जेनजी आन्दोलनः विध्वंस मच्चाउने ७४ जना जेल चलान र ९२ जना हाजिरी जमानीमा छुटे



काठमाडौँ ।

जेनजी आन्दोलनमा विध्वंस मच्चाउने ७४ जना पुर्पक्षका लागि कारागार पठाइएका छन् । उक्त आन्दोलनमा विभिन्न किसिमका कसुरमा संलग्न व्यक्तिमध्ये जिल्ला अदालतको आदेशले हालसम्म ७४ जना कारागार पठाइएका हुन् । त्यसमा आपराधिक उपद्रवका ३७, हातहतियारमा १६, चोरीका ३, कर्तव्य ज्यानमा १५, ज्यान मार्ने उद्योगमा १ छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार अहिले पनि प्रहरी हिरासतमा ४५ र दैनिक हाजिर जमानीमा छुटेका ९२ जनामाथि अनुसन्धान भइरहेको छ । उक्त प्रदर्शनका क्रममा विभिन्न स्थानमा हातहतियार लुटपाट गर्ने र ज्यान मुद्दाबाहेकका आरोपी प्रायः धरौटी, हाजिर जमानीदेखि साधारण तारेखसम्ममा रिहा भएका छन् । हातहतियारसहित पक्राउ परेकामध्ये १८ जनालाई प्रहरीले हाजिर जमानीमा छोडेको छ । काठमाडौँको महाराजगञ्ज र कोटेश्वरमा गरी तीन प्रहरीले ज्यान गुमाएका थिए ।

उनीहरुको हत्यासँग सम्बन्धित १५ जनाका विरुद्ध कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएकोमा सबै पुर्पक्षका लागि कारागार चलान भएका छन् । विभिन्न प्रहरी कार्यालयबाट हातहतियार लुट्ने, लुकाउने र सार्वजनिक रुपमा प्रदर्शन गर्नेमध्ये काठमाडौँ प्रहरीले हालसम्म १६ जनालाई नियन्त्रणमा लिएको छ । ती सबै पुर्पक्षका लागि कारागार चलान भएको जिल्ला प्रहरी प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए ।

जेनजी आन्दोलनमा विभिन्न प्रकारका उदण्डता प्रदर्शन गर्नेमध्ये हालसम्म ८५ जनाले धरौटी सुविधामा रिहा हुने मौका पाएका छन् । धरौटीमा रिहा हुनेमध्ये आपराधिक उपद्रव मुद्दामा ५३ जना छन् । चोरीका १२ र अभद्र व्यवहारका गरी धरौटीमा छुट्नेको संख्या ८५ पुगेको हो । जिल्ला प्रहरीको हिरासतमा अनुसन्धानका निम्ति अहिले ८५ जना राखिएका छन् । त्यसमध्ये आपराधिक उपद्रव मुद्दामा ५३, हातहतियारमा ११, चोरीका २, ज्यान मार्ने उद्योगका १ र डाँका चोरीका २ जना छन् ।

आपराधिक उपद्रव र हातहतियार मुद्दाका १–१ जनालाई मुद्दा नचल्ने सरकारी वकिलको रायका साथ रिहा गरिएको छ । अभद्र व्यवहारमा एकजनाले अदालतबाट सफाइ पाए । आपराधिक उपद्रव मुद्दामा ७ जनालाई अदालतले साधारण तारेखमा रिहा गरेको छ । टीओबी (टीब्बतीय ओरिजनल ब्लड) अंकित पोशाकसहित प्रदर्शन गर्ने तेञ्जिङ दावालाई मंगलबार काठमाडौँ जिल्ला अदालतले ५ लाख २० हजार धरौटीमा रिहा गरेको थियो ।

 

  • No tags available
प्रकाशित मिति : २०८२ मंसिर २५ गते बिहीबार