काठमाडौँ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासँन)ले राजनीतिक दलका घोषणापत्रमा खानेपानी तथा सरसफाइका मुद्दालाई प्राथमिकताका साथ समेट्न आग्रह गरेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा महासंघले प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ लाई लक्षित गर्दै सुरक्षित खानेपानी र सरसफाइलाई नागरिकको आधारभूत अधिकारका रूपमा सुनिश्चित गर्न नीतिगत प्रतिबद्धता आवश्यक रहेको जनाएको छ । महासंघका अध्यक्ष राजेन्द्र अर्यालले संविधानले सुनिश्चित गरेको खानेपानी तथा सरसफाइको अधिकारलाई पार्टीका घोषणापत्रमा समावेश गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए ।

‘फ्रेसवाटर एक्सन नेटवर्क साउथ एसिया नेपाल’ (फान्सा) का प्रवक्ता डा कृष्ण धितालले खानेपानीलाई सबै राजनीतिक दलले मुख्य ‘एजेन्डा’का रूपमा अघि बढाउनुपर्ने बताए । पत्रकार सम्मेलनमा महासंले राजनीतिक दलका घोषणापत्रमा समेटिनुपर्ने विभिन्न नीतिगत तथा कार्यक्रमगत प्रस्ताव सार्वजनिक गरेको छ । जसअनुसार विद्यमान कानुनहरूको पुनरावलोकन गरी सुधारका क्षेत्र पहिचान गर्ने, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा लगाइँदै आएको कर हटाई यस क्षेत्रलाई करमुक्त घोषणा गर्ने तथा खानेपानीमा लाग्ने विद्युत् महसुल छुट गर्ने प्रस्ताव गरेको छ ।
महासंघले सेवा गुणस्तर र शुल्क संरचनाको अनुगमनका लागि स्वतन्त्र नियामक निकाय स्थापना, निरीक्षकको भूमिका निर्धारण तथा प्रत्येक दुई वर्षमा संयुक्त क्षेत्र समीक्षा नियमित गर्नुपर्ने सुझाव दिएको छ । त्यस्तै, ७५३ वटै स्थानीय तहमा ‘वास योजना’ अनिवार्य रूपमा तर्जुमा गरी सोही अनुसार बजेट विनियोजन गर्ने, प्रदेश र स्थानीय तहमा खानेपानी तथा सरसफाइसम्बन्धी ऐन तथा नियमावली निर्माण गर्ने तथा दिगो विकास लक्ष्य २०३० अनुरूप सार्वभौमिक तथा सुरक्षित सेवा पहुँचका लागि रणनीति बनाउने माग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्