बाँके, बर्दिया, सल्यान र दाङका निकुञ्ज र जंगल क्षेत्र नजिकका मतदाताहरूले वन्यजन्तु आतंक व्यवस्थापन र मानव वन्यजन्तु द्वन्द्व नियन्त्रण मुख्य मुद्दा बनाएका छन् । विगतका निर्वाचनमा शिक्षा, स्वास्थ्य, रोजगारी, मलखाद, सिँचाइ लगायतका समस्या चुनावी एजेन्डा बन्ने गरे पनि आसन्न निर्वाचनमा मतदाताहरूको मुख्य सरोकार वन्यजन्तुको आतंक नियन्त्रण बनेको हो ।
शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
बर्दियाको राजापुर नगरपालिका वडा नम्बर ७ बाजुरा टोलका धिरेन्द्र कार्की अटो चलाएर जीविकोपार्जन गर्छन् । अटो व्यवसाय उनको परिवारको प्रमुख आम्दानीको स्रोत हो । ९० घरधुरी रहेको बाजुरा टोलका नागरिक मजदुरी गर्छन् । उक्त टोल बहुआयमिक समस्यामा गुज्रिरहेको छ । उक्त टोलमा अहिलेसम्म सडक पुगेको छैन । जनताका आधारधूत आवश्यकतासमेत नपुगेको उक्त क्षेत्रले भोगिरहेको प्रमुख समस्यामध्येको एक हो, वन्यजन्तु आतंक ।
उनी भन्छन्, ‘हरेक दिन रातिको समय हिँड्छु । चितुवा नभेटेको दिनै हुँदैन । धन्न अहिलेसम्म बाँचिएको छ । कुन दिन मर्ने हो थाहा छैन ।’ राजापुर क्षेत्रमा वन्यजन्तुको समस्या समाधानको प्रतिबद्धता अहिलेको आवश्यकता रहेको कार्कीले बताए । आफ्नो टोलमा करिब ४ सय जना मतदाता रहेको बताउँदै उनले मत माग्न आउने उम्मेदवारसँग मानव–वन्यजन्तु द्वन्द्व नियन्त्रणको प्रतिबद्धता खोज्ने गरेको बताए । बाजुराबाट बसाइँसराइ गरेर राजापुर झरेका नागरिकहरूको बाहुल्य रहेको बाजुरा टोलका नागरिकहरूले लिखित प्रतिबद्धता नभई भोट नहाल्ने बताएका छन् ।
राजापुर–७ भालुफाँटा बस्तीका नागरिक वन्यजन्तुको आतंकबाट आजित भएको बतउँछन् स्थानीय धनबहादुर टमाटा । उनका अनुसार मध्यवर्ती क्षेत्रका नागरिकहरूको सुरक्षाका लागि राज्यले नीतिगत रूपमा काम गर्नुको विकल्प छैन । आफ्नो क्षेत्रबाट जित्नेहरूले वन्यजन्तुको आतंक नियन्त्रणको बाचा गरे पनि अहिलेसम्म प्रतिबद्धता पूरा नगरेको उनले बताए । ‘राज्य र उम्मेदवारसँग हाम्रा धेरै ठूला माग छैनन् । वन्यजन्तुको आक्रमणबाट बच्न नागरिकको सुरक्षाको लागि तारबार गरियोस्,’ उनले भने ।
बारबर्दिया नगरपालिका–११ बेलभारकी किसान माधु थारू आफूहरूलाई चुनावभन्दा वन्यजन्तुबाट ज्यान जोगाउने चिन्ता रहेको बताउँछिन् । उनले भनिन्, ‘वन्यजन्तु नियन्त्रणका लागि व्यवस्थापन नगरेसम्म उम्मेदवारलाई भोट दिन्नौँ । चितुवाको त्रासले गाउँ साँझ नपर्दै सुनसान हुने गरेको छ । रातिसम्म एक्लै खेतमा काम गर्ने किसान आजभोलि समूह बनाएर मात्रै जान सकेका छौँ ।’
आफूहरूले यसपालि वन्यजन्तुको व्यवस्थापनसहित मानव वन्यजन्तु द्वन्द्व समाधान गर्नेलाई भोट दिने मनसायमा रहेको उनले सुनाइन् । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएका गेरुवा गाउँपालिका, ठाकुरबाबा, मधुवन, बारबर्दिया र राजापुर नगरपालिका क्षेत्रमा मानव–वन्यजन्तु द्वन्द्व दैनिकीजस्तै बनेको छ । सल्यानको कालीमाटी गाउँपालिका वडा नम्बर ५ की स्थानीय पवित्रा बिसी भोट माग्न घरदैलोमा आउने उम्मेदवारलाई प्रश्न गर्छिन्, ‘तपाईँलाई भोट हाल्दा वन्यजन्तुबाट हाम्रो ज्यान जोगिन्छ ।
त्यसको लागि तपाईँको योजना के छ ? वन्यजन्तु नियन्त्रण गरी नागरिकको ज्यानको सुरक्षा गर्ने तपाईँको प्राथमिकता छ की छैन् ?’ उनका अनुसार बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रसँग जोडिएको कालीमाटीका नागरिक विगतदेखि वन्यजन्तुको आतंकको सिकार भइरहेका छन् । बाघ र चितुवा लगायतका वन्यजन्तुका कारण बालीनाली, घरपालुवा जनावर र नागरिकको ज्यान नै असुरक्षामा रहेको उनी बताउँछिन् ।
यसपटक वन्यजन्तुको समस्या समाधानको प्रतिबद्धता व्यक्त गर्ने उम्मेदवारलाई भोट दिने मनसायमा रहेको उनको भनाइ छ । उनले भनिन्, ‘बाघका कारण धेरै नागरिकले ज्यान गुमाए । बाँचेका नागरिकको कतिबेला ज्यान जाने हो भन्न सकिने अवस्था छैन । त्यसैले यसपटक हामीलाई आश्वासन होइन प्रतिबद्धता चाहिएको छ ।’ बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रअन्तर्गत मध्यवर्ती क्षेत्रका नागरिकहरूले लामो समयदेखि सास्ती भोगिरहेको रहेको कोहलपुर–१३ का दुर्गाबहादुर रावलको भनाइ छ ।
हरेक चुनावमा उम्मेदवारहरूले वन्यजन्तुको आतंक प्राथमिकतामा पर्ने गरे पनि कार्यान्वयन नहुने समस्या रहेको उनले बताए । स्थानीय रावलका अनुसार मध्यवर्ती क्षेत्रका नागरिकहरूले वन्यजन्तुका कारण हैरानी व्यहोर्दै आएका छन् । ‘चुनावको बेलामा जनताको घरदैलोमा पुग्दा उम्मेदवार आश्वासन बाँड्छन् । चुनाव जितेर गएपछि गाउँ पनि आउँदैनन् । मुद्दा पनि बिर्सिन्छन्,’ उनले भने । अहिले घरदैलोमा भोट माग्ने आउने उम्मेदवारलाई आफूले चुनावी एजेन्डा र प्रतिबद्धता खोज्ने गरेको उनले बताए ।
राप्तीसोनारी ९ का स्थानीयसमेत रहेका शिक्षक कविन्द्र परियार मध्यवर्ती क्षेत्रभित्रका नागरिकको हरेक समय त्रासमै बित्ने गरेको बताउँछन् । निकुञ्ज क्षेत्रभित्र हरेक वर्षजस्तो नागरिकले ज्यान गुमाउँदै आएको बताउँदै उनले राज्यले उनीहरूको समस्याको समाधान गर्न नसकेको बताए । आसन्न निर्वाचनमा उम्मेदवारहरूको प्राथमिकता वन्यजन्तुको आंतक न्यूनीकरणलाई प्राथमिकता दिनुपर्ने उनको भनाइ छ ।
‘मानव–वन्यजन्तु द्वन्द्व जटिल समस्या बन्दै गएको छ । यो समस्या समाधानको विकल्प छैन । उम्मेदवारहरूले विगतमा पनि प्रतिबद्धता जनाउँदै आएका छन् । तर, प्रतिबद्धता पूरा नभएका छैनन् । यसपटक मतदाताहरूले उम्मेदवारहरूलाई यस विषयमा प्रश्न गरिरहेका छन्,’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै उनले भने ।
बाँके र बर्दिया ः यस्ता छन् उम्मेदवारका प्रतिबद्धता
बर्दिया २ का नेपाली काँग्रेसका उम्मेदवार किशोरसिंह राठौर जंगली जनावर र समग्र क्षेत्रको समस्या समाधान आफ्नो प्रमुख लक्ष्य भएको बताउँछन् । उक्त क्षेत्रको समस्या समाधानका लागि नीतिगत सुधार आवश्यक रहेको उनको भनाइ छ । नेकपा एमालेकी उम्मेदवार विमला विक बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रका नागरिकहरूका समस्यासँग आफू परिचित रहेको र आफूले जितेमा त्यहाँका समस्या समाधान आफ्नो प्रमुख प्राथमिकता हुने बताउँछिन् ।
उनले भनिन्, ‘निकुञ्ज अहिले हाम्रो दुश्मनजस्तो भएको छ । निकुञ्जबाट हामीले फाइदा पाएका छैनौँ । नोक्सानी मात्रै व्यहोर्नु परेको छ । निकुञ्ज हाम्रो समस्या होइन यहाँका नागरिकको सम्पत्ति हुनुपर्छ ।’ नेकपाका उम्मेदवार सुरेश पन्थका अनुसार वन्यजन्तुका कारण मानिसहरूको अकालमा ज्यान गइरहेको छ । मानव–वन्यजन्तु नियन्त्रण आफ्नो प्रमुख योजना रहेको उनले सुनाए । यस्तै रास्वपा उम्मेदवार श्रीधर पोखरेलले निकुञ्ज आसपासको क्षेत्रको वातावरणलाई पर्यापर्यटन, सुशासन र द्वन्द्व न्यूनीकरणसँग जोडेका छन् ।
बाँकेका तीनवटा निर्वाचन क्षेत्रमध्ये मानव–वन्यजन्तु द्वन्द्वबाट प्रभावित क्षेत्र बाँके क्षेत्र नम्बर १ हो । यस क्षेत्रका कोहलपुर र राप्ती सोनारीका साथै सल्यान र दाङको भूभागसमेत जोडिएकोले त्यहाँका नागरिकसमेत प्रभावित हुँदै आएका छन् । बाँके क्षेत्र नम्बर १ का नेकपा एमालेका उम्मेदवार सूर्यप्रसाद ढकाल मध्यवर्ती क्षेत्रका नागरिकहरूले वन्यजन्तुको कारण त्रास भोगिरहेको भन्दै बस्ती स्थानान्तरणको विकल्पमा जान सकिने बताउँछन् ।
आफूले अघिल्लोपटक चुनाव जित्दा निर्वाचन क्षेत्रका समस्याका विषयमा सदनमा पटकपटक बोलेको उनले बताए । वन्यजन्तुबाट जनतालाई सुरक्षित गर्न निकुञ्ज क्षेत्रमा तारबार गर्नुपर्ने आफ्नो योजना रहेको उनले बताए । यसपटकको पनि आफ्नो प्रमुख चुनावी एजेन्डा वन्यजन्तुको समस्या समाधान रहेको ढकालको भनाइ छ ।
नेपाली काँग्रेसका उम्मेदवार नारायणप्रसाद गौडेलसमेत आफ्नो प्रमुख मुद्दा नै मानव–वन्यजन्तु द्वन्द्वबाट सिर्जिन समस्याको दिगो व्यवस्थापन रहेको बताउँछन् । उनले भने, ‘म विगतदेखि नागरिकसँगै मिलेर काम गर्दै आइरहेको छु । जनताका समस्याका विषयमा जानकार छु । मानव—वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे म गम्भीर छु ।’ नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे (जेम्स) जनताका प्रमुख समस्याहरूको समाधानको लागि संसद्मा बाघ झैँ गर्जिने बताउँछन् ।
‘चुनाव प्रचारका लागि जाँदा जनताले वन्यजन्तुको समस्या समाधानको विषयमा जोडका साथ उठाइरहेका हुन्छन् । वास्तवमै यो समस्या जटिल छ । यो विषय समाधानका लागि मेरो प्राथमिकता रहनेछ,’ पाण्डे बताउँछन् । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुरेशकुमार चौधरी पनि वन्यजन्तु आतंक न्यूनीकरणका लागि नागरिकसँग करार सम्झौता गर्न तयार रहेको बताउँछन् । श्रम संस्कृति पार्टीका उम्मेदवार भरतनिधि तिवारीले आफ्नो घोषणापत्रमा अव्यवस्थित निकुञ्जको विकल्प खोज्ने बुँदा समावेश गरेका छन् ।
वन्यजन्तुबाट पीडित नागरिकका गुनासा सुन्दैन सरकार
गत पुस महिनामा एकैसातामा तीनजना नागरिकको पाटेबाघले ज्यान लिएपछि कालीमाटी गाउँपालिकाले विज्ञप्ति जारी गरेरै प्रचलित कानुनबमोजिम बाघ मार्ने आदेश तत्काल जारी गरिदिन डिभिजन वन कार्यालय सल्यानलाई आग्रह गरेको थियो । गाउँपालिकाको आग्रहबमोजिम डिभिजन वन कार्यालयले केही दिनपछि बाँके राष्ट्रिय निकुञ्जलाई प्रचलित कानुनबमोजिम बाघ मार्न वा नियन्त्रणमा लिन आदेश दियो ।
कार्यालयको आदेशपछि निकुञ्जले नरभक्षी बाघ नियन्त्रण लिने प्रयास गरे पनि हालसम्म पनि पक्रन सकेको छैन । त्यसो त बाँके र बर्दियामा वन्यजन्तुबाट नागरिकको ज्यान गएपछि बाघको खोजी हुने पनि विरलै भेटिने गर्छन् । यसअघि बाँकेको राप्ती सोनारी र बर्दियामा नागरिकहरूले राज्यले मान्छेभन्दा बाघलाई बढी प्राथमिकता दिने गरेको आरोप लगाएका थिए । उनीहरूको भनाइ थियो, ‘राज्यले मान्छेको भन्दा बाघलाई प्राथमिकता दिइरहेको छ । के हाम्रो जीवनको बाघको जतिको मूल्य छैन ।’
वन्जयजन्तुको आतंक बाँकेभन्दा बर्दियामा बढी छ । डिभिजन वन कार्यालय बर्दियाका अनुसार साउनयता बर्दियामा चितुवाको आक्रमणबाट सातजना, एक जनाको पाटेबाघको आक्रमण र दुई जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छ । चालू आर्थिक वर्षमा मात्रै बर्दियाको बारबर्दिया नगरपालिकामा मात्रै चितुवाको आक्रमणबाट ६ जनाको ज्यान गएको छ ।
बारबर्दियामा दुई वडाका ६ जनाको चितुवाले ज्यान लिएपछि आक्रोशित स्थानीयले साताअघि जिल्ला प्रशासन कार्यालयमा प्रदर्शन पनि गरेका थिए । नेकपा एमाले बर्दिया र प्रगतिशील लोकतान्त्रिक पार्टी बर्दियाले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका थिए ।
दुवै पार्टीको माग थियो, ‘बाघको सङ्ख्या यकिन गर्नुका साथै बाघ आवातजावत गर्ने क्षेत्रमा तत्काल सुरक्षा व्यवस्था कायम गर्न, मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि निकुञ्ज, प्रशासन, समुदाय र स्थानीय सरकारबीच समन्वय बढाउन, बाघ नियन्त्रण तथा स्थानान्तरणसम्बन्धी प्रभावकारी कदम चाल्न, वन्यजन्तुपीडित परिवारलाई रोजगारीको ग्यारेन्टी गरियोस् ।’ यस्तै बर्दियाका नागरिकले काठमाडौँमा समेत वन्यजन्तुको समस्या समाधानका लागि प्रदर्शन गरेका थिए ।








प्रतिक्रिया दिनुहोस्