नन्दराम जैशी । सुर्खेत ।
कर्णाली प्रदेशमा उद्योग व्यवसाय संकटमा पर्दै गएका छन् । प्रदेशभर रहेका कूल ४२ हजार ८०७ उद्योग प्रतिष्ठानमध्ये जम्मा २० हजार ८८४ मात्र आधिकारिक रूपमा दर्ता भएका छन् । तर तीमध्ये पनि ठूलो सङ्ख्यामा उद्योगहरू धमाधम बन्द हुने क्रम जारी छ । उद्योग सञ्चालनमा आवश्यक लगानीको अभाव, बजारसँग जोडिन नसक्ने समस्या, उत्पादन लागत उच्च हुनु तथा पूर्वाधारको कमीका कारण उद्यमीहरू निराश बन्दै गएका छन् ।
स्थानीयस्तरमा उत्पादित वस्तुहरू उचित बजार नपाउँदा उत्पादन घट्दै गएको छ भने केही उद्योग पूर्ण रूपमा बन्द हुन बाध्य भएका छन् । उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालय सुर्खेतका अनुसार विगत केही महिनायता हरेक दिनजसो दैनिक रूपमा कुनै न कुनै उद्योग बन्द आह्वानका लागि पत्रपत्रिकामा सूचना प्रकाशित हुने गरेका छन् । यसले प्रदेशको औद्योगिक क्षेत्र गम्भीर संकटतर्फ उन्मुख भएको संकेत गर्दछ ।
कर्णाली प्रदेशको औद्योगिक जग अझै पनि अनौपचारिक र कानुनी दायराभन्दा बाहिर रहेको पाइएको छ । राष्ट्रिय आर्थिक गणनाको पूर्वसन्ध्यामा सुर्खेतमा आयोजित अभिमुखीकरण कार्यक्रमले सूचनाको शुद्धता र यसको महत्वमाथि विशेष जोड दिएको हो । तथ्यांकअनुसार कर्णालीमा कूल ४२ हजार ८०७ उद्योग प्रतिष्ठानमध्ये ५१ प्रतिशत अर्थात् २१ हजार ९२१ वटा प्रतिष्ठान दर्ता नभई सञ्चालन भइरहेका छन् ।
जसले प्रदेशको कमजोर कानुनी उपस्थिति र व्यावसायिक सचेतनालाई उदांगो पारेको छ । २०७५ सालको पहिलो राष्ट्रिय आर्थिक गणनाअनुसार ४८.८ प्रतिशत अर्थात् २० हजार ८८४ प्रतिष्ठान मात्रै आधिकारिक रूपमा दर्ता भएका थिए । यसरी आधाभन्दा बढी व्यवसाय राज्यको नजरबाहिर रहँदा एकातिर राजस्व गुमेको छ भने अर्कोतिर ती प्रतिष्ठानमा कार्यरत जनशक्तिको सुरक्षा र अधिकारमाथि पनि प्रश्न उठेको छ ।
दर्ता भइ सञ्चालनमा आएका निजी उद्योगहरूमाथि राज्यको लगानी तथा निगरानी नहुदाँ धमाधम बन्द हुन थालेका हु्न् ।रोजगारीको हिसाबले हेर्दा कर्णालीका उद्योग तथा प्रतिष्ठानहरूले एक लाख १८ हजार ९५१ जनालाई रोजगारी दिएका छन् । तर यहाँ पनि दर्ता भएका र नभएका प्रतिष्ठानबीच ठूलो खाडल छ । दर्ता भएका २० हजार ८८३ प्रतिष्ठानले ८० हजार ५२९ जनालाई समेटेका छन् भने दर्ता नभएका २१ हजार ९२१ प्रतिष्ठानमा केवल ३८ हजार ४१७ जना मात्र संलग्न छन् ।
भौगोलिक रूपमा हेर्दा प्रदेश राजधानी सुर्खेत ११ हजार ८२० प्रतिष्ठान र ३५ हजार ९०६ जनशक्तिसहित सबैभन्दा अगाडि छ । त्यसैगरी सल्यान, दैलेख र रुकुम पश्चिममा औद्योगिक गतिविधि तुलनात्मक रूपमा राम्रो देखिए पनि हिमाली जिल्ला डोल्पामा भने सबैभन्दा कम ८६० वटा मात्र प्रतिष्ठान रहेका छन्, जहाँ केवल तीन हजार २२५ जनाले मात्र रोजगारी पाएका छन् । त्यसैगरी जुम्ला, जाजरकोट, मुगु, कालीकोट र हुम्लामा पनि उद्योगहरू सन्तोषजनक अवस्थामा सञ्चालन छैनन् ।









प्रतिक्रिया दिनुहोस्