श्यामलाल पोखरेल । बुटवल ।
पुख्र्यौली पेशा संकटमा परे पनि आफ्नो पेशाप्रति प्रतिबद्ध छन्, काजीमान विश्वकर्मा । जिजुदेखि बाउबाजेका पालादेखिको पेशामा लागेका ६५ वर्षीय काजीमान पुख्र्यौली पेशा धान्दै आएका छन् । आधुनिक युगसँगै विद्युतीय विकासका कारण आरन पेशा संकटमा परे पनि जीविका चलाउन पनि उनलाई आरन चलाउने आफ्नो पुख्र्यौली पेशा छोड्न सम्भव छैन् ।
२०५९ सालमा बागलुङको तत्कालीन छिस्ती गाविस र हालको जैमिनी नगरपालिकाबाट बसाइँसराई गरी रुपन्देहीको सैनामैना नगरपालिका १ बर्माचोकमा बस्दै आएका काजीमानले बुटवलको कालिकानगरमा आरन व्यवसाय चलाउँदै आएका छन् । १२ वर्षको उमेरदेखि फलामका घरायसी औजारहरू बनाउने काममा लागेको बताउने उनले बुटवलको कालिकापथको सडक किनारमा आरन चलाउँदै आएका छन् ।
बाउ बाजेको पेशा छोरानातीले नगरे पनि आफ्नो हातखुट्टा चल्दासम्म पेशालाई निरन्तरता दिने मन भए पनि ठाउँको अभावले पेशाबाट विस्थापित हुनुपर्ने हो कि भन्ने चिन्तामा छन्, काजीमान । फलामबाट बन्ने हसिया, खुकुरी, कोदाला, फरुवा, खुकुरी, चक्कु लगायतका घरायसी औजारहरू बनाउन सिपालु काजीमानका लागि आरन राख्ने ठाउँको अभावले उनी समस्यामा छन् ।
कालिकापथ सडक किनारमा सामान्य टिनको पाता ठडाएर आरन चलाउँदै आएका काजीमान आरन राख्ने ठाउँको खोजीमा छन् ।नगरपालिकाले सामान्य अनुदान दिए पनि भाडा तिरेर पेशा धान्न सक्ने अवस्था नभएको बताउँछन् । व्यक्तिको निजी जग्गामा आफैँ टिन ठडाएर आरन चलाउँदा मासिक पाँच हजार तिर्नुपरेको र घर वा सटर भाडामा लिँदा भाडा तिर्न नसकिने उनी बताउँछन् ।
बिहानदेखि साँझसम्म फलामका औजारहरू बनाएर दैनिकी चलाउँदै आएका काजीमान भन्छन्, ‘पानी, हावाहुरी छेक्ने आरन बनाएर काम गर्ने इच्छा छ ।’ आर्ने पेशा छोड्ने मन नभए पनि आरन राख्ने ठाउँको अभावले आफ्नो पुख्र्यौली पेशा छोड्नु पर्ने अवस्था आएको गुनासो गर्छन् काजीमान । बाउ बाजेको पालमा तामो गलाएर बागलुङमा गाग्री, ताउला, रोचे, लोटा, अमखरा, बेला बनाएको स्मरण गर्दै उनले भने ‘ओत लाग्ने खालको राम्रो आरन भा फलाम र तामाका पुराना पुराना सामग्री बनाउने थेँ, गरिब भएका कारण आरन बनाउन नसक्दा जानेको सीप पनि देखाउन सकेको छैनँ ।’
अस्थायी रूपमा आरन बनाउनका लागि सानोतिनो ठाउँ दिन स्थानीय सरकारसँग उनले माग गरेका छन् । आरन बनाउन मिल्ने ठाउँ भए पुरानो घरायसी हातहतियार बनाउने आर्ने पेशालाई पुस्तान्तरण गर्ने उनको चाहना छ । सामान्य पानी र हावा नछेक्ने आरन चलाउँदै आएका काजीमानको फलामका औजार बनाउनका लागि दैनिक सेवाग्राही आउने गर्दछन् । भनेजस्तो आरन नभए पनि काजीमानलाई फलामका भाँडा तथा औजारहरू बनाउन भ्याइनभ्याई छ । कहिलेकाहीँ २–३ हजारसम्म कमाइ हुने र कहिले थोरै भए पनि जीविका जनतन चलेको बताउछँन् उनी ।
श्रीमतीसहित चारजना छोरा र पाँचजना छोरीहरू यही पुख्र्यौली आर्ने पेशाबाट हुर्काएका काजीमानका जेठा छोरा देवीराम विश्वकर्माले पनि बाउबाजेको पेशा अँगालेका छन् । काजीमानका अन्य छोराछोरी भने यो पेशामा लागेका छैनन् । नयाँ पुस्ता यो पेशामा नलाग्दा र आधुनिक विद्युतीय औजार बन्न थालेकाले कतै पुख्र्यौली पेशा लोप हुने हो कि भन्ने कहीलेकाहीँ चिन्ता लाग्ने गरेको बताउँछन् उनी ।








प्रतिक्रिया दिनुहोस्