कालिकाको आर्थिक अनियमितता प्रकरणः घुस दिने व्यक्तिमाथि छानबिन गर्न माग



शेरबहादुर ऐर । कैलाली ।

कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ४ राजीपुरस्थित कालिका माध्यामिक विद्यालयका अभिभावकहरू आन्दोलित भएका छन् । आर्थिक लेनदेनमा निष्पक्ष छानबिनको माग राख्दै अभिभावकहरूले मंगलबार विद्यालयमा तालाबन्दी गर्नुका साथै गौरिगंगा नगरपालिकाको कार्यालय घेराउ गरेका हुन । बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई नियन्त्रणमा लिएको थियो ।

तर, बमलाई रकम दिने व्यक्तिलाई आयोगले उन्मुक्ति दिएको अभिभावकहरूको आरोप रहेको छ । कैलालीमा व्यवस्थापन समितिका सदस्य देवबहादुर बमलाई दुई लाख घुस दिएर अख्तियारको फन्दामा पार्ने कालिका माध्यमिकका लेखापाल सन्तोश पौडेललाई तत्काल जागिरबाट निलम्बन गर्ने गौरीगंगा नगरपालिकाका नगरप्रमुख देवीदत्त कँडेलको प्रतिबद्धतापछि स्थानीयले नगरपालिका घेराउको कार्यक्रम स्थगित गरे । आरोपित बमकी श्रीमती तुलसी बमले भनिन्, ‘आयोगले मेरो श्रीमान्लाई रकम लेनदेनको आरोपमा पक्राउ गरेको छ ।

तर, पैसाको प्रलोभनमा पार्ने र रकम दिने व्यक्तिलाई उन्मुक्ति दिएको छ ।’ बमले सेवाग्राहीबाट दुई लाख रकम लिएको भन्दै अख्तियारले पक्राउ गरेको थियो । बमका परिवारहरू छोरीलाई विदेश पठाउने तयारीमा थिए । त्यसका लागि रकमको जोहो गरिरहेका थिए । उनले भनिन्, ‘उहाँलाई विद्यालयका एक शिक्षकबाट फोन आएको थियो । थप सेवासुविधा वृद्धि गराइदिए रकम दिन्छु भनी प्रलोभनमा पारियो । तर, उहाँले सम्भव नहुने बताउनुभएको थियो ।’ विद्यालयमा कार्यरत लेखापाल सन्तोष पौडेलले उनलाई प्रलोभनमा पारेको उनको भनाइ छ ।

दोहोरो तलब कटौतीपछि सुरु भएको विवाद

कालिका माध्यमिक विद्यालयमा कार्यरत स्थायी शिक्षक तथा कर्मचारीले समेत विगत केही वर्षदेखि नेपाल सरकारबाट प्राप्त हुने तलबका अतिरिक्त विद्यालयको निजी स्रोतबाट थप रकम लिँदै आएको दाबी गरिएको छ । नेपाल सरकारको तलब स्केलअनुसार मासिक ४८ हजार ६८९ रूपैयाँसम्म तलब बुझ्ने शिक्षक तथा कर्मचारीले विद्यालयको निजी स्रोतबाट थप दुई हजारदेखि २९ हजार रूपैयाँसम्म लिँदै आएका थिए ।

झन्डै आठ महिनाअघि स्थानीय दिलीप बोहरा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनेपछि भने स्थायी शिक्षक तथा कर्मचारीले समेत लिँदै आएको उक्त अतिरिक्त सुविधा रोक्ने निर्णय गरिएको थियो । व्यवस्थापन समितिको उक्त निर्णयपछि विद्यालयको आन्तरिक स्रोत तथा अभिभावकबाट विभिन्न शीर्षकमा संकलन हुने रकमबाट वार्षिक करिब ५० लाख रूपैयाँ अतिरिक्त तलब–सुविधाका रूपमा खर्च हुनबाट रोकिएको दाबी गरिएको छ ।

यही निर्णयपछि लेखापाल सन्तोष पौडेलसहित केही शिक्षक–कर्मचारीले व्यवस्थापन समितिका अध्यक्ष बोहरालाई घुस प्रकरणमा फसाउने योजना बनाएको आरोप लागेको छ । तर, योजनाअनुसार अध्यक्ष बोहरा नभई व्यवस्थापन समिति सदस्य तथा कार्यवाहक अध्यक्ष देवबहादुर बम अख्तियारको फन्दामा परे । घटनाका बेला अध्यक्ष बोहरा बिरामी बच्चाको उपचारका लागि धनगढी आएका थिए । उनको अनुपस्थितिमा बमले कार्यवाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।

व्यवस्थापन समिति र शिक्षक–कर्मचारीबीच विगतदेखि चल्दै आएको विवादकै परिणाम बिहीबारको घटना भएको स्थानीयको भनाइ छ । विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिलीप बोहराले लेखापालसहितका केही व्यक्तिले आफूलाई विगतदेखि फसाउने योजना बनाउँदै आएको दाबी गरेका छन् । उनले देवबहादुर बमले ऋणका रूपमा मागेको रकमलाई षड्यन्त्रपूर्वक घुसका रूपमा थमाइएको हो भने लेखापालसहित योजना बनाउनेमाथि कारबाही हुनुपर्ने बताएका छन् ।

तर, यदि बमले वास्तवमै घुस लिएको पुष्टि हुन्छ भने उनीमाथि कानुनअनुसार कारबाही हुनुपर्ने उनको भनाइ छ । बोहराले घटनाको निष्पक्ष र गहिरो छानबिन आवश्यक रहेको बताएका छन् । विद्यालयका प्रधानाध्यापक युवराज कँडेलले विगतदेखि स्थायी तथा करार सेवाका शिक्षक–कर्मचारीले सरकारी तलबबाहेक विद्यालयको निजी स्रोतबाट अतिरिक्त तलब–सुविधा लिँदै आएको बताएका छन् । उनका अनुसार शिक्षक तथा कर्मचारीले डेढ महिनाअघि मात्रै उक्त दोहोरो तलब सुविधा पुनः कायम गर्न माग गर्दै ज्ञापनपत्र बुझाएका थिए ।

उनीहरू यस विषयमा गौरीगंगा नगरपालिका कार्यालयसमेत धाउने गरेका थिए । तर, विद्यालय व्यवस्थापन समितिले निजी स्रोतको दुरुपयोग हुने र अभिभावकमाथि आर्थिक भार पर्ने भन्दै शिक्षक तथा कर्मचारीलाई सरकारी तलबबाहेक अतिरिक्त तलब सुविधा उपलब्ध गराउन नसकिने अडान लिँदै आएको थियो । बमलाई फसाउने योजनाको मुख्य पात्र रहेको आरोप लागेका लेखापाल सन्तोष पौडेलले मासिक २१ हजार ५०० रूपैयाँ तलब पाउने भए पनि निजी स्रोतबाट थप २७ हजार १८९ रूपैयाँसम्म लिँदै आएको दाबी गरिएको छ ।

विद्यालयमा स्थायी शिक्षक तथा कर्मचारीले समेत सरकारी तलबबाहेक यसैगरी अतिरिक्त सुविधा लिँदै आएको बताइएको छ । अब व्यवस्थापन समिति सदस्य तथा कार्यवाहक अध्यक्ष बमलाई अख्तियारले दुई लाख रूपैयाँसहित पक्राउ गरेपछि घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग उठेको छ । साथै, विगतमा विद्यालयको निजी स्रोतबाट दोहोरो तलब तथा सुविधा लिने शिक्षक–कर्मचारी, त्यस्तो निर्णयमा संलग्न विगतका व्यवस्थापन समितिका पदाधिकारी तथा सदस्यहरूमाथि समेत छानबिन हुनुपर्ने आवाज उठ्न थालेको छ ।

अख्तियारले भने बममाथि घुस लिएको आरोपमा अनुसन्धान अघि बढाइरहेको छ । यता विद्यालय व्यवस्थापन समिति र बम पक्षले भने घटनाको पृष्ठभूमि, रकम लेनदेनको उद्देश्य तथा यसमा संलग्न भनिएका अन्य व्यक्तिको भूमिकासमेत निष्पक्ष रूपमा अनुसन्धान गर्नुपर्ने माग गरेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८३ भदौ १० गते बुधबार