कोहलपुर (बाँके) ।
कोहलपुर वाङ्मय पुरस्कार प्रदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कोहलपुर वाङ्मय प्रतिष्ठान बाँकेको आयोजनामा कोहलपुर वाङ्मय पुरस्कार प्रदान तथा स्रष्टा सम्मान कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा प्रतिष्ठानले हरेक वर्ष प्रदान गर्दै आइरहेको उक्त सम्मान पुरस्कार दुई जना स्रष्टालाई प्रदान गरिएको छ । ११ हजार १ सय ११ रूपैयाँ राशीको ‘कोहलपुर वाङ्मय पुरस्कार’ साहित्यकार भुपेन्द्र सुवेदीलाई प्रदान गरिएको छ ।
सुवेदीलाई प्रतिष्ठानका कार्यबाहक अध्यक्ष सुमित्रा न्यौपाने र कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले संयुक्त रूपमा सम्मानपत्र र दोसल्लासहित सम्मान गरेका हुन् । सम्मानित सुवेदीको जन्म विसं २०१६ सालमा कास्कीमा भएको थियो । उनको परिवार २०४० मा बर्दियामा बसाइँ सरेका थिए । त्यसको एक दशकपछि कोहलपुरमा सरेका सुवेदीको परिवार कोहलपुर १२ चप्परगौडीमा बसोबास गर्दै आएको छ ।
सुवेदीका ‘छरिएका मोतीहरू’, ‘आदर्श चिन्तन’ र ‘भुपेन्द्र सुवेदीका कविताहरू’ नामक कविता संग्रह प्रकाशित छन् । उनको मुक्तक संग्रह प्रकाशउन्मुख छ । सम्मानित भएपछि सुवेदीले केही कवितासमेत वाचन गरेका थिए । सो समारोहमा ११ हजार १ सय १ रूपैयाँ राशीको स्रष्टा सम्मानबाट कलाकार समसबहादुर थापा मगर सम्मानित भएका छन् । उनलाई खेलाडी, चित्रकार र आर्ट व्यवसाय कलाकारितामा ठूलो योगदान दिएवापत स्रष्टा सम्मानबाट पुरस्कृत गरिएको हो ।
सुर्खेतमा जन्मिएका थापा मगर हाल कोहलपुरमा बसोबास गर्दै आएका छन् । आठ वर्ष वैदेशिक रोजगारीमा बिताएका उनी हाल गाडी व्यवसायमा संलग्न छन् । उनले आफूलाई सम्मान गरेकोप्रति आयोजकप्रति आभार प्रकट गरे । कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका उपप्रमुख संगीता सुवेदीले प्रतिष्ठानले कोहलपुरको कला, साहित्य, संस्कृति उजागर गर्न भूमिका खेलेको बताइन् ।
उनका अनुसार स्रष्टाहरूले साहित्यमार्फत कोहलपुरलाई चिनाएका छन् । ‘कोहलपुरले विभिन्न माध्यमबाट चिनाएको छ । कोहलपुर नगरपालिकाले साथ र सहयोग रहनेछ,’ उनले भनिन् । प्रतिष्ठानकै आयोजनामा कोहलपुरमा समालोचना लेखनसम्बन्धी दुईदिने कार्यशालासमेत सुरु भएको छ ।









प्रतिक्रिया दिनुहोस्