले एउटा अस्थायी सडक अवरोध मात्र सिर्जना गरेको छैन; यसले वर्षायाममा स्थानीयले भोग्दै आएको सडक, खानेपानी र सुरक्षित आवतजावतको बहुआयामिक समस्या फेरि सतहमा ल्याएको छ भने तत्काल पहिरो हटाएर सडक सञ्चालन गर्नुका साथै जोखिमयुक्त भूभागको प्राविधिक अध्ययन गरी सडक र खानेपानी संरचनाको दीर्घकालीन संरक्षण गर्नुपर्ने आवश्यकता देखिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १५ गते सोमबार