हिमपात र वर्षाले किसानमा खुसी



हिमपातले गाउँबस्ती र डाँडाकाँडा सेताम्य बनेका छन् । लामो समयदेखि खडेरीको चिन्तामा रहेका कृषकहरूले भने यस पटकको वर्षा र हिमपातलाई काईदाको रूपमा लिएका छन् । तर अत्यधिक चिसो र हिमपातले हवाई तथा यातायात सेवा प्रभावित पार्नुका साथै दैनिक जनजीवन कष्टकर बनेको छ ।

हुम्लाको नाम्खा गाउँपालिका-६ लिमी उपत्यकास्थित हल्जी गाउँलगायत आसपासको क्षेत्र भएको हिमपात । तस्बिरः दाने बोहरा/रासस

नन्दराम जैशी । सुर्खेत ।

नेपालमा न्यून चापीय प्रणालीको प्रभावका कारण देशभर मौसम बदली भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बुधबार बिहानैदेखि देशका हिमाली जिल्लामा वर्षासँगै भारी हिमपात भएको हो । पहाडी तथा तराईका केही जिल्लाहरूमा वर्षा भएको थियो । विभागका अनुसार कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा भारी हिमपात भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशका बैतडी र बाजुरा, लुम्बिनी प्रदेशको रूकुम पूर्व तथा गण्डकी प्रदेशका बागलुङ, मनाङ र म्याग्दी जिल्लामा समेत भारी हिमपात भएको हो । उक्त जिल्लाहरूमा हिमपातले गाउँबस्ती र डाँडाकाँडा सेताम्य बनेका छन् । लामो समयदेखि खडेरीको चिन्तामा रहेका कृषकहरूले भने यस पटकको वर्षा र हिमपातलाई काईदाको रूपमा लिएका छन् ।

तर अत्यधिक चिसो र हिमपातले हवाई तथा यातायात सेवा प्रभावित पार्नुका साथै दैनिक जनजीवन कष्टकर बनेको छ । यस पटकको हिमपात हिउँदे बाली उत्पादनका लागि काईदा भएको हुम्ला खार्पनाथका किसान टंक शाहीको भनाइ छ । लामो समयपछि पर्याप्त हिमपात हुँदा हिउँदेबाली सप्रिने भन्दै उनले खुसी व्यक्त गरे ।

हिमपातका कारण जमिनमा आवश्यक चिस्यान कायम हुने हुदाँ गहुँ, जौ, उवा लगायत का हिउँदेबाली उत्पादनमा बृद्धि हुने कृषि विज्ञ धनबहादुर कठायत बताउँछन् । विगत केही महिनायता खडेरी परेपनि यसपटकको बाक्लो हिमपातले राहत मिल्ने उनको भनाइ छ । ‘कर्णालीमा हिमपात र कृषि क्षेत्रको पारस्परिक सम्बन्ध छ । हिमपातले जमिन उर्वर बनाउनुका साथै कीरा–फट्याङ्ग्रा नियन्त्रणमा पनि सहयोग पु¥याउँछ’ उनले भने, ‘गतभदौ महिनायता वर्षात् नभएको कर्णालीमा यस पटकको हिउँ गत वर्षभन्दा धेरै परेको छ ।’

यतीबेला जौँ बालीलाई चाहिने आवश्यक सिँचाई हिउँले पुर्ति गरेको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए । उनका अनुसार पछिल्ला वर्षहरूमा हिउँ ढिला पर्दा स्याउ बगैचा व्यवस्थापनदेखी अन्य बालीनालीमा समस्या हुने गरेको थियो । फागुनमा नयाँ स्याउका विरुवा रोप्नका लागि माटोमा चिस्यान कायम राख्न पनि यस पटकको हिउँले महत्वपूर्ण काम गर्ने उनको भनाइ छ ।

कष्टकर बन्दै जनजीवन

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नं २ काइगाउँमा भएको हिमपात । मङ्गलबार रातिदेखि तल्लो डोल्पाको मध्यम र माथिल्लो डोल्पामा भारी हिमपात हुँदा जनजीवन कष्टकर बनेको छ। तस्बिरः लेखबहादुर बुढा/रासस

हिमपातले हिउँदे बालीलाई फाइदा हुने भन्दै रूकुम पूर्वका किसान पनि खुसी भएका छन् । तर हिमपातका कारण अध्यधिक चिसोले रूकुम पूर्वको जनजीवन प्रभावित भएको जिल्ला प्रहरी प्रमुख डीएसपी उमाशंकरप्रसाद यादवले बताए । यस्तै बागलुङ जिल्लाको उपल्लो क्षेत्र ढोरपाटन उपत्यकाको–९ र निसीखोला गाउँपालिका–३ मा करिब डेढ फिट अग्लो परेको हिमपातले कृषिमा फाइदा गरेपनि त्यहाँको जनजीवन कष्टकर बनेको छ ।

ढोरपाटन नगरपालिका कार्यबाहक अध्यक्ष धन बहादुर कायतले हिमपातले मानिससँगै वस्तुभाउलाई समेत सकस पारेको बताए । यता हिमाली जिल्ला मनाङको माथिल्लो भेगका खाङसार, मनाङ गाउँ, टंकी मनाङ गाउँ, घ्यारु, ङावल लगायत गाउँ हिउँले ढाकिएका छन् । त्यहाँ करिब एक फिट जति हिउँ परेको छ । प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालका अनुसार खेती गर्ने बेला भएकाले हिउँपर्दा किसानहरू खुसी भएका छन् ।

भने हिउँ खेल्न आउने आन्तरिक तथा बाह्य पर्यटक पनि बढेका छन् । तर अत्यधिक हिउँ परेपछि गाउँलेहरू, तिलिचो ताल र थोरङ्ला जाने पर्यटक प्रभावित भएका छन । उनीहरूलाई अहिले गन्तव्यमा जान रोक लगाईएको उनले बताए । मौसमविद्हरूले आगामी केही दिनसम्म हिमाली क्षेत्रमा मौसम बदली नै रहने सम्भावना रहेको जनाउँदै आवश्यक सतर्कता अपनाउन आग्रह गरेका छन् ।

ठाउँ–ठाउँमा सडक अवरुद्ध

हिमपातको कारण हुम्लाको सिमकोट गाउँपालिका- ४, कर्णाली करिडोर सडकखण्ड अन्तर्गत कालाढुङ्गास्थित सडकमा फसेको सदरमुकाम सिमकोट आउँदै गरेको सवारी साधन र उक्त साधन निकाल्न सडकको हिउँ पन्छाउँदै सुरक्षाकर्मी । तस्बिरः दाने बोहरा/रासस

हिमपातका कारण कर्णाली राजमार्गको नाग्म–गमगढी सडक, मध्यपहाडी लोकमार्ग र म्याग्दी गुर्जा जोड्ने पदमार्ग र सडक अवरुद्ध भएका छन् । सडक अवरुद्ध हुदाँ यी सडकमा आउजाउ गर्ने सवारी साधान तथा यात्रुहरू बाटोमै अलपत्र परेका छन् । सडकमा बाक्लो हिउँ जमेपछि कर्णाली राजमार्गको सिञ्जादेखि मुगु र राराताल जाने यात्रु तथा पर्यटकहरू अलपत्र परेका हुन् ।

पहिलो पटक हिमपात हुँदा दुई दिन अवधिमा डोजर लगाएर खुलाइएको यो सडक दोस्रो पटकको हिमपातले पुनः अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय जुम्ला र स्थानीय प्रशासनले जोखिम मोलेर यात्रा नगर्न आह्वान गरेका छन् । तर हिउँ रोकिएपछि डोजर लगाएर पन्छाउन सुरु गरिएको सडक डिभिजन कार्यालयका फिल्ड कर्मचारी तुलराज उपाध्यायले जानकारी दिए ।

हिउँले मुगुदेखि जुम्ला, सुर्खेत र नेपालगन्ज जाने सवारीसाधन चल्न सकेका छैनन् । भने नेपालगन्ज, सुर्खेत र जुम्लाबाट मुगु जाने गाडीहरू समेत बीचैमा रोकिएका छन् । यस्तै वर्षासँगैको हिमपातले मध्यपहाडी लोकमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको छ । बागलुङ र पूर्वी रूकुमको सिमाना पाती हाल्ने क्षेत्रमा भारी हिमपात हुँदा बाटोअवरुद्ध भएको हो ।

लोकमार्ग अवरुद्ध हुँदा सयौँ यात्रु अलपत्र परेका छन् । लोकमार्ग खवरुद्ध हुँदा लामो तथा छोटो दूरीका सावारी साधान ठप्प भएको इलाका प्रहरी कार्यालयका प्रमुख तिलक मानन्धरले जानकारी दिए । तत्काल सडक सञ्चालन हुने सम्भावना न्यून रहेको उनले बताए । उनका अनुसार काठमाडौंबाट रूकुम, जाजरकोट, डोल्पालगायत स्थानका निम्ति छुटेका सवारीसाधन निसीखोला गाउँपालिका–६ भल्कोट सिपमा रोकिएका छन् ।

यता म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जा र अन्नपूर्ण गाउँपालिका–६ घोडेपानीमा परेको बाक्लो हिमपातका कारण गुर्जा जोड्ने पदमार्ग र सडक अवरुद्ध भएको छ । समुद्री सतहदेखि दुई हजार सात सय मिटर उचाईमा रहेको यो स्थानमा सवारी आउजाउ गर्न सकस परेको स्थानीयवासी भुपेन्द्र शर्माले बताए ।

हवाइ सेवा प्रभावित

कर्णाली प्रदेशका हिमाली जिल्ला जुम्ला, हुम्ला, मुगु र डोल्पामा भारी हिमपात भएपछि हवाइ सेवा प्रभावित बनेको छ । लगातार परेको हिमपात र खराब मौसमका कारण ती जिल्लामा हुने नियमित उडानहरू रद्द तथा स्थगित भएका छन् । हिमपातका कारण धावनमार्गमा हिउँ जम्नुका साथै दृश्यता कमजोर हुँदा हवाई सुरक्षालाई मध्यनजर गर्दै उडान रोकिएको बताइएको छ ।

यसले ती जिल्लामा आवतजावत गर्ने यात्रु, सरकारी कर्मचारी तथा आपतकालीन सेवाका बिरामीमा समेत असर परेको छ । हवाइ सेवा अवरुद्ध हुँदा खाद्यान्न, औषधि तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत कठिनाइ देखिएको स्थानीयवासीले बताएका छन् । मौसममा सुधार आएपछि उडान पुनः सञ्चालन गरिने नागरिक उड्ययन कार्यालय नेपालगन्जले जनाएको छ ।

यस्तै खराब मौसम र कम भिजिबिलिटीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समेत बुधबार दिउसो उडान तथा अवतरण प्रभावित बनेको थियो । भिजिबिलिटी कम हुँदा केही अन्तर्राष्ट्रिय उडानहरू डाइभर्ट भएका थिए । भने केही जहाजलाई आकाशमै होल्ड गरिएको थियो ।
त्रिभुवन विमानस्थलका निमित्त महाप्रबन्धक टेकनाथ सिटौलाका अनुसार एयर इन्डियाका दुईवटा जहाजहरू भिजिबिलिटी कम भएका कारण अवतरण गर्न नसकी डाइभर्ट भएका थिए ।

ती जहाजहरूका लागि आवश्यक पर्ने न्यूनतम भिजिबिलिटी नभएपछि डाइभर्ट गरिएको उनले बताए । यस्तै चीनबाट आएको चाइना साउदर्न र दोहाबाट आएको नेपाल वायुसेवा निगमको वाइड बडी विमानलाई सिमराको आकाशमा केही समय होल्ड गरिएको थियो । निगमको जहाज झन्डै आधा घण्टाभन्दा बढी समय होल्डमा बसेको थियो । मौसममा क्रमिक सुधार आएसँगै भिजिबिलिटी पुगेपछि होल्डमा रहेका जहाजहरू अवतरण भएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ माघ १५ गते बिहीबार