ज्येष्ठ नागरिकलाई कम्बल वितरण



कैलाली ।

मंसिरको अन्त्यसँगै चिसो बढ्दै जाँदा बिहान–बेलुका घरबाहिर निस्कनै कठिन हुन थालेको छ । तर, शुक्रबार धनगढी उपमहानगरपालिका वडा नम्बर ४ को वडा कार्यालय परिसरमा भने चिसो मौसमबीच पनि न्यानोपन र आत्मीयताको वातावरण देखिन्थ्यो । कारण थियो–ज्येष्ठ नागरिक दिवसको अवसरमा आयोजना गरिएको न्यानो कम्बल वितरण कार्यक्रम ।

बढ्दो जाडोमा राहत पाउने आशाले बिहानैदेखि ज्येष्ठ नागरिकहरू वडा कार्यालय पुग्न थालेका थिए । कोही लठ्ठी टेकेर, कोही छोराछोरीको साथमा त कोही आफैँ विस्तारै हिँड्दै आएका थिए । उनीहरूमध्ये एक थिए मिठ्ठु स्वार । धनगढी–४ का स्थायी बासिन्दा स्वारले कम्बल वितरण हुँदैछ भन्ने थाहा पाएपछि वडा कार्यालय पुगेका थिए ।

‘चिसो बढ्दै गएको छ, यस्तो बेला कम्बल ठूलो राहत हुन्छ,’ उनले भावुक हुँदै भने, ‘वडाले गरेको यो काम निकै सराहनीय छ । यस्ता कार्यक्रम निरन्तर भइरहनुपर्छ ।’ मिठ्ठु स्वार जस्तै धेरै ज्येष्ठ नागरिकका लागि जाडो केवल मौसमको समस्या होइन, स्वास्थ्य र जीवनशैलीसँग जोडिएको चुनौती हो । वृद्ध उमेर, कमजोर शरीर र सीमित आम्दानीका कारण न्यानो कपडा जुटाउन कठिन हुने अवस्थालाई स्थानीय सरकारले बुझ्नु सकारात्मक भएको उनीहरू बताउँछन् ।

बोराडाँडी टोलमा बसोबास गर्दै आएका पदमप्रसाद पाण्डे पनि कम्बल पाउने ज्येष्ठ नागरिकको सूचीमा थिए । हातमा कम्बल समाउँदै उनले खुसी लुकाउन सकेनन् । ‘यस्तो बेला वडाले सम्झिनु नै ठूलो कुरा हो,’ उनले भने, ‘हामीलाई राज्य र समाजले अझै बेवास्ता गरेको छैन भन्ने अनुभूति भयो ।’ कार्यक्रमको मुख्य आकर्षण थियो–वडा अध्यक्ष बुद्धिबहादुर खडकाले स्वयं ज्येष्ठ नागरिकलाई कम्बल ओढाइदिँदै वितरण गर्नु।

अध्यक्ष खडका एक–एकजना ज्येष्ठ नागरिकसँग हात मिलाउँदै, स्वास्थ्य अवस्था बुझ्दै कम्बल प्रदान गरिरहेका थिए । औपचारिकता भन्दा पनि अपनत्व झल्किने दृश्यले उपस्थित सबैलाई भावुक बनाएको थियो । धनगढी–४ को एकता टोलका करुणाकर भट्टले कम्बल वितरण कार्यक्रमले ज्येष्ठ नागरिकलाई तत्कालीन राहत दिएको बताए । ‘कम्बल वितरण राम्रो काम हो,’ उनले भने, ‘यसले चिसोबाट बच्न सहयोग गर्छ । तर, दीर्घकालीन रूपमा ज्येष्ठ नागरिकलाई गुणस्तरीय औषधि, नियमित स्वास्थ्य जाँच र उपचार सहज–सुलभ रूपमा उपलब्ध गराउने व्यवस्था पनि आवश्यक छ ।’

उनको भनाइले कार्यक्रमको सकारात्मक पक्षसँगै सुधारका सम्भावनातर्फ पनि संकेत गरेको थियो । धेरै ज्येष्ठ नागरिक दीर्घरोगी हुने भएकाले स्वास्थ्य सेवा उनीहरूको प्रमुख आवश्यकता रहेको स्थानीयहरूको साझा आवाज थियो । कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष बुद्धिबहादुर खड्काले वडाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।

‘ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, एकल महिला र बालबालिकाका लागि विभिन्न सामाजिक गतिविधि सञ्चालन गरिरहेका छौँ,’ उनले भने, ‘यो कम्बल वितरण पनि त्यही प्रयासको एक हिस्सा हो ।’ उनले वडाभित्र रहेका सबै ज्येष्ठ नागरिकलाई कम्बल उपलब्ध गराइने प्रतिबद्धता जनाए । ‘कतिपय ज्येष्ठ नागरिक अशक्त हुन सक्छन्, वडा कार्यालयसम्म आउन नसक्ने अवस्था पनि हुन सक्छ,’ अध्यक्ष खड्काले भने, ‘उनीहरूलाई यही महिनाको २० गतेभित्र घरमै पुगेर कम्बल उपलब्ध गराइनेछ ।’

स्थानीय तहको सानो प्रयासले पनि नागरिकको जीवनमा ठूलो प्रभाव पार्न सक्छ भन्ने उदाहरण यो कार्यक्रमले देखाएको छ । जाडोको मौसममा न्यानो कम्बल केवल वस्तु मात्र होइन, सम्मान र हेरचाहको प्रतीक बनेको छ । कार्यक्रममा सहभागी ज्येष्ठ नागरिकहरूको अनुहारमा देखिएको सन्तोष र मुस्कानले यो पहलको महत्व प्रष्ट झल्काउँथ्यो । सामाजिक सुरक्षाका कार्यक्रमहरू कागजमै सीमित नभई व्यवहारमा देखिन थालेको अनुभूति उनीहरूले गरेका थिए ।

बढ्दो महँगी र बदलिँदो सामाजिक संरचनाबीच ज्येष्ठ नागरिकहरू आफैँलाई एक्लो महसुस गर्ने अवस्था बढ्दै गएको छ । यस्तो समयमा स्थानीय सरकारले उनीहरूको आवश्यकता पहिचान गरी सहयोग गर्नु सकारात्मक संकेत हो । धनगढी–४ को यो प्रयासले अन्य वडाहरू र स्थानीय तहलाई पनि प्रेरणा दिन सक्ने अपेक्षा गरिएको छ । चिसो मौसममा न्यानोपन बाँड्ने यो कार्यक्रमले केवल शरीर मात्र होइन, मन पनि तताएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ पुस १२ गते शनिबार