ज्ञानज्योति मावि बगियामा कक्षा ९ मा अध्ययनरत सन्ध्या सुनार एक सातादेखि स्कुल गएकी छैनन् । आफूहरू बस्ने बस्तीमा स्थानीय सरकारले डोजर चलाउँदा आफ्नो पढाइमा धेरै असर गरेको सन्ध्या बताउँछिन् । उनी भन्छिन्, ‘बस्ती उठाइयो । बस्ने ठाउँ नै छैन । आमाबुवाले चिन्ता नलेऊ भन्नुहुन्छ । कहाँ बस्ने र के खाने भन्ने चिन्ता छ । पढाइमा ध्यान दिने वातावरण नै छैन ।’
शुभाकर विश्वकर्मा। कोहलपुर (बाँके) ।
वैशाख २६ गते शनिबार बिहानै कोहलपुर–११ स्थित शान्तिनगर बस्तीमा स्थानीय सरकारले डोजर चलायो । डोजरले एक निमेशमै माटो, खर र इँटाले बनाएका घरटहरा भत्काइदियो । पहिलो दिन ४० र दोस्रो दिन १०८ गरी हालसम्म डोजर लगाएर १४८ घरटहरा भत्काइसकेको छ ।
बस्तीमा डोजर चल्दा त्यहाँ रहेका सयौँ घरपरिवार घरबारविहीन भएका छन् ।
बस्तीबाट विस्थापितहरूलाई अहिले कोहलपुर नगरपालिकाले कोहलपुर–११ स्थित बसपार्कको टर्मिनल भवनमा राखेको छ । आइतबार दिउँसो टर्मिनल भवनस्थित होल्ङिड सेन्टरमा पुग्दा दोस्रो तलामा एक हुल बालबालिका खेलिरहेका थिए । त्यहाँ भेटिए, १२ वर्षीय श्रीस सुनार, १३ वर्षीय वीरेन्द्र सार्की र सुनिल विक । केही दिनयता उनीहरूको दैनिकी होल्ङिड सेन्टरमै बितिरहेको छ ।
कहाँ पढ्ने र कहिले स्कुल जाने यकिन छैन । उनीहरूले एकै स्वरमा भने, ‘नगरपालिकाले डोजर लगाएर घर भत्काइदियो । हामी त घरबारविहीन भएका छौँ । न बस्ने टुंगो छ, न खाने । धेरै दिन भयो स्कुल नै जान पाएका छैनौँ ।’ १२ वर्षीय श्रीस सुनार आमाबुवासँगै बसोबास गर्दै आएका छन् । उनी ग्रीनपीस स्कुलमा पढ्छन् । उनका बुवा अटो चलाउँछन् । आमा गृहिणी हुन् ।
उनी अब कहिले स्कुल जान पाउँछन् कुनै टुंगो छैन । ज्ञानज्योति मावि बगियामा कक्षा ५ मा अध्ययनरत १३ वर्षीय वीरेन्द्र सार्की आफ्ना साथी स्कुल गइरहेको र आफू भने स्कुल पढ्न जान नपाएको बताउँछन् । लर्ड वागेश्वरी स्कुलमा अध्ययनरत १३ वर्षीय सुनिल विकका अनुसार बस्ने, खाने र पढ्ने कुनै पनि टुंगो छैन । उनकी आमा जानकी सुनार गृहिणी हुन् । उनका बुवा हरि कामी भारतमा मजदुरी गर्छन् । जुम्लाका उनीहरू लामो समयदेखि नगरविकास समितिको नाममा रहेको जग्गामा बसोबास गर्दै आएका थिए ।
ज्ञानज्योति मावि बगियाबाट एसईई दिएर बसेका १८ वर्षीय सागर सुनार यतिबेला टर्मिनल भवनस्थित होल्ङिड सेन्टरमा छन् । ‘एसईई दिएर बसेको छु । पास भएर आफ्नो भविष्य बनाउने सोचेको थिएँ, अहिले यस्तो भयो । पढाइमा असर परेको छ । कहिलेसम्म यस्तो हुन्छ थाहा छैन,’ उनले भने । स्थानीय सरकारले बस्तीमा डोजर लगाउँदा आफूजस्तै धेरै विद्यार्थीहरूलाई असर परेको उनले बताए ।
उनी प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गर्दै भन्छन्, ‘हाम्रो पढाइलेखाइमा असर नपर्ने गरी व्यवस्थापन गरिदिनुहोस् । यहाँ न हाम्रो खाने व्यवस्था छ, न त बस्ने व्यवस्था । यस्तो ठाउँमा कसरी पढ्ने ?’ ज्ञानज्योति मावि बगियामा कक्षा ९ मा अध्ययनरत सन्ध्या सुनार एक सातादेखि स्कुल गएकी छैनन् । आफूहरू बस्ने बस्तीमा स्थानीय सरकारले डोजर चलाउँदा आफ्नो पढाइमा धेरै असर गरेको सन्ध्या बताउँछिन् ।
उनी भन्छिन्, ‘बस्ती उठाइयो । बस्ने ठाउँ नै छैन । आमाबुवाले चिन्ता नलेऊ भन्नुहुन्छ । कहाँ बस्ने र के खाने भन्ने चिन्ता छ । पढाइमा ध्यान दिने वातावरण नै छैन ।’ उनले स्थानीय सरकारलाई विद्यार्थीहरूको पढाइमा ध्यान दिन आग्रह गरिन् । बस्ती व्यवस्थापन गर्दा विद्यार्थीहरूको पढाइ व्यवस्थापन राम्रोसँग गरिदिन सन्ध्याको आग्रह छ । सागर र सन्ध्याका बुवाआमा २० वर्षदेखि उक्त क्षेत्रमा बसोबास गरिरहेका थिए । उनीहरू बर्दियाका हुन् ।
खानेपानी र शौचालयको समस्या
कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरका रूपमा प्रयोग गरेको कोहलपुर बसपार्कस्थित प्रयोगविहीन टर्मिनल भवन हो । जहाँ भुइँतला, दोस्रो र तेस्रो तलामा नगरपालिकाबाट अस्थायी परिचयपत्र प्रदान गर्दै भूमिहीन दलित र भूमिहीन सुकुम्वासीहरूलाई राखिएको छ । लामो दूरीको बसपार्कमा व्यवहारिक प्रयोजनका लागि निर्माण गरिएका सटरलाई समेत होल्डिङ सेन्टरको रूपमा प्रयोग गरिएको छ ।
टर्मिनल भवन र सटरमा बस्ने गरी सुरुमा ७३ परिवार कोहलपुर नगरपालिकाको सम्पर्कमा आएका थिए । हाल त्यहाँ ५४ परिवार मात्रै बसोबास गर्दै आएका छन् । तर, होल्डिङ सेन्टरको बसाइँ निकै सकसपूर्ण छ । होल्डिङ सेन्टरमा खानेपानीको व्यवस्था नहुँदा बाहिरबाट बोत्तलमा किनेर खानुपर्ने बाध्यता रहेको विस्थापितहरू बताउँछन् । होल्डिङ सेन्टरमा बस्दै आएको डोटे पुन मगरले खानेपानीको व्यवस्था नहुँदा आफूहरूलाई निकै सकस भएको बताए ।
उनका अनुसार होल्डिङ सेन्टरमा शौचालय र विद्युत्को समेत सुविधा छैन् । उनले भने, ‘नगरपालिकाले ल्याएर यहाँ राखिदिएको छ । कुनै पनि सुविधा छैन् । हामीलाई यहाँ दुःखै दुःख छ ।’ होल्डिङ सेन्टरमै बसिरहेकी यशोदा सुनारका दुःख पनि कम छैनन् । उनी तीन छोराछोरीसहित त्यहाँ बसिरहेका छन् । खानपिनको खासै समस्या नभए पनि छोराछोरीको पढाइमा धेरै असर परेको उनले बताइन् ।
उनका श्रीमान् अटो चलाउँछन् । यशोदाका श्रीमान् बलबहादुर सुनार भन्छन्, ‘होल्डिङ सेन्टरको बास छ । दिनभर अटो चलाउँछु । रासन किनेर ल्याउँछु । पकाउने खाने र सुत्ने काम भइरहेको छ ।’ उनले कोहलपुर नगरपालिकाले आफूहरूलाई होल्डिङ सेन्टरमा ल्याएर राखे पनि कुनै पनि सेवासुविधा नदिएको गुनासो छ । शौचालय भए पनि धारा बिगे्रको र पानी नै नआउने र बत्ती नहुँदा आफूहरूलाई समस्या भइरहेकोे उनले बताए ।
बिरामी श्रीमान्सहित होल्डिङ सेन्टरमा बसिरहेकी भूमिसरा घर्तीमगर भन्छिन्, ‘वर्षौँदेखि दुःख गरेर बनाएको घर सरकारले भत्काइदियो । बिरामी श्रीमान् बोकेर ओत खोज्दै यहाँ आएँ । यहाँ सुत्न त पाइएको छ । खानपिनको समस्या छ । समस्यै समस्या छ ।’ कोहलपुर नगरपालिकाले होल्डिङ सेन्टरको व्यवस्था गरे पनि त्यहाँ बस्ने नागरिकहरूले आधारभूत सेवा समेत नपाएको भन्दै आचोलना भएको छ ।
नेपाली कम्युनिस्ट पार्टी कोहलपुरका अध्यक्ष बलबहादुर खड्काले स्थानीय सरकारको आलोचना गर्दै लेखेका छन्, ‘कोहलपुरका विस्थापित सुकुम्वासीको गुनासो न बत्ती, न पानी, न ट्वाइलेट होल्डिङ सेन्टरको नाममा कालकोठरीको बास ।’
विस्थापितहरूको नियमित स्वास्थ्य जाँच
बसपार्कस्थित टर्मिनल भवनको होल्डिङ सेन्टरमा बसिरहेका नागरिकहरूको दैनिक स्वास्थ्य जाँच भइरहेको छ । कोहलपुर नगरपालिकाले ५ जनाको स्वास्थ्यकर्मीको टोली खटाएर स्वास्थ्य जाँच गरिरहेको हो । आइतबार दिउँसो मिसन टुडे होल्डिङ सेन्टरमा पुग्दा तल्लो तलामा स्वास्थ्यकर्मीहरूको टोली त्यहाँका नागरिकहरूको स्वास्थ्य जाँच गरिरहेका थिए ।
त्यहाँ रहेका करिब तीन दर्जन नागरिकहरूको स्वास्थ्य जाँच गरिरहेको कोहलपुर नगरपालिकाबाट स्वास्थ्य जाँच टोलीमा खटिएका कोहलपुर नगरपालिका वडा नम्बर १० को आधारभूत स्वास्थ्य सेवा केन्द्रका प्रमुख दिलबहादुर घर्तीमगरले बताए । उनका अनुसार होल्डिङ सेन्टरमा बसेकाहरूको खासै ठूलो स्वास्थ्य समस्या देखिएको छैन् । स्वास्थ्य जाँचका क्रममा एक जनाको प्रेसर हाई देखिएपछि थप उपचारका लागि नगर अस्पताल रेफर गरिएको बताए ।
कोहलपुर नगरपालिकाले गठन गरेको स्वास्थ्य उपसमितिले त्यहाँका नागरिकहरूको स्वास्थ्य उपचारका लागि दुई जना नर्स, दुई जना प्यारामेडिक्स र एक जना कार्यालय सहयोगी खटाएको छ । उनीहरूको सुरक्षाका लागि कोहलपुर नगरप्रहरी समेत परिचालन गरिएको छ ।









प्रतिक्रिया दिनुहोस्