सुर्खेत ।
नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले कर्णाली प्रदेशमा सरकार परिवर्तनको संकेत गरेका छन् । कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा उनले प्रदेश सरकार परिवर्तनको संकेत गरेका हुन् । ‘नेकपा एमाले र हाम्राबीच भएको समझदारीको आधारमा कर्णाली प्रदेशमा हामीले नेतृत्व गरेर सरकार चलाउने बेला आएको छ,’ उनले भने, ‘हाम्रो नेतृत्वमा हामी सरकार चलाउँछौँ ।’
सभापति थापाले कर्णाली प्रदेशमा पार्टीको नेतृत्वमा सरकार बन्ने भन्दै गर्दा दर्शकदीर्घाबाट तालीको बजेको थियो । त्यसप्रति इंगित गर्दै उनले भने, ‘सरकार बन्छ भन्दै गर्दा थपडी तपाईँहरूले बजाउनु भएको छ । एक वर्षपछि फेरि आउँछौँ हामी । बीचमा पनि आउँछौँ । आएको बेलामा, हाम्रो नेतृत्वको कर्णाली सरकारले कर्णालीको हितमा यो–यो काम ग¥यो भनेर मुख्यमन्त्रीले बोल्दै गर्दा त्यहाँ बसेर मैले र विश्वप्रकाशले थपडी बजाउन पाउनुपर्छ ।’
सभापति थापाले कर्णाली प्रदेशमा काँग्रेसको नेतृत्वमा सरकार बन्ने दोहो¥याउँदै आफूहरूलाई ‘डेलिभरी’बाहेक केही पनि नचाहिएको बताए । ‘सरकार बन्ने कुरा हामीलाई छोडिदिनुस् । बन्छ,’ उनले भने, ‘तर, सरकार बनिसकेपछि हामीलाई डेलिभरी चाहियो । हामीलाई केही पनि चाहिँदैन ।’ यस्तै सभापति थापाले पार्टीबाट निर्वाचित जनप्रतिनिधि भ्रष्टाचारमा मुछिए अख्तियारभन्दा पहिले कारबाही गर्ने बताएका छन् ।
कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’मा उनले पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सचेत गराउँदै यस्तो बताएका हुन् । ‘हाम्रा साथीहरू कुनै पनि खालको आर्थिक अपचलनमा लाग्नु भएको छ भन्ने कुरा तथ्य प्रमणसहित प्राप्त भयो भने त्यसलाई अख्तियारले कारबाही गर्नु पर्दैन,’ सभापति थापाले भने, ‘अख्तियारभन्दा पहिला मैले कारबाही गर्छु ।
दायाँ–बाँया कुरा छैन ।’कर्णाली प्रदेश संसदीय दलका नेता, मन्त्री र प्रदेशसभा सदस्यहरू, गत निर्वाचनका सबै उम्मेदवारहरू, प्रदेशभित्रका सबै पालिका प्रमुख–उपप्रमुख सहभागी रहेको कार्यक्रममा उनले पार्टीलाई काम र परिणाम चाहिएको बताए । ‘काम चाहियो, परिणाम चाहियो,’ सभापति थापाले भने ।









प्रतिक्रिया दिनुहोस्