वीरेन्द्र जैसी । नेपालगन्ज ।
बाँके पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोइरालाको गृह जिल्ला हो । हालसम्म भएका आठवटा संसदीय निर्वाचनको इतिहास हेर्दा यहाँका मतदाताहरू भने आफ्नो मतमा स्थिर देखिन्नन् । उनीहरूले कहिले मुद्दाका लागि मत परिवर्तन गरेको देखिन्छ भने कहिले व्यक्तित्व हेरेर मत परिवर्तन गरेका छन् । २०१५ सालको निर्वाचनपछि भएको अर्काे बहुदलीय निर्वाचन २०४८ को निर्वाचनलाई एकपछि भएको अर्काे निर्वाचन मान्ने हो भने यी दुई निर्वाचनबाहेक अरु कुनै पनि निर्वाचनमा यहाँका मतदाताहरूले उही पार्टीलाई दोहो¥याएको इतिहास छैन ।
नेपालको पहिलो संसदीय निर्वाचन २०१५ मा संसद्को तल्लो सदन अर्थात् प्रतिनिधिसभाको लागि तोकिएका एक सय नौ क्षेत्रमध्ये क्षेत्र नम्बर ६३ मा रहेको बाँकेबाट नेपाली काँग्रेसका ललित चन्द निर्वाचित भएका थिए । त्यसपछि २०४८ सालमा बहुदलीय प्रजातन्त्रको पुनर्बहालीपश्चात् प्रतिनिधिसभाका लागि देशभर दुई सय पाँचवटा निर्वाचन क्षेत्र तोकियो । २०४८ साल वैशाख २९ गते सम्पन्न भएको उक्त निर्वाचनमा बाँके जिल्लामा तीनवटा निर्वाचन क्षेत्र तोकिएकोमा सबै क्षेत्रबाट नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका थिए ।
उक्त निर्वाचनमा क्षेत्र नम्बर १ बाट मेहराज अहमद शाह, क्षेत्र नम्बर २ बाट सुशील कोइराला र क्षेत्र नम्बर ३ बाट कृष्णसिंह परियार निर्वाचित भएका थिए । उक्त निर्वाचनमा बहुमतसहितको पहिलो दल बनेको नेपाली काँग्रेसले पार्टीभित्रकै विवाद व्यवस्थापन गर्न नसक्दा सरकार नै ढल्यो भने देश मध्यावधि निर्वाचनमा गयो । त्यसपछि २०५१ साल कात्तिक २९ गते सम्पन्न प्रतिनिधिसभाको मध्यावधि चुनावमा बाँकेका तीनै क्षेत्रबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवारहरू विजयी भए ।
उक्त निर्वाचनमा विजयी हुनेहरूमा क्षेत्र नम्बर १ बाट प्रेमबहादुर भण्डारी, क्षेत्र नम्बर २ बाट शान्ति शमशेर राणा र क्षेत्र नम्बर ३ बाट फतेहसिंह थारू थिए । त्यसपछि माओवादी सशस्त्र युद्ध जारी रहेकै बेला २०५६ साल वैशाख २० गते प्रतिनिधिसभाको अर्काे निर्वाचन भयो । उक्त निर्वाचनमा पुनः तीनवटै स्थानमा नेपाली काँग्रेसका उम्मेदवारहरू विजयी भएका थिए । जसअनुसार क्षेत्र नम्बर १ बाट ज्ञानु केसी, क्षेत्र नम्बर २ बाट सुशील कोइराला र क्षेत्र नम्बर ३ बाट कैलाशनाथ कसौधन निर्वाचित भएका थिए ।
२०६२–०६३ सालको जनआन्दोलन भएपश्चात् २०६४ साल चैत्र २८ गते संविधानसभाको पहिलो निर्वाचन सम्पन्न भयो । उक्त निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २४० वटा निर्वाचन क्षेत्र तोकिएको थियो । जसअनुसार बाँकेमा चारवटा निर्वाचन क्षेत्र तोकिएको थियो । तर अघिल्लो निर्वाचनमा तीनवटै क्षेत्रमा विजयी भएको नेपाली काँग्रेस कुनै पनि क्षेत्रमा विजयी भएन ।
उक्त निर्वाचनमा विद्रोहमार्फत आएको दल नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र मधेश आन्दोलनबाट स्थापित दल मधेसी जनअधिकार फोरमले दुई–दुई वटा क्षेत्र जिते । क्षेत्र नम्बर १ र ४ बाट तत्कालिन नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का तिलकसिंह परियार र पूर्णाकुमारी सुवेदी विजयी भइन् भने क्षेत्र नम्बर २ र ३ बाट तत्कालिन मधेसी जनअधिकार फोरमका मोहम्मद इस्तियाक राई र सर्वदेवप्रसाद ओझा विजयी भएका थिए ।
पहिलो निर्वाचनबाट गठित संविधानसभाले संविधान बनाउन नसकेपछि २०७० साल मंसिर ४ गते संविधानसभाको दोस्रो निर्वाचन भयो । उक्त निर्वाचनबाट त्यसअघि कहिल्यै सफल नभएको नेकपा एमालेले पहिलोपटक तीनवटा निर्वाचन क्षेत्रमा विजय हासिल ग¥यो । एउटा क्षेत्रमा नेपाली काँग्रेसले पुनरागमन ग¥यो । उक्त निर्वाचनमा क्षेत्र नम्बर १, २ र ४ मा नेकपा एमालेका उम्मेदवारहरू विजयी भएका थिए । जसमा क्रमशः देवराज भार, दिनेशचन्द्र यादव र दलबहादुर सुनार विजयी भएका थिए ।
यसैगरी क्षेत्र नम्बर ३ बाट नेपाली काँग्रेसका सुशील कोइराला निर्वाचित भए । कोइराला त्यसपछि प्रधानमन्त्री बनेका थिए । २०७२ सालमा नयाँ संविधान जारी भएपछि २०७४ सालमा प्रतिनिधिसभाको निर्वाचन भनो । उक्त निर्वाचनमा देशभर १६५ वटा निर्वाचन क्षेत्र रहेकोमा बाँकेमा तीनवटा निर्वाचन क्षेत्र तोकिए । उक्त निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी एक भएर नेपाल कम्युनिस्ट पार्टीबाट उम्मेदवार खडा थिए ।
उक्त निर्वाचनमा काँग्रेस पुनः जितविहीन अवस्थामा आइपुग्यो भने दुई वटा क्षेत्रबाट नेपाल कम्युनिस्ट पार्टी र एउटा क्षेत्रबाट तत्कालिन मधेशी जनअधिकार फोरमका उम्मेदवार विजयी भए । उक्त निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी क्षेत्र नम्बर १ र ३ मा क्रमशः महेश्वर गहतराज ‘अथक’ र नन्दलाल रोकाया विजयी भएका थिए भने क्षेत्र नम्बर २ मा फोरमका मोहम्मद इस्तियाक राई निर्वाचित भएका थिए ।
पछिल्लो निर्वाचन २०७९ मा पुनः काँग्रेस र राप्रपाले पुनरागमन गरे । उक्त निर्वाचनमा क्षेत्र नम्बर १ बाट एमालेका सूर्य ढकाल निर्वाचित भए भने क्षेत्र नम्बर २ बाट राप्रपाका धवलशमशेर राणा र क्षेत्र नम्बर ३ बाट काँग्रेसका किशोरसिंह राठौर निर्वाचित भएका थिए । बाँकेमा दोहो¥याएर निर्वाचन जित्नेमा सुशील कोइराला र मो. इश्तियाक राई मात्रै हुन् । कोइरालाले पनि २०५१ र २०६४ को निर्वाचनमा हार व्यहोर्नुपरेको थियो । राईले पनि तीनपटकमध्ये एकपटक हार व्यहोरेका छन् ।
बाँकेमा देखिने यस्तो अस्थिर मतदानको ट्रेण्डका पछाडि मुख्यगरी दुईवटा कारण रहेको विश्लेषकहरू बताउँछन् । पहिलो व्यक्ति र एजेण्डा केन्द्रमा राखेर मत हाल्ने चलन । दोस्रो, एकपटक प्रभाव कायम गरेको दलभित्र आउने किचलो । नेपालगन्जका पुराना राजनीतिकर्मी एवं वरिष्ठ अधिवक्ता विजय गुप्ता बाँकेमा निर्वाचन परिणाम तलमाथि परे पनि काँग्रेसकै निरन्तरता भइरहेको अर्थमा बुझ्नुपर्ने बताउँछन् । हार व्यहोरेको चुनाव फरक परिस्थिति र काँग्रेसले आफैँभित्र व्यवस्थापन गर्न नसकेको कारण भएको उनको बुझाइ छ ।
गुप्ताका नजरमा बाँके जिल्ला कम्युनिस्टभन्दा प्रजातान्त्रिक विचारधाराकै बाहुल्यता रहेको जिल्ला हो । ‘२०५१ को चुनाव काँग्रेसकै कारण मध्यावधिमा जानुपरेकोले हार व्यहोर्नुप¥यो । त्यतिबेला यहाँ काँग्रेसको विकल्पमा राप्रपा नै थियो । उसैले जित्यो । फेरि ५६ मा काँग्रेसकै जित भयो । २०६४ को परिस्थिति फरक थियो । त्यहाँ हार व्यहो¥यो । २०७० मा पुनः एउटामा जित भयो । त्यतिबेलासम्म एमालेले पनि आफ्नो संगठन बनाइसकेको थियो । २०७४ मा कम्युनिस्ट गठबन्धनले गर्दा काँग्रेसले उम्मेदवारै उठाएन । २०७९ मा काँग्रेसका उम्मेदवारलाई लिएर पार्टीभित्रको असन्तुष्टि व्यवस्थापन गर्न सकेन । नभए यहाँ जजसले जिते पनि काँग्रेसको सहयोग वा अन्तर्घातले नै जितेका छन्,’ गुप्ताले भने ।
उनले बाँकेका मतदाताले जिताउने व्यक्तिभन्दा कसलाई हराउने भन्ने तय गरेर त्यसको विकल्पलाई चुन्ने गरेका छन् । हराउने निर्णय लिनुको आधारमा नेतामा आउने अहंकार र चुनावमा गरेका वाचामा खरो उत्रिन नसक्नु मुख्य कारण हुने गरेका उनले बताए । ‘यहाँका मतदाताले अहंकारी नेतालाई सहन्नन्,’ गुप्ताले भने । वरिष्ठ पत्रकार डा.डक्टप्रसाद धितालका विचारमा बाँकेमा समुदायगत मतदाता समूहले निर्धारण गर्ने र ती समूहहरूले प्राथमिकता निरन्तर परिवर्तन गरिरहने गरेका छन् ।
उनीहरूले समूहको उम्मेदवार लक्षित गर्ने, मतदाताहरू पार्टी तथा व्यक्तिको समर्थनमा नबाँधिएको र उनीहरूका अपेक्षा र प्राथमिकता बदलिएअनुरुप मत पनि बदलिने गरेको बताए । गठबन्धनका कारण पनि फरक परिणाम आएको धितालको बुझाइ छ । बाँकेमा आसन्न निर्वाचनका लागि क्षेत्र नम्बर १ मा एक लाख २१ हजार पाँच सय ३१, क्षेत्र नम्बर २ मा ९८ हजार पाँच सय १२ र क्षेत्र नम्बर ३ मा एक लाख १३ हजार आठ सय ९१ मतदाता रहेका छन् । २०७९ को भन्दा यसपटक १७ हजार पाँच सय पाँचजना नयाँ मतदाता थपिएका छन् ।
यस्तो छ अघिल्लो निर्वाचनको अंकगणित
निर्वाचन क्षेत्र नम्बर १ 
२०७९ सालको प्रतिनिधिसभाको निर्वाचनमा प्रत्यक्षतर्फको मत परिणामको अंकगणित र समानुपातिकतर्फको मतपरिणामको अंकगणित मेल खाँदैन । जसले प्रत्यक्षतर्फ व्यक्ति हेरेर मतदाता गर्ने मतदाताले निर्णायक भूमिका खेल्ने गरेको स्पष्ट हुन्छ । निर्वाचन क्षेत्र नम्बर १ मा एमालेका सूर्यप्रसाद ढकालले २५ हजार २६ मत ल्याएर निर्वाचित भएका थिए । उक्त क्षेत्रमा एमालेले राप्रपासँग गठबन्धन गरेको थियो ।
तर, समानुपातिकतर्फ उक्त क्षेत्रमा एमालेले १६ हजार चार सय ७३ मत मात्रै पाएको थियो र उसँग गठबन्धनमा रहेको राप्रपाले चार हजार तीन सय ३६ मत पाएको थियो । जुन मत जोड्दा २० हजार ८ सय मात्रै पुग्छ । यसरी हेर्दा ढकाललाई एमाले र राप्रपाका मतदाताले मात्रै मत दिएका थिएनन् । उनलाई अन्य दलका मतदाताले पनि मत दिएका थिए ।
किनकी यता काँग्रेस र माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका महेश्वरजंग गहतराज अथकले १९ हजार ६ सय ३२ मात्रै मत पाएका थिए । जबकी उक्त क्षेत्रमा नेपाली काँग्रेसले समानुपातिकतर्फ १३ हजार आठ सय ४२ मत पाएको थियो भने गठबन्धनमा रहेको माओवादीले आठ हजार चार सय ९९ मत पाएको थियो । जुन मत जोड्दा २२ हजार तीन सय ४१ हुन आउँछ । जुन सबै मत गहतराजले पाएनन् ।
यसपटक सबै दलहरू अलग–अलग प्रतिस्पर्धामा उत्रिएका छन् । यस हिसाबले समानुपातिक मतका हिसाबले गत निर्वाचनमा तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले यसपटक कस्तो नतिजा ल्याउँछ भन्नेले क्षेत्र नम्बर १ को निर्णय गर्नेछ । किनकि रास्वपा अघिल्लो निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ चौथो दल थियो भने उक्त निर्वाचनमा प्रत्यक्षतर्फ तेस्रो स्थानमा रहेका सुरेशकुमार थारू यसपटक रास्वपाबाटै उम्मेदवार छन् । समानुपातिकतर्फ अघिल्लो निर्वाचनमा थारूआबद्ध नागरिक उन्मुक्ति पार्टीले आठ हजार सात सय ३७ मत पाएर चौथो स्थानमा थियो ।
थारूले अघिल्लो पटक आफूले र रास्वपाका उम्मेदवारले प्रत्यक्षतर्फ ल्याएको मत मात्रै जोगाउन सके भने पनि उनको जित सुनिश्चित देखिन्छ । किनकी त्यतिबेला उनले र रास्वपाका उम्मेदवारले ल्याएको मत जोड्दा साढे २१ हजारभन्दा बढी हुन आउँछ । जुन अघिल्लोपटकको विजेता एमालेले समानुपातिकतर्फ पाएको मतभन्दा पाँच हजारले बढी हुन आउँछ । यता रास्वपाका उम्मेदवारले प्रत्यक्षतर्फ १० हजार ७१ मत ल्याउँदा समानुपातिकतर्फ राष्ट्रिय स्वतन्त्र पार्टी आठ हजार आठ सय ८५ मत पाएको थियो ।
रास्वपाप्रति मतदाताको रुझान बढिरहेको देखिएको बेला उक्त मत थप बढ्न सक्छ । तर, सुरुमा भनिएझँै प्रत्यक्षतर्फ व्यक्तिको छवीले मुख्य प्रभाव पार्ने भएकोले सोझो अंकगणितले काम नगर्न सक्ने कतिपयको आंकलन छ । थारूको विभिन्न राजनीतिक दल हुँदै अन्तमा रास्वपामा आएर टिकट पाएको भन्दै पार्टीभित्रै र मतदातामा पनि असन्तुष्टि रहेको बताइन्छ । जुन असन्तुष्टिलाई जितेर मत सुरक्षित गर्नु नै थारूका लागि मुख्य चुनौती रहेको देखिन्छ ।
अघिल्लोपटक विजेता बनेका एमालेका उम्मेदवार सूर्य ढकालले आफ्नो पार्टीको मत मात्रै जोगाउन सके भने पनि उनी प्रतिस्पर्धामै रहने छन् । ढकाल चुनावी रणनीतिका हिसाबले प्रखर उम्मेदवार भएकाले मत जोगाउन उनलाई अप्ठ्यारो नहुने पनि कतिपयको मत छ । तर, निवर्तमान सांसद रहेका बेलाका अपुरा वाचाका कारण आलोचित भइरहेका छन् । गहतराज अघिल्लो निर्वाचनमा पराजय भोग्नुको एउटा कारण अपुरा वाचा नै रहेको बताइने गरेको छ । अर्काेतिर राष्ट्रियस्तरमै एमाले प्रतिरक्षात्मक अवस्थामा छ ।
यता २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २८ हजार दुई १७ मत ल्याएको र अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ करिब १४ हजार मत ल्याएको दल काँग्रेसबाट जिल्ला सभापति नारायणप्रसाद गौडेल चुनावी मैदानमा छन् । गौडेल क्षेत्र नम्बर १ मा लोकप्रिय र जनतामाझ भिजेका नेताका रूपमा चिनिन्छन् । त्यसैले गौडेललाई पनि प्रमुख दाबेदारका रूपमा हेरिएको छ । तर, क्षेत्र नम्बर १ को काँग्रेसभित्र यतिखेर एकता नरहेको देखिएको काँग्रेसकै एक क्रियाशील कार्यकर्ताले बताए ।
उम्मेदवारका आकांक्षी रहेकाहरूले आफूले टिकट नपाएपछि गौडेललाई खुलेर साथ नदिइरहेको बताइएको छ । उनीहरू गौडेलको चुनावी गतिविधिमा पनि देखिएका छैनन् । काँग्रेसभित्र पुरानो रोग अन्तर्घात रोक्नु नै गौडेलका लागि मुख्य चुनौती रहेको बताइएको छ । यसैगरी, अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ आठ हजार चार सय ९९ मत ल्याएको नेकपा माओवादी केन्द्र (हाल नेपाली कम्युनिस्ट पार्टी)का नरेन्द्रप्रसाद पाण्डेलाई आफ्नो क्षेत्रमा पार्टीप्रति असन्तुष्ट नेताहरूलाई विश्वासमा लिन सक्नुपर्ने र नयाँ मतदाताको मत आकर्षित गर्नुपर्ने दुवै चुनौती छ ।
राष्ट्रियस्तरमा विभिन्न पार्टीहरू मिलेको भनिए पनि उक्त क्षेत्रमा पार्टीका प्रभावशाली नेताहरू नै असन्तुष्ट छन् । तिनै असन्तुष्टमध्ये लुम्बिनी प्रदेशसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यको उम्मेदवारी दिएकी कृष्णा केसी नमुनालाई पनि क्षेत्र नम्बर १ को मुख्य प्रतिस्पर्धीका रूपमा लिइएको छ । पार्टी एकीकरण भएर नेपाली कम्युनिस्ट पार्टी बनाइएपछि असन्तुष्ट भएर प्रगतिशील लोकतान्त्रिक पार्टीतर्फ गएकी नमुनालाई उक्त निर्वाचन क्षेत्रमा लोकप्रिय नेताका रूपमा लिइन्छ ।
जनस्तरमा भिजेकी र राजनीतिक रूपले सक्रियतापूर्वक विकास निर्माणका काममा अग्रसरता लिँदै आएकी उनी अघिल्लो निर्वाचनमा नौ हजार एक सय तीन मतका साथ प्रदेशसभा सदस्यमा निर्वाचित भएकी थिइन् । यसपटक उनले आफूआबद्ध पुरानो दलका उम्मेदवारलाई जाने मत आफूतिर आकर्षित गर्दै नयाँ मतदाताको मत तान्नुपर्ने चुनौती छ । यससँगै उनीआबद्ध दलको चुनाव चिन्ह नै मतदातामाझ पहिलोपटक परिचित हुन लागेकोले उनलाई त्यसले निम्त्याउने चुनौती पनि रहेको छ । बाँके क्षेत्र नम्बर १ को निर्वाचन यीनै पाँचजना प्रतिस्पर्धीहरूबीच प्रतिस्पर्धात्मक हुने देखिन्छ ।
निर्वाचन क्षेत्र नम्बर २ 
बाँकेको सबैभन्दा बढी चासो रहेको निर्वाचन क्षेत्र नम्बर २ को अघिल्लो निर्वाचनको अंकगणितले यसपटक त्रीपक्षीय प्रतिस्पर्धा हुने देखिन्छ । यस क्षेत्रमा २०६४ सालदेखि यता तीनपटक चुनाव लडेका, दुईपटक विजेता बनेका र तीनपटक मन्त्री भएका मो. इश्तियाक राई यसपटक पनि चुनावी मैदानमा छन् । यद्यपि यसपटक उनी आफूआबद्ध दल नभई एमालेको चुनाव चिन्ह लिएर निर्वाचनमा होमिएका छन् । यसले राई यसपटक पनि असहज स्थितिमा रहेको र अर्काे बलियो उम्मेदवारले राईलाई चुनौती दिनसक्ने देखिन्छ ।
अघिल्लो निर्वाचनको अंकगणित हेर्दा भने यस निर्वाचन क्षेत्रको नतिजा अनुमान गर्न कठिन हुन्छ । किनभने अघिल्लो निर्वाचनमा राप्रपाका महामन्त्री एवम् नेपालगन्जका पूर्वमेयर डा. धवलशमशेर राणा भारी मतसहित निर्वाचित भएका थिए । उनले आफ्नै पार्टीको चुनाव चिन्ह हलो लिएर चुनाव लडे तर त्यतिबेला राणालाई एमालेले नै साथ दिएको थियो । उक्त निर्वाचनमा राणालाई साथ दिएर आफैँले हराएका राईलाई नै एमालेले यसपटक आफ्नो उम्मेदवार बनाएको छ ।
२०७९ को निर्वाचनमा राणाले २९ हजार पाँच सय ७७ मत ल्याएर विजयी भएका थिए । तर उक्त मत राणाको दल राप्रपाका कारण नभई राणाको लोकप्रियताका कारण आएको थियो । जसलाई उनको दल राप्रपा र उनलाई साथ दिएको एमालेले समानुपातिकतर्फ पाएको मतले नै पुष्टि गर्छ ।
उक्त निर्वाचनमा राप्रपाले ११ हजार तीन सय ४८ मत मात्रै पाएको थियो भने एमालेले नौ हजार तीन सय २० मत पाएको थियो । यी दुवै दलले पाएको मत जोड्दा पनि राणाका निकटतम प्रतिस्पर्धी राईको तत्कालीन दल एक्लैले समानुपातिकमा पाएको मतभन्दा केही बढी मात्रै हुन आउँछ । राईले त्यतिखेर प्रत्यक्षतर्फ २३ हजार पाँच सय २० मत पाएका थिए भने उनको दल जनता समाजवादी पार्टीले समानुपातिकतर्फ २० हजार एक सय ९५ मत पाएको थियो ।
त्यसकारण यसपटक राप्रपाका तर्फबाट उम्मेदवारले अघिल्लो निर्वाचनकै आधारमा मत पाउँछन् भन्ने आधार कमजोर छ । यद्यपि यसपटक राप्रपाले युवा पुस्तामाझ परिचित, पार्टीका गतिविधिदेखि समसामयिक गतिविधिमा अग्रपंक्तिमा रहने ऋषिराज देवकोटालाई उम्मेदवार बनाएको छ । राणाले आफैँले चुनाव नलड्ने घोषणा गरेर देवकोटालाई समर्थन गरेका छन् । तर, राणालाई प्राप्त भएको मत देवकोटालाई पनि प्राप्त हुनेमा भने धेरैले आशंका व्यक्त गर्छन् ।
राणा आफैँले पनि संसद्को निर्वाचन लड्दा गरेका वाचा पूरा नभएको र उनको पालामा विकास निर्माणका योजनामा उनको अग्रसरता देख्न नपाइएको भन्दै विरोधीहरूले उनलाई आलोचनाको केन्द्रमा राखेका छन् । यद्यपि राप्रपाको बलियो आधार भएको र धार्मिक भावनाका आधारमा मत दिने मतदाताको पनि ठूलो सङ्ख्या रहेको क्षेत्र नम्बर २ मा देवकोटाले एजेण्डाका आधारमा पनि नयाँ मतदाता आकर्षित गर्न सकेमा उनी पनि एक मुख्य दाबेदारका रूपमा देखिन सक्ने आकलन धेरैको छ ।
अर्कोतर्फ अघिल्लो निर्वाचनमा दोस्रो बनेका राईलाई पनि देवकोटाको भन्दा कम चुनौती छैन । उनलाई सबैभन्दा ठूलो चुनौती उनको दलीय आधार नै हो । मनोनयनको अघिल्लो दिन एमालेको चिन्ह लिएर चुनाव लड्ने निर्णय गरेका उनी आफ्नो पार्टीभित्र र एमालेभित्र पनि आलोचित बनेका छन् । जसपालाई विभाजित हुँदा उनी अशोक राईतर्फ लागे तर उनको पार्टीका अधिकांश जिल्लामा प्रभाव राख्ने नेता कार्यकर्ताहरू उपेन्द्र यादव पक्षमै रहे ।
उनले आफ्नो पुरानो र परिचित चुनाव चिन्ह पनि पाउने स्थिति नभएपछि अन्ततः अघिल्लोपटक आफैँलाई हराउन लागेको पार्टी एमालेको चुनाव चिन्ह लिन पुगे । जसले उम्मेदवारका लागि सिफारिस भएर अन्तिम निर्णय कुरिरहेका एमालेका नेतादेखि कार्यकर्तापंक्तिभित्र असन्तुष्टि पैदा ग¥यो । एमालेमा विरलै बाहिरिने असन्तुष्टि राईलाई उम्मेदवार बनाएको सन्दर्भमा बाहिरियो । अहिले पनि एमालेको सबै मत राईलाई नै प्राप्त हुनेमा आशंका गर्नेहरू धेरै छन् ।
अघिल्लोपटक उनलाई प्राप्त मत पनि बाँडिने पक्का छ किनभने उनलाई नै निशाना बनाएर उनका पूर्वसहकर्मी एवं नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर रहेका कमरुद्धिन राई राजीनामा दिएर प्रतिस्पर्धामा आएका छन् । कमरुद्धिन र उनीसँग रहेको जसपाका प्रभाव राख्ने नेताहरूको उपस्थितिले राईले अघिल्लो निर्वाचनमा पाएको मत जोगाउनु नै उनका लागि सबैभन्दा ठूलो चुनौती हुने देखिन्छ । केही विकास योजनामा आफ्नो भूमिका देखाएर मतदातालाई फकाउने प्रर्यत्नमा रहेका राईले खुम्चिएमा त्यसको फाइदा लिने उम्मेदवारमा सबैले नेपाली काँग्रेसका सुधांन्शु कोइरालालाई लिइरहेका छन् ।
अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ टिकट पाएका काँग्रेसका सुदीपनरसिंह राणाले जमानत पनि जोगाउन सकेनन् । तर, राणाले चार हजार चार सय तीन मत पाउँदा समानुपातिकतर्फ भने काँग्रेसले १० हजार एक सय ७५ मत पाएको थियो । माओवादीसँग गठबन्धनमा रहेको काँग्रेसभित्रै त्यसबेला अन्तर्घात भएको उसले पाएको समानुपातिक र प्रत्यक्षतर्फको मतको तुलना गर्दा थाहा हुन्छ । एकैपटक भएको काँग्रेसको प्रदेशसभातर्फको मत पनि करिब १५ हजार थियो ।
काँग्रेसले २०७४ मा राप्रपासँग गठबन्धन गरेका बेला राप्रपाका उम्मेदवारले पनि साढे ११ हजार बढी मत ल्याएका थिए । पूर्वप्रधानमन्त्री सुशील कोइरालाले दुईपटक निर्वाचन जितेको र इतिहासमा काँग्रेसले चारपटक निर्वाचन जितेको बाँके क्षेत्र नम्बर २ काँग्रेसका लागि सबैभन्दा सहज क्षेत्र पनि मानिन्छ । तर अन्तर्घातका कारण काँग्रेसका उम्मेदवारले हार व्यहोर्ने गरेको भनिएका बेला काँग्रेसले तुलनात्मक रूपमा सर्वस्वीकार्य उम्मेदवारका रूपमा सुधांन्शुलाई अघि सारेको विश्लेषण भइरहेको छ ।
सुधांन्शु पूर्वप्रधानमन्त्री सुशील कोइरालाका भतिजा हुन् भने काँग्रेका पूर्वजिल्ला सभापतिद्वय अरुण कोइराला र किरण कोइरालाका छोरा हुन् । त्यसैले सुधांन्शु बिरासतको साथ, युवा पुस्ताको प्रतिनिधि र निष्कलंक छवीले एक बलिया दाबेदारका रूपमा हेरिएका छन् । राईलाई टक्कर दिनसक्ने नेताका रूपमा अहिले धेरैले उनलाई औँल्याइरहेका छन् । काँग्रेसभित्र उम्मेदवारीलाई लिएर हुने असन्तुष्टि यसपटक बाँँके क्षेत्र नम्बर २ मा कम देख्न पाइएको पनि पार्टी सम्बद्धहरू बताउँछन् ।
मतदानसम्म पार्टीभित्रको एकता कायम राख्न सकेमा कोइरालालाई जित निकाल्न सहज हुने धेरैको अनुमान छ । यद्यपि केहीले काँग्रेसकै मेयर रहेको नेपालगन्ज उपमहानगरपालिकासँग सम्बन्धित असन्तुष्टिहरूले उनलाई असर गर्ने पनि आंकलन गरिरहेका छन् । सामाजिक सञ्जालमा त्यसलाई लिएर टीकाटिप्पणीहरू भइरहेका पनि देख्न सकिन्छ । यसबाहेक रास्वपाका विवेक श्रेष्ठ, नेकपाका दिपेन्द्र बिष्ट र जसपा नेपालका कमरुद्धिन राई पनि प्रतिस्पर्धामा उत्रिन सक्ने अवस्थाका उम्मेदवार मानिएको छ ।
तर, उनीहरूलाई अघिल्लो निर्वाचनको मतमा धेरै ठूलो मत जोड्नुपर्ने चुनौती हुन सक्ने देखिन्छ । २०७९ को निर्वाचनमा रास्वपाका उम्मेदवारले प्रत्यक्षतर्फ एक हजार तीन सय ३३ मत ल्याउँदा समानुपातिकतर्फ चार हजार ९७ मतमात्रै ल्याएको थियो । श्रेष्ठले रास्वपाका पक्षमा देखिएको लहरबाट आफ्नो पक्षमा मत तान्न धेरै मिहिनेत गर्नुपर्ने देखिन्छ । तत्कालीन माओवादी हाल नेकपाका बिष्टले अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ पाएको तीन हजार ३३ मतबाट जित निकाल्ने मत जोड्न सकेमा त्यो स्मरणीय घटना हुनेछ ।
निर्वाचन क्षेत्र नम्बर ३
बाँके क्षेत्र नम्बर ३ को निर्वाचन पनि रोचक हुने देखिन्छ । २०७९ को निर्वाचनमा काँग्रेस र माओवादीको गठबन्धनका उम्मेदवार किशोरसिंह राठौरले जित निकाल्दा निटकतम प्रतिस्पर्धामा नेकपा एमालेका किस्मतकुमार कक्षपति थिए । यसपटक भने सबै एक्लाएक्लै मैदानमा छन् ।
उक्त निर्वाचन क्षेत्रमा स्थानीय ठेगाना भएका उम्मेदवार र बाहिर क्षेत्रमा ठेगाना भएका उम्मेदवारको भाष्य निर्माण गरिएको छ । जसले विशेषगरी काँग्रेस र रास्वपाका लागि चुनौती खडा गरेको विश्लेषण भइरहेको छ ।
यद्यपि यसअघि पनि यस्तै भाष्यका बीच काँग्रेसका राठौरले जित हात पारेका थिए । २०७९ को निर्वाचनमा राठौरले २९ हजार ९७ मत ल्याएर जित्दा काँग्रेसले समानुपातिकतर्फ १९ हजार ८ सय ६७ मत पाएको थियो । काँग्रेसलाई साथ दिएको माओवादीले समानुपातिकतर्फ पाँच हजार नौ सय १ मत पाएको थियो । यी दुई दलको समानुपातिकभन्दा करिब चार हजार बढी मत ल्याएर राठौर निर्वाचित भएकोले उक्त क्षेत्रमा काँग्रेसको स्थिति ठिक रहेको र उम्मेदवार पनि सही दिएमा जित्न सक्ने सम्भावना रहेको देखाउँछ ।
काँग्रेसले यसपटक उम्मेदवार बनाएका अमरसिंह पुन पार्टीका प्रदेश सभापति हुन् । तुलनात्मक रूपमा स्वच्छ छवी भएका पुनका सम्बन्धमा यतिखेर मुख्य प्रतिस्पर्धी एमालेले बाहिरियाको भाष्य बनाइरहेको छ । रोल्पा स्थायी ठेगाना भएका पुन बाँके आएर चुनाव लडेको र यसअघि बर्दियाका राठौरलाई काँग्रेसले उम्मेदवार बनाएको विषयलाई एमालेलगायत प्रतिस्पर्धीहरूले उचालिरहेका छन् । काँग्रेसभित्रै असन्तुष्ट पक्षहरूले पनि पुनको उम्मेदवारी नरुचाएको बताइएको छ ।
यद्यपि यस्तो स्थिति अघिल्लो निर्वाचनमा पनि थियो । तर राठौरले त्यसलाई चिरेका थिए । पुनले पनि आफूले उक्त भाष्यलाई चिर्ने बताइरहेका छन् । तर उनलाई पार्टीभित्रको एकता जोगाएर मत प्राप्त गर्नु नै मुख्य चुनौतीको रूपमा देखिन्छ । क्षेत्र नम्बर ३ मा एमालेभित्र पनि सहज स्थिति छैन । किनकि उम्मेदवार चयनका क्रममा संविधानसभा सदस्य रहेका नेता दलबहादुर सुनारलाई दिएको टिकट खोसेर सुमन मल्ललाई उम्मेदवार बनाइएको छ । त्यसले सुनार पक्षका नेता कार्यकर्ताहरू रुष्ट रहेको बताइएको छ।
यद्यपि मल्ल उक्त क्षेत्रमा परिचित र स्थानीय निर्वाचनमा राम्रो मत ल्याएका युवा नेता हुन् । अघिल्लो निर्वाचन २०७९ मा एमालेका प्रत्यक्षतर्फका उम्मेदवार किस्मत कक्षपतिले २४ हजार तीन सय पाँच मत ल्याएका थिए भने समानुपातिकतर्फ एमालेले १८ हजार तीन सय ४९ मत पाएको थियो । यो आँकडाले मल्ललाई जित निकाल्न ठूलो चुनौती देखिन्न । यद्यपि पार्टीभित्रको आन्तरिक असन्तुष्टि मिलाउनु र काँग्रेसका हेभिवेट नेता पुनका साथै रास्वपाका चर्चित अनुहार भएका उम्मेदवार खगेन्द्र सुनारसामु आफूलाई बलियो रूपमा प्रस्तुत गर्नु मल्लका लागि चुनौतीको रूपमा रहेको देखिन्छ ।
अभियन्ता हुँदै आफ्नै नेतृत्वमा दल खोलेका र अन्तमा रास्वपामा प्रवेश गरी बाँके क्षेत्र नम्बर ३ बाट उम्मेदवारी पाएका खगेन्द्र सुनार पनि बाँके क्षेत्र नम्बर ३ मा मुख्य दाबेदार मानिएका छन् । त्यसका पछाडि उनको चर्चित व्यक्तित्वका साथै रास्वपाको अघिल्लो निर्वाचनको मतपरिणाम पनि आधार हो । २०७९ को निर्वाचनमा रास्वपाले क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फ सात हजार चार सय ६७ मत पाएको थियो भने समानुपातिकतर्फ चार हजार ९७ मत पाएको थियो ।
यसैगरी नागरिक उन्मुक्तिको ठूलो हिस्सा रास्वापामा मिसिएकोमा अघिल्लोपटक उन्मुक्तिले समानुपातिकतर्फ ६ हजार सात सय ६५ मत पाएको थियो । यसपटक मतदातामाझ परिचित अनुहारका उम्मेदवार रहेका खगेन्द्र सुनारले दलित समुदायको बसोबास धेरै रहेको उक्त क्षेत्रबाट मत बटुल्न सक्ने अनुमान गरिएको छ । तर, उम्मेदवारीसँगै सुनारले बाहिरियाको भाष्यबाट सिर्जित टिप्पणीका साथै उनको पुरानो अभिव्यक्तिलाई लिएर फैलाइएको प्रोपोगाण्डा झेल्नुपरिरहेको छ ।
यसले सुनारको चुनाव जित्ने सम्भावनामा चुनौती थपेको विश्लेषण भइरहेको छ । यसबाहेक नेकपाका दीपक जिएम, अघिल्लो निर्वाचनमा प्रत्यक्षतर्फ चार हजार दुई सय ८७ मत पाएको दल जसपा नेपालका सूर्यलाल यादवसमेत उक्त क्षेत्रमा आफ्नो दाबी देखाउने नेताका रूपमा हेरिएको छ ।








प्रतिक्रिया दिनुहोस्