धार्मिक र सांस्कतिक महत्व बोकेको ‘साउने संक्रान्ति’



देशका विभिन्न क्षेत्रमा साउने संक्रान्ति मनाउने गरिए पनि विशेष गरेर कर्णाली क्षेत्रमा साउने संक्रान्ति विशेष रूपमा मनाइन्छ । कर्णालीमा यो पर्व दसैँ र तिहारपछिको महत्वपूर्ण पर्वसमेत हो । नेपाली हिन्दू समाजमा मुख्य चाडपर्वहरूको आगमन पर्वका रूपमा समेत साउने संक्रान्तिलाई हेरिन्छ ।

शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।

नेपाली समाजमा दुई वटा संक्रान्ति प्रचलनमा छन् । ती हुन्, माघे र साउने संक्रान्ति । साउन १ गते अर्थात् साउने संक्रान्ति । यस पर्वलाई कर्कट संक्रान्तिसमेत भनिन्छ । साउने संक्रान्ति धार्मिक, सामाजिक र सांस्कृतिक महत्व बोकेको पर्वको रूपमा रहेको छ । साउने संक्रान्ति नेपालमा मनाइने एक प्रमुख सांस्कृतिक र धार्मिक पर्वसमेत हो । देशका विभिन्न क्षेत्रमा साउने संक्रान्ति मनाउने गरिए पनि विशेष गरेर कर्णाली क्षेत्रमा साउने संक्रान्ति विशेष रूपमा मनाइन्छ ।

कर्णालीमा यो पर्व दसैँ र तिहारपछिको महत्वपूर्ण पर्वसमेत हो । नेपाली हिन्दू समाजमा मुख्य चाडपर्वहरूको आगमन पर्वका रूपमा समेत साउने संक्रान्तिलाई हेरिन्छ ।
नेपाली भाषाको उद्गम थलो जुम्लाको सिञ्जामा लामो समय शासन गरेको खस साम्राज्यदेखि कर्णालीमा साउने संक्रान्ति मनाउँदै आएको हो । साउने संक्रान्ति दान, दक्षिणा दिने, धर्मकर्म गर्ने क्रम पनि जारी रहन्छ । विवाहित महिलाहरूले साउने संक्रान्तिदेखि साउन महिनाभर सौभाग्यको प्रतीक र वस्त्र लगाएर महिनाभर पूजा आराधना गर्ने, ब्रत बस्ने चलन छ ।

यसदिन किसानहरूले आफ्नो बालीमा पाकेका अन्न तथा फलफूल चढाउने गर्छन् । कागती, निबुवा, अम्बा, अनार, नासपाती आदि फलफूल चढाएर कण्डारक नामक राक्षसको पूजा गरिन्छ । साउने संक्रान्तिको विशेष धार्मिक महत्व रहेको बताउँछन् खस भाषाको खसिया आखरका लेखक तथा खस संस्कृति सम्बन्धीका जानकार रमानन्द आचार्य । ज्योतिष शास्त्रअनुसार सौरमासका हिसाबले साउने संक्रान्तिदेखि सूर्य कर्कट राशिमा प्रवेश गर्ने हुनाले यस दिनलाई कर्कट संक्रान्ति पनि भनिने उनले बताए । साउन १ गते अर्थात् साउने संक्रान्तिबाटै दिन छोटो र रात लामो हुँदै जाने आचार्यको भनाइ छ ।

जुन ६ महिना अर्थात् पुस महिनासम्म कायम रहन्छ । ‘साउने संक्रान्ति खसभाषी नेपालीका लागि विशेष महत्व बोकेको पर्व हो । यस दिनलाई हामी एउटा उल्लासका साथ मनाउँछौँ । यो पर्व खस साम्राज्यको पालादेखि नै प्रचलनमा रहदैँ आएको छ,’ आचार्य भन्छन् । साउने संक्रान्तिका दिन बिहानै स्नान गरी आराध्यदेव शिवको पूजा आराधना गर्ने चलन रहेको समेत उनले बताए । यस्तै साउन महिनालाई शिवको प्रिय महिना मानिने भएकाले यस दिनबाट विशेष व्रत र पूजाको सुरुवात हुन्छ । उनी थप्छन्, ‘साउने संक्रान्ति धार्मिक मात्रै होइन सांस्कृतिक महत्व बोकेको पर्व पनि हो ।’

उनले विशेषगरी कर्णालीका नागरिक खस साम्राज्यकालदेखि कृषिमा आधारित भएको बताए । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । काममा धेरै थाकेको हुनाले यस दिनलाई थकाइ मार्ने अवसरका रूपमा समेत सदुपयोग गरिँदै आएको उनले बताए । अझ आजभन्दा केही दशकपहिला त साउने संक्रान्तिलाई शाकाहारी पर्वका रूपमा समेत मनाइन्थ्यो ।

‘अघिल्लो महिना वर्षा हुने हुनाले बाली लगाइन्छ । नागरिकहरू थाकेका हुन्छन् । हिजो गोरस खाइन्थ्यो । गाई, भँैसी किन्थे । साउने संक्रान्ति साकाहारी पर्व हो,’ संस्कृतिसम्बन्धी जानकार आचार्यले मिसन टुडे दैनिकसँग भने । कर्णालीतिर नागरिकले साउन महिना अवधिभर बारीमा फलेको कुनै पनि साग खाँदैनन् । यो पर्व साविक कर्णाली अञ्चलमा व्यापक रूपमा मनाउँदै आइएको छ ।

प्रकृतिको पूजादेखि लुतो फ्याँक्नेसम्म

खस शासकहरू बुद्ध धर्मसँगै हिन्दु धर्म मान्थे । खस साम्राज्य धार्मिक र सांस्कृतिक रूपमा विविधतायुक्त थियो । त्यतिबेलाको समयदेखि नै साउने संक्रान्ति पर्व मनाउँदै आएको देखिन्छ । साउने संक्रान्तिको समयमा प्रकृतिको पूजा गर्नेदेखि लुतो फ्याँक्नेसम्म चलन रहेको उनी बताउँछन् । यस्ता चलन जातजातिले विभिन्न रूपमा मनाउने गर्छन् । पूर्वतिर किरात लगायतका समुदायले एकाबिहानै वन जंगलबाट फलफूल खोजेर ल्याई घरको मूलढोकामा झुण्ड्याउने गर्छन् । साँझपख थाल नाङ्लो र ढोल बजाइ भूतप्रेत भगाइन्छ ।

यस्तै कर्णाली र सुदूरपश्चिमतिर पनि अगुल्टो फ्याँक्दै रोगव्याधि तथा खराब तत्वलाई भगाउने चलन अझै छ । काठमाडौँ लगायतका स्थानमा बसोबास गर्ने नेवार समुदायले यस पर्वलाई महत्वका साथ मनाउँछ । साउने संक्रान्तिका अवसरमा छोरीचेलीलाई बोलाएर विशेष परिकार खुवाउने समुदायमा चलन छ । ‘मानिसले विभिन्न काम गर्दा किरा फट्यांग्रा मारेका हुन सक्छन् । रोगव्याधि हुन सक्छ । सबै कुरा हटोस् भनेर लुतो फाल्ने गरिन्छ,’ उनले भने ।

राँको फाल्ने क्रममा छिमेकीलाई गाली गर्नेसमेत चलन रहेको छ । साउने संक्रान्तिका दिन राँको बाल्ने अर्को कारण पनि छ । यो पर्व हनुमानले लंका जलाएको दिनको सम्झनामा पनि मनाउने गरिन्छ । राँको दोबोटोमा फाल्ने गरिन्छ । सो दिन देउडा खेल्ने, दुःख सुखका गीतहरू गाउने गरिन्छ । पछिल्लो समय यो वर्ष बसाइँसराइसँगै तराई तथा देशका विभिन्न भागमा मनाउने गरिन्छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन १ गते शुक्रबार