समाल्बुङका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ बारे प्रशिक्षण



इलाम ।

सामुदायिक विद्यालयमा प्रविधिमैत्री शिक्षाको अभ्यास विस्तार गर्ने उद्देश्यले सूर्योदय नगरपालिका–५ ले यहाँको समाल्बुङ माध्यमिक विद्यालयका विद्यार्थीलाई ‘स्टिम एजुकेसन’ सम्बन्धी पाँचदिने प्रशिक्षण सञ्चालन गरेको छ।

विज्ञान, प्रविधि, इन्जिनियरिङ, कला र गणित समावेश हुने ‘स्टिम एजुकेसन’बारे जानकारी दिन कक्षा ८, ९ र १० का ४० विद्यार्थीलाई लक्षित गरेर प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको वडाध्यक्ष उर्गेन बम्जनले जानकारी दिए।परम्परागत शिक्षण सिकाइबाट बाहिर निस्केर विद्यार्थीलाई प्रविधिमार्फत अन्वेषणमुखी सिकाइतर्फ प्रेरित गर्न आवश्यक रहेकाले प्रशिक्षण आयोजना गरिएको र यसले शिक्षाको गुणस्तर सुधारमा योगदान पुग्ने विश्वास व्यक्त गरे।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विज्ञान कोइरालाले विद्यार्थीलाई सैद्धान्तिक सिकाइ अभ्यासले शैक्षिक उपलब्धि हासिल गर्न नसकिने भएकाले समूहगत छलफल, अनुभव आदानप्रदान र अनुसन्धानमुखी सिकाइमा जोड दिइएको बताए। त्यसका लागि ‘स्टिम एजुकेसन’ प्रशिक्षण उपयोगी हुने उनको भनाइ छ।

सहजकर्ता अस्विन जोशीले विद्यार्थीलाई विभिन्न विद्युतीय उपकरणको कार्यप्रणाली, स्वचालित प्रणाली निर्माण र ‘थ्रिडी प्रिन्टिङ’को प्रयोगबारे सिकाइ भइरहेको जानकारी दिए। उनले सरकारी विद्यालयमा थ्रिडी प्रिन्टिङको अभ्यास दुर्लभ भए पनि वडाले प्रिन्ट उपलब्ध गराएर विद्यार्थीलाई प्रयोगात्मक सिकाइमा जोड दिएको बताए।

“विद्यार्थीले आफूले कल्पना गरेको वस्तु आफैँ डिजाइन र प्रिन्ट गर्न सक्छन् । यसबाट जीवनोपयोगी ज्ञान र सीप हासिल हुनेछ”, जोशीले भने।प्रशिक्षणका स्रोतव्यक्ति कुशल भट्टले अनुसन्धान, पाठ्यक्रम निर्माण, प्रशिक्षण तथा विश्वविद्यालय तहको शिक्षणमा रुचि राख्ने विद्यार्थीका लागि ‘स्टिम’ शिक्षाले नयाँ अवसर सिर्जना गर्ने बताए।यसैबिच वडा नम्बर ५ कार्यालयले विद्यार्थी र शिक्षकमा पठन संस्कृति विकास गर्न दुईवर्षे अभियानसमेत सुरु गरेको जनाएको छ । अभियानमा यहाँका सात सामुदायिक विद्यालयका २१४ विद्यार्थी र ३५ शिक्षक सहभागी छन् ।

वडाध्यक्ष बम्जनले रचनात्मक लेखन, प्रस्तुतीकरण र आलोचनात्मक विश्लेषण क्षमता विकास गर्न नियमित कक्षा सञ्चालन गरिने जानकारी दिए। विद्यार्थीको सिकाइ र शिक्षक शिक्षण सीप सुधार गर्ने उद्देश्यले पाइला फाउन्डेसन नेपालसँगको सहकार्यमा १५ दिनअघि अभियान सुरु गरिएको उनले बताए। रासस

  • No tags available
प्रकाशित मिति : २०८३ वैशाख २७ गते आइतबार