काठमाडौँ ।
निसानको नयाँ प्रिमियम एसयुभी टेकटन आगामी नाइमा मोबिलिटी एक्स्पो २०२६ मा नेपालमा पहिलोपटक सार्वजनिक गरिने भएको छ । नेपालका लागि निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले साउन २७ देखि भदौ १ (अगस्ट ११–१६) सम्म काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने एक्स्पोमा टेकटन प्रदर्शन गरिने जनाएको हो । कम्पनीका अनुसार गत जुलाई ९ मा विश्व बजारमा सार्वजनिक गरिएको टेकटन निसानको नयाँ पुस्ताको प्रिमियम एसयुभी हो । यसमा निसानको सात दशकभन्दा लामो एसयुभी विकास अनुभवलाई आधुनिक डिजाइन, प्रविधि र कार्यक्षमतासँग संयोजन गरिएको दाबी गरिएको छ ।
टेकटन दुई इन्जिन विकल्पमा उपलब्ध हुनेछ । एउटा १.० लिटर टर्बो पेट्रोल इन्जिनसँग ६–स्पिड म्यानुअल गियरबक्स र अर्को १.३ लिटर टर्बो जिडिआई इन्जिनसँग ६–स्पिड डुअल–क्लच ट्रान्समिसन (डिसिटी) उपलब्ध हुनेछ ।
कम्पनीका अनुसार गाडीले अधिकतम १६३ पिएस शक्ति र २८० न्युटन मिटर टर्क उत्पादन गर्ने क्षमता राख्छ । यसमा टेक–लिङ्क एचडी इन्फोटेनमेन्ट प्रणाली, वायरलेस एप्पल कारप्ले तथा एन्ड्रोइड अटो, प्रिमियम इन्टेरियर, रियर–भ्यु क्यामेरा, क्रुज कन्ट्रोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक (डिसिटी भेरियन्ट) लगायतका सुविधा समावेश गरिएको कम्पनीले जनाएको छ । नाइमा मोबिलिटी एक्स्पो अवधिभर प्रदर्शनी स्थलमा आउने आगन्तुकले टेकटनलाई प्रत्यक्ष अवलोकन गर्न, यसको प्रविधि तथा विशेषताबारे जानकारी लिन र निसानका प्राविधिक प्रतिनिधिसँग अन्तक्र्रिया गर्न सक्ने कम्पनीले जनाएको छ ।
सुरक्षातर्फ गाडीमा ६ वटा एयरब्याग, उच्च–शक्तियुक्त स्टिल संरचना तथा एडाप्टिभ क्रुज कन्ट्रोल, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइन्ड स्पट वार्निङ र ३६० डिग्री क्यामेरा जस्ता चालक–सहायता प्रणाली उपलब्ध रहने कम्पनीको भनाइ छ । कम्पनीका अनुसार टेकटनको बाह्य डिजाइन निसानको प्रतिष्ठित एसयुभी ‘पेट्रोल’बाट प्रेरित छ । सी–आकारका एलइडी लाइट, मस्कुलर बडी डिजाइन र फराकिलो केबिनका कारण यो सहरभित्रको दैनिक प्रयोगदेखि लामो दूरीको यात्रासम्म उपयुक्त हुने दाबी गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्