नन्दराम जैशी । सुर्खेत ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको नतिजाले कर्णाली प्रदेशमा केही चर्चित र प्रभावशाली नेताहरूको संसद् यात्रा रोकिएको छ । यसपटकको निर्वाचनमा मतदाताले अपेक्षित मत नदिँदा तीन राजनीतिक दलका ‘हेभिवेट’ नेताहरू पराजित भएका छन् । पराजित हुनेमा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा, नेपाल कम्युनिष्ट पार्टीका नेता शक्तिबहादुर बस्नेत र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ रहेका छन् । यी तीनैजना नेता पूर्वमाओवादी सहकर्मी हुन् ।
कर्णालीका विभिन्न निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गरेका उनीहरूलाई मतदाताले भने यसपटक संसद् पठाएनन् । कर्णालीमा लामो समयदेखि प्रभाव राख्दै आएका यी नेताहरू पराजित हुनु यसपटकको निर्वाचनको प्रमुख राजनीतिक घटनामध्ये एक मानिएको छ । विशेषगरी सरकारको नेतृत्व गरिसकेका तथा राष्ट्रिय राजनीतिमा प्रभाव राख्ने यी नेताहरू नै पराजित भएपछि यसको राजनीतिक सन्देशबारे विभिन्न कोणबाट विश्लेषण हुन थालेको छ ।
एकातिर कर्णालीका मतदाताले यसपटक परिवर्तनको संकेत दिएको बताउने गरिएको छ । भने अर्कोतिर विकास र जनअपेक्षा पूरा गर्न नसकेको आरोपसहित नयाँ नेतृत्वप्रतिको आकर्षणका कारण पुराना र स्थापित नेताहरू मतदाताको रोजाइमा नपरेका हुन् । कतिपय स्थानमा नयाँ अनुहार तथा तुलनात्मक रूपमा कम परिचित उम्मेदवारले जित निकालेका छन् ।
तर स्थापित नेताहरूको पराजयले कर्णालीको राजनीतिक समीकरणमा नयाँ सन्देश दिएको छ । मत परिणामले कर्णालीका मतदाताले केवल पार्टी मात्र नभई उम्मेदवारको काम, जनसम्पर्क र विश्वासलाई पनि महत्व दिएको संकेत गरेको छ ।यही कारण लामो समयदेखि राष्ट्रिय राजनीतिमा सक्रिय रहेका नेताहरूलाई समेत मतदाताले यसपटक संसद् यात्रामा ‘ब्रेक’ लगाइदिएका हुन् ।
शर्माले विरासत गुमाए
२०६४ सालयताका सबै प्रतिनिधिसभा निर्वाचनमा अविजित रहँदै आएका पूर्वमाओवादी नेता जनार्दन शर्मा (प्रभाकर) यसपटक पनि जितको सिलसिला कायम राख्दै आफ्नो राजनीतिक विरासत जोगाउने दाउमा थिए । तर, यसपटक उनका आफ्नै पूर्वसहकर्मी तथा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार गोपाल शर्माले उनको संसद् यात्रामा ‘ब्रेक’ लगाइदिएका छन् ।
लामो समय एउटै कम्युनिस्ट धारमा सहकार्य गरेका यी दुई नेताबीचको प्रतिस्पर्धाले जिल्लाको चुनावी समीकरण रोचक बनेको थियो भने जनार्दनलाई नेकपा एमाले रूकुम पश्चिमले समेत सघाएको थियो । तर उनले आफ्नो विरासत जोगाउन सकेनन् । यस निर्वाचनमा जनार्दनभन्दा नेकपाका गोपाल शर्मा र नेपाली काँग्रेसका राजु केसीबीच मुख्य प्रतिस्पर्धा भयो ।
गोपाल शर्माले २१ हजार ६०९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका राजु केसीले १६ हजार ६६१ मत ल्याए भने जनार्दन शर्माले १४ हजार ३४६ मात्रै मत प्राप्त गरे । निरन्तरको संसद् यात्रामा बे्रक लागेका जनार्दन २०६४ को पहिलो संविधानसभा निर्वाचनमा भारी मतका साथ विजयी भएका थिए ।
त्यसयता २०७९ सम्म आइपुग्दा जनार्दन संघीय संसद्मा अविजित रहे । उनलाई निर्वाचनमा कसैले हराउन सकेन । २०७०, २०७४ र २०७९ को प्रतिनिधिसभा निर्वाचनमा शर्मा भारी मतका साथ सांसद चुनिएका थिए । तर, अहिले आएर शर्माको यो अविजित यात्रामा बे्रक लागेको हो ।
नेकपा (माओवादी केन्द्र)का पूर्वउपमहासचिवसमेत बनेका शर्माले १४ वर्षको उमेर २०३४ सालमा तत्कालीन कम्युनिस्ट पार्टीको सदस्यता लिएका थिए ।
एसएलसी उत्तीर्ण गरेपछि कृषि विषय पढेका उनी राजनीतिलाई अघि बढाउन जिल्लामै जेटिएको जागिर खाएका थिए । रूकुम पश्चिबाट दैलेख सरुवा गरिएपछि शर्माले २०४३ मा जेटिएबाट राजीनामा दिएका थिए । त्यसअघि नै उनी २०३८ मा तत्कालीन कम्युनिस्ट पार्टीको रूकुम जिल्ला सदस्य भइसकेका थिए ।
२०४६ मा बहुदलीय व्यवस्थाको पुनस्थापनापछि भएको पहिलो आमनिर्वाचन २०४८ मा तत्कालीन संयुक्त जनमोर्चाबाट रूकुम–२ मा प्रतिस्पर्धा गरेका शर्मा नेपाली काँग्रेसका गोपालजीजंग शाहसँग पराजित भएका थिए । २०५२ देखि सुरु भएको माओवादी सशस्त्र युद्धमा सुरुवातदेखि नै सहभागी शर्मा माओवादी सेनाका चार डेपुटी कमान्डरमध्ये एक थिए । २०६४ पछिका सबै निर्वाचनमा उनी अविजित रहेका थिए ।
शक्तिको राजनैतिक शक्तिमा ‘ब्रेक’
जाजरकोटमा शक्तिबहादुर बस्नेतको शक्तिमा ‘ब्रेक’ लागेको छ । लगातार तीनपटक चुनाव जितेका र पटक–पटक मन्त्री बनिसकेका बस्नेतका लागि यो चौथो पटकको चुनाव थियो । नेपाली कम्युनिस्ट पार्टीबाट उम्मेदवार बनेका बस्नेतलाई नेपाली काँग्रेसका खड्कबहादुर बुढाले दुई हजार ७३५ मतान्तरले पराजित गरेका हुन् । निर्वाचित बुढाले २० हजार १४२ मत ल्याउँदा बस्नेतले १७ हजार ४०७ मात्रै मत ल्याए ।
निर्वाचिन भएका काँग्रेसका बुढा ०७४ मा शिवालय गाउँपालिका अध्यक्ष पदको चुनावमा पराजित भएका थिए । तर, उनी जिल्लामा युवाहरूबीच परिचित युवा नेता हुन् । विद्यार्थी राजनीतिबाट उदाएका उनी पार्टीको जिल्ला उपसभापति तथा कार्यवाहक सभापति छन् । बुढा पश्चिम क्षेत्रका बासिन्दा हुन् भने उनीबाहेक सबैजसो उम्मेदवार पूर्वी जाजरकोटबाट थिए ।
०५६ सालयता जाजरकोट पश्चिम क्षेत्रले उम्मेदवार पाएको थिएन, जसका कारण सहानुभूतिको मत पाउँदा खड्कबहादुरलाई शक्ति बस्नेतको शक्तिमा ‘ब्रेक’ लगाउन सहज भयो । अर्कोतर्फ जाजरकोटमा आम नागरिकदेखि अन्य पार्टी र स्वयं तत्कालीन माओवादीभित्रै शक्ति बस्नेतमाथि प्रश्न उठ्दै आएको थियो । यो पटकको चुनावमा माओवादी (हाल नेकपा)भित्र बस्नेतलाई चुनाव नलड्न नेता–कार्यकर्ताहरूले भनेका थिए । उनले पनि सुरुमा नलड्ने भनेका थिए ।
तर अन्तिम समयमा प्रचण्डले बस्नेतलाई नै टिकट थमाएपछि जाजरकोट नेकपाभित्र विवाद मात्रै भएन, पूर्वमन्त्रीसमेत रहेका साविक माओवादीका जिल्ला इन्चार्ज गणेशप्रसाद सिंहले पार्टी नै परित्याग गरिदिए । सिंह यो पटक आफू चुनाव लड्न चाहेका थिए । अन्तिममा बस्नेत र प्रचण्डबाट धोका भएको भन्दै उनले पार्टी छाडे, जसको प्रत्यक्ष फाइदा काँग्रेसका बुढालाई भयो ।
बस्नेतको पराजयसँगै माओवादी आधार क्षेत्रमध्ये एक मानिएको जाजरकोटमा नेकपाको किल्ला भत्किएको छ । यहाँ १८ वर्षदेखि एकछत्र माओवादी वर्चस्व थियो । २०६४ मा समानुपातिक सांसद बनेका बस्नेतले २०७० मा जाजरकोट क्षेत्र नम्बर १ बाट चुनाव जिते । बस्नेत संसदीय चुनावमा भाग लिनुअघि नै केन्द्रमा स्वास्थ्यमन्त्री बनिसकेका थिए । सांसद नहुँदै मन्त्री बनेका उनी केपी ओलीको पहिलो प्रधानमन्त्रीकालमा गृहमन्त्री पनि बनेका थिए ।
२०७४ र २०७९ को दुवै निर्वाचन बस्नेतले नै जिते । २०७४ मा एमालेको समर्थन र ०७९ मा काँग्रेसको समर्थन पाएका उनी दोस्रोपटक केपी ओली प्रधानमन्त्री हुँदा वन तथा वातावरणमन्त्री बनेका थिए । २०७९ मा प्रचण्ड नेतृत्वको सरकारमा ऊर्जा तथा जलस्रोतमन्त्री बनेका उनीमाथि जिल्लामा कुनै काम गर्न नसकेको आरोप लाग्दै आएको थियो ।
जिल्लामा केही गर्न नसक्ने तर प्रचण्डको आशीर्वादले सधैँ सत्ताको वरिपरि रहिरहने नेता हुन् शक्ति बस्नेत । यस्तै उनकी श्रीमती सत्या पहाडी पनि शान्ति तथा पुनर्निर्माणमन्त्री बनिन् । तर जिल्लामा निरन्तर पार्टी कमजोर हुँदै गयो । शक्ति निरन्तर शक्तिमा रहे पनि जिल्लाको समृद्धि नभएको भन्दै पार्टीभित्र व्यापक आलोचना भएको थियो । जसका कारण यो पटक चुनाव हार्दै शक्तिले आफ्नै राजनैतिक शक्तिमा ब्रेक लगाएका छन् ।
प्रकाण्डको लज्जास्पद हार
विप्लव नेतृत्वको माओवादी पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ १८ वर्षपछि चुनावी ‘ब्यालेट’मा फर्किएका थिए । प्रकाण्डले निर्वाचन अवधिभर जबरजस्त माहौल पनि तताए । तर अन्तिम नतिजा आउँदा उनको लज्जास्पद हार भयो । उनी पहिलो प्रतिस्पर्धामा त आउन सकेनन्, दोस्रो, तेस्रो नम्बरमा पनि आएनन् ।
उनका पूर्वसहकर्मी नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का महेन्द्रबहादुर शाहीले ११ हजार ३३८ मतसहित चुनाव जित्दा विश्वकर्माले जम्मा ४ हजार ५९९ मत पाए । सुरुमा कालीकोटमा प्रकाण्ड र महेन्द्रबीच चुनावी प्रतिस्पर्धा हुने आकलन गरिएको थियो । दलित समुदायको बाहुल्यता धेरै भएको र जिल्लामा राम्रो प्रभाव भएकाले उनले साविक माओवादी (हाल नेकपा)कै भोट धेरै काट्ने अनुमान गरिएको थियो ।
उस्तै परे उनले नै चुनाव जित्न सक्ने आकलन पनि नगरिएको होइन भने महेन्द्रलाई प्रतिस्पर्धी नै नमानेजसरी उनी चुनावी कार्यक्रममा टिप्पणी गर्थे । तर अन्तिम चुनावी परिणाममा प्रकाण्ड प्रतिस्पर्धामै आउन सकेनन् । उनी ०६४ सालको पहिलो संविधानसभा चुनावमा नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका थिए । उक्त चुनावमा २७ हजार बढी मत ल्याएर चुनाव जितेका उनी केन्द्रमा महिला तथा बालबालिका मन्त्री हुँदै पर्यटनमन्त्रीसम्म बने ।
सांसदको कार्यकाल नसकिँदै (०६९) माओवादी अध्यक्ष ‘प्रचण्ड’सँग असन्तुष्टि जनाएर प्रकाण्डले विप्लवसँगै पार्टी छाडे । पुनः विद्रोहको बाटो समातेका प्रकाण्ड र उनको पार्टीले यसअघिका चुनाव बहिष्कार गर्दै आएको थियो । पछिल्लो समय कृषि क्रान्तिमा अग्रसर भएका उनी र उनको पार्टी १८ वर्षपछि ‘ब्यालेट’मा फर्कियो । तर प्रकाण्ड, विप्लवहरूलाई चुनाव खासै फापेन ।
विप्लवले अन्तिम समयमा आएर चुनावी मैदान छाडे । प्रकाण्डले फेस गरे, तर लज्जास्पद हार बेहोरे । विप्लव नेतृत्वको माओवादीमा सधैँ दोस्रो तहका नेताका रूपमा रहेका प्रकाण्ड माओवादीले सुरु गरेको सशस्त्र युद्धताका कर्णालीमा शीर्ष नेताहरूमध्ये एक थिए । युद्धकालमा प्रकाण्ड पार्टी राजनीतिमा भेरी—कर्णाली क्षेत्रका प्रमुख नेतामध्ये एक थिए ।
शक्ति बस्नेत पार्टीको कारबाहीमा परेपछि उनी युद्धताकै केन्द्रीय सदस्य तथा भेरी–कर्णाली ब्युरो इन्चार्ज बने । त्योबेला भेरी–कर्णाली जनसरकार प्रमुख पनि उनै थिए । पार्टी राजनीतिमा प्रकाण्ड महेन्द्रभन्दा निकै सिनियर नेता नै हुन् । उनी पार्टी राजनीतिमा हुँदा महेन्द्र जनमुक्ति सेनाका लडाकु कमान्डर थिए । शान्ति प्रक्रियापछि महेन्द्र सेनामै थिए ।
जब सांसदको कार्यकाल नसकिँदै (०६९) तिर प्रकाण्डले मूल पार्टी छाडे, त्यसपछि कालीकोटको माओवादीमा महेन्द्रको जबरजस्त उदय भयो । त्यसपछि २०७० यता लगातारको संसदीय निर्वाचनको अनुभव र सत्तामा हुँदा जिल्लामा गरेका गतिविधिकै योगदानले महेन्द्र चौथोपटक चुनाव जित्न सफल भए भने प्रकाण्डले नपत्याएका आफूभन्दा जुनियर नेतासँग नमज्जाले हार खाए ।








प्रतिक्रिया दिनुहोस्