‘मतदाताले कामको मूल्यांकन गरिरहेका छन्’



कैलाली ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कैलाली क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गौरीशंकर थारूले आफूले विगतमा इमान्दारीपूर्वक काम गरेको दाबी गर्दै मतदाताले सकारात्मक मूल्यांकन गरिरहेको बताएका छन् । २०७० र २०७४ सालमा सांसद भइसकेका थारूले २०७४ मा एमालेबाट निर्वाचित भएपछि कैलाली क्षेत्र नम्बर ३ मा सडक, कल्भर्ट, पुल, तटबन्धन तथा विद्युत् विस्तारजस्ता आधारभूत पूर्वाधारमा उल्लेखनीय पहल गरेको दाबी गरे ।

प्रेस चौतारी कैलालीको आयोजनामा प्रेस चौतारीसँग उम्मेदवार कार्यक्रममा थारूले भने, ‘म अहिले घरदैलो अभियानमा छु । मतदातासँग प्रत्यक्ष भेटघाट भइरहेको छ । मैले विगतका वर्षमा शिक्षा, स्वास्थ्य, कृषि लगायतका क्षेत्रमा गरेका कामका आधारमा मतदाता मप्रति सकारात्मक छन् । उहाँहरू खुसी हुनुहुन्छ । मैले इमान्दारीपूर्वक काम गरेकाले नै जनताले साथ दिनुहुन्छ भन्ने विश्वास लिएको छु ।’

आफू नौ महिना कृषिमन्त्री रहँदा कृषि आधुनिकीकरण परियोजना अघि बढाएको स्मरण गर्दै थारूले भने, ‘कृषि हाम्रो क्षेत्रको मुख्य आधार हो । मैले मन्त्री हुँदा कृषि आधुनिकीकरण परियोजना ल्याएँ । अहिले ब्लक र पकेट क्षेत्रहरू सञ्चालनमा छन् । किसानहरूले प्रत्यक्ष लाभ पाएका छन् । कोल्ड स्टोर स्थापना भएको छ । उत्पादन भण्डारण र बजारीकरणमा सहजता आएको छ ।’

उनले यस क्षेत्रमा पिठो उद्योग सञ्चालन हुन नसक्नु दुःखद पक्ष भएको उल्लेख गर्दै स्थानीय उत्पादनलाई प्रशोधन र बजारीकरणसँग जोड्न थप पहल गर्ने प्रतिबद्धता जनाए । ‘हामीले उत्पादन बढायौँ, तर प्रशोधन उद्योग पर्याप्त रूपमा सञ्चालन हुन सकेनन् । यो क्षेत्रको कमजोरी हो । अब स्थानीय उद्योगलाई प्रवद्र्धन गरेर कृषिलाई आत्मनिर्भर र व्यावसायिक बनाउने योजना छ,’ उनले भने ।

थारूका अनुसार २०७० अघि मुख्य राजमार्गबाहेक ग्रामीण क्षेत्रमा विद्युत् विस्तार कमजोर अवस्थामा थियो । आफू सांसद बनेपछि व्यापक विद्युतीकरण गरिएको उनले बताए । ‘पहिले मुख्य राजमार्ग आसपास मात्र विद्युत् थियो । गाउँ–गाउँमा अँध्यारो थियो । म सांसद भएपछि विद्युतीकरणको काम अघि बढ्यो । धेरै बस्तीमा बिजुली पुगेको छ,’ उनले भने ।

उनले झोलुङ्गे पुल निर्माण, नदी कटान रोक्न तटबन्धन, ग्राभेल सडक तथा कल्भर्ट निर्माणलाई आफ्नो कार्यकालको उपलब्धि बताए । ‘हामीले झोलुङ्गे पुल बनायौँ, नदी कटान रोक्न तटबन्धन ग¥यौँ । धेरै ग्राभेल सडक र कल्भर्ट बने । दुर्गम बस्तीलाई जोड्ने काम भयो । अझै केही अधुरा काम छन्, ती पूरा गर्न प्रतिबद्ध छु,’ थारूले भने ।

थारूले विशेषगरी रानीजमरा–कुलरिया सिँचाइ आयोजनालाई पूर्णरूपमा सञ्चालनमा ल्याउने आफ्नो प्राथमिकता रहेको बताए । ‘रानीजमरा–कुलरिया सिँचाइ आयोजना यस क्षेत्रको जीवनरेखा हो । यसलाई प्रभावकारी रूपमा सुचारु गराउन म निरन्तर पहल गर्नेछु । किसानको खेतमा पानी पुगे मात्रै समृद्धि सम्भव छ,’ उनले भने ।

साथै २०७९ पछि निर्वाचित जनप्रतिनिधिहरूले विकास निर्माणका अधुरा योजनालाई अपेक्षित प्राथमिकता नदिएको उनको आरोप छ । ‘२०७४ मा निर्वाचित जनप्रतिनिधिले जनताको पक्षमा काम गरे । तर २०७९ पछि निर्वाचित प्रतिनिधिबाट विकासका अधुरा योजना पूरा गर्न पर्याप्त ध्यान दिइएन । निरन्तरता नहुँदा जनताले दुःख पाएका छन्,’ उनले भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ फागुन १० गते आइतबार