मिसन संवाददाता,कोहलपुर
नवीन अभिलाषीको पहिलो कथा सङ्ग्रह दहाड लोकार्पण गरिएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सिद्धिचरण हालमा एक समारोहकाबीच कथा सङ्ग्रह दहाडको लोकार्पण गरिएको हो । दहाडको लेखक तथा कथाकार अभिलाषीसहित साहित्यकार तथा चिन्तक नारायण ढकाल,निबन्धकार तथा समालोचक कुमारी लामा र समालोचक तथा पत्रकार राजकुमार बानियाँले संयुक्त रुपमा लोकार्पण गरेका हुन् । लोकार्पण कार्यक्रममा ढकाल,लामा र बानियाँले दहाडमाथि समीक्षासमेत गरेका थिए ।

लेखक अभिलाषीले केही वर्षदेखि आफूभित्र रहेको र मन मस्तिष्कमा कैद भएका दहाडका पात्रहरू कथाको आकार आयाम लिएर पाठकमाझ पुगेको बताए । उनका अनुसार सबैभन्दा कमजोर स्थानबाट सबैभन्दा तिखा प्रश्नहरुसहित दर्ज गरिएको अभियोग पत्र दहाड हो । दहाडमा समाज विकासको इतिहासमा सत्ता र संरचनाले मिलेर सजाएको भयानक चिहानको उत्खनन गरिएको छ । आफूले जीवनयापनका क्रममा भोगेका कथाहरु कृतिमा सङ्ग्रहित गरेको अभिलाषीको भनाइ छ ।
कथा सङ्ग्रह दहाडमा १२ वटा कथा सङ्ग्रहित छन् । दहाडभित्रका कथाहरु पञ्चायतकालीन परिदृष्यमा भनिएका छन् । दुःख र उपेक्षाको सीमान्त तहबाट कथा फुटेको छ । दहाड एकसातादेखि बजारमा आइसकेको थियो । दहाडको प्रकाशन सांग्रीला बुक्सले गरेको हो । दहाड अभिलाषीको पहिलो कथा सङ्ग्रह र समग्रमा चौथो कृति हो । उनका यसअघि एकात्म,मौलामा बाँधिएको राँगो र इश्वरको अस्तिपञ्जरगरी तीनवटा कविता सङ्ग्रह प्रकाशित छन् । कवि,कथाकार र पत्रकारसमेत रहेका अभिलाषी एनटीभी कोहलपुरमा कार्यरत छन् ।








प्रतिक्रिया दिनुहोस्