काठमाडौँ ।
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्स अपराजित छ । जारी प्रतियोगितामा सुदूरपश्चिम शतप्रतिशत जित निकाल्ने एकमात्र टोली बनेको छ । शनिबार साविक विजेता जनकपुर बोल्ट्सलाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले आफ्नो वर्चश्व कायम राखेको हो । उसले हालसम्म पाँच खेल खेलेको छ । सुदूरपश्चिमले पाँच वटै खेल जितेको छ । सुदूरपश्चिमले एनपीएलको पहिलो खेलमा काठमान्डु गोर्खाजलाई पराजित गर्दै सिजनको सुरुवात गरेको थियो ।
गत सिजनको फाइनलमा पराजित भएको बदला लिँदै जनकपुरलाई हराएर सुदूरपश्चिमले प्लेअफमा पुगेको हो । साविक उपविजेतासमेत रहेको सुदूरपश्चिम जारी सिजनमा शतप्रतिशत जित निकाल्दै प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । यता साविक विजेता जनकपुर बोल्ट्स भने अंकविहीन छ । जारी सिजनमा जनकपुरले कुनैपनि खेल जितेको छैन । अंक तालिकाको पुछारमा रहेको जनकपुरले बाँकी खेल जितेपनि प्लेअफमा पुग्न अब लगभग कठिन नै बनिसकेको छ । अब उसले आफ्ना बाँकी तीन खेल जितेर मात्र पुग्दैन अरु टोलीको नतिजामा पनि भर पर्नु पर्नेछ ।
महत्वपूर्ण जित निकाल्ने क्रममा सुदूरपश्चिमले जनकपुरले दिएको १४६ रनको लक्ष्य १७.४ ओभरमा ४ विकेटको क्षतिमा पूरा ग¥यो । सुदूरपश्चिमको जितमा इशान पाण्डेले अर्धशतक प्रहार गरे । ओपनर बिनोद भण्डारीसँग महत्वपूर्ण साझेदारी गरेका इशानले ५६ रन जोडे । निकै खराब सुरूवात गरेको सुदूरपश्चिमले इनिङको पहिलो बलमै जोश ब्राउनलाई गुमाएको थियो ।
ब्राउनलाई जनकपुरका पाकिस्तानी बलर माज सदाकतले बोल्ड गर्दै गोल्डेन डक गरे । अर्को ओभरमा क्रिस लिन पेभिलियन फर्के । त्यसपछि तेस्रो विकेटका लागि विनोद भण्डारी र इशान पाण्डेले ९१ रनको साझेदारी गर्दै सुदूरपश्चिमलाई अघि बढाए । अन्त्यमा दीपेन्द्रसिंह ऐरीले ७ बलमा नटआउट १० रन र हर्मित सिंहले १० बलमा १ चौका र ३ छक्काको मद्दतमा नटआउट २५ रन बनााए । बलिङमा जनकपुरका सदाकतले २ विकेट लिए । उनले ४ ओभरमा २५ रन दिए ।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको जनकपुरले ८ विकेटको क्षतिमा १४५ रन बनायो । जनकपुरका लागि मध्यक्रमका ब्याटर सञ्जय कृष्णमूर्तिले अर्धशतक प्रहार गरे । कृष्णमूर्तिले ३८ बलमा ५० रन बनाउँदा ४ चौका र २ छक्का प्रहार गरे । जनकपुरका ओपनिङ ब्याटर आसिफ शेख इनिङको चौथो बलमै सुदूरपश्चिमका स्कट कुगेइलिनबाट बोल्ड भएका थिए । दुई ओभरपछि मयन यादव पनि ६ रनमा आउट भए ।
ओपनिङ गरेका पाकिस्तानी ब्याटर माज सदाकत छैटौँ ओभरमा सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीबाट १२ रन बनाएको अवस्थामा बोल्ड भए । त्यसपछि यान निकोल लोफ्टी इटनले ३९ रनको योगदान दिँदा जनकपुरको आसा पलायो । कृष्णमूर्तिले पाँचौँ विकेटका लागि आदित्य महतासँग ५५ रनको साझेदारी गरे । अन्तिम बलमा आउट भएका कप्तानको जिम्मेवारी पाएका वाइन पार्नेलले १२ बलमा १ चौका र १ चौकाको मद्दतमा १४ रन बनाए । बलिङमा सुदूरपश्चिममा अविनासले ४ विकेट लिए । उनले ४ ओभरमा ३० रन दिए । कुगेइलिनको नाममा ३ विकेट रह्यो। उनले ४ ओभरमा २२ रन दिए । कप्तान दीपेन्द्रसिंह ऐरीले १ विकेट लिँदा ३ ओभरमा ३० रन दिए ।
लुम्बिनी लायन्सको प्लेअफ पुग्ने सम्भावना कायमै
सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्सले दोस्रो जित निकालेको छ । लगातारको हारले प्लेअफमा पुग्ने सम्भावना कमजोर रहेको लुम्बिनीले पोखरा एभेन्जर्समाथि ३ विकेटको जित निकालेको छ । लुम्बिनीले आफ्नो पाँचौ खेलमा दोस्रो जित निकालेको छ ।
योसँगै लुम्बिनी अंक तालिकाको पाँचौँ स्थानमा उक्लिएको छ । यसले लुम्बिनीलाई शीर्ष चारमा रहेर प्लेअफ पुग्नका लागि राहत भएको छ । लुम्बिनीले यसअघि खेलेका चार खेलमा एक जित र तीन खेलमा हारेको थियो ।
हालसम्म खेलेका पाँचमध्ये दुई खेलमा जित र तीन खेलमा हारको नतिजासहित प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको छ । यता, लुम्बिनीसँग हारेको पोखराको प्लेअफ सम्भावना कठिन बन्दै गएको छ । पोखराले चार खेलमा तीन वटा खेलमा हारेको छ । अहिलेसम्म एउटा मात्रै खेल खेलेको पोखरा अंक तालिकाको पुछारमा छ । शनिबार कीर्तिपुरस्थित त्रिवि मैदानमा पोखराले दिएको १५१ रनको लक्ष्य लुम्बिनीले ७ विकेटको क्षतिमा दुई बल खेल्न बाँकी छँदा पूरा ग¥यो ।
अन्तिम ओभरमा १० रन चाहिएको स्थितिमा लुम्बिनीका सन्दीप जोराले पोखराका म्याट टेलरविरूद्ध पहिलो बलमा २ रन, दोस्रो बलमा चौका, तेस्रो बल डट र चौथो बलमा चौका प्रहार गरेका थिए । जोराले २२ बलमा नटआउट २५ रन बनाए । उनले २ चौका र १ छक्का प्रहार गरे । त्यसअघि कप्तान रोहित पौडेलले ४० रन र निशोसन डिक्वेलाले ३७ रन बनाएका थिए । गुल्बादिन नइबले ११ बलमा १७ रनको योगदान गरे ।
बलिङमा पोखराका बिपिन खत्री, म्याट टेलर र सागर ढकालले २–२ विकेट लिए । टस जितेको लुम्बिनीले बलिङ रोजेपछि पहिले ब्याटिङ गरेको पोखराका दुई ब्याटरले अर्धशतक बनाएपछि ५ विकेटको क्षतिमा १५० रन जोड्यो । पोखराका लागि एडम रोशिङ्टनले सर्वाधिक ८१ रन बनाए । उनले ६३ बलमा ७ चौका र ५ छक्का हाने ।
त्यस्तै जेम्स नीशमले ३२ बलमा ३ चौका र ३ छक्का प्रहार गरी ५१ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान कुशल भूर्तेल शून्यमै आउट भए । अघिल्लो खेलमा गोल्डेन डक भएका उनी शनिबारपनि गोल्डेन डक नै हुन पुगे । बलिङतर्फ लुम्बिनीका शेर मल्ल र तिलक भण्डारीले दुई÷दुई तथा गुल्बादिन नइबले एक विकेट लिए ।
यस्तो छ, अंक तालिका
मंसिर १ गते सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबासम्म अठार खेल सकिएका छन् । प्रतियोगिताको मध्यतिर आइपुग्दा साविक उपविजेता सुदूरपश्चिम रोयल्स अंक तालिकाको शीर्ष स्थानमा विराजमान छ । जारी सिजनमा खेलेका पाँच वटै खेल जितेको सुदूरपश्चिमको १० अंक छ । पाँचौँ जितसँगै सुदूरपश्चिम एनपीएल सिजन २ को प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
हालसम्म खेलेका पाँच खेलमा चार जित र एक हारको नतिजासहित विराटनगर किंङ्स दोस्रो स्थानमा छ । विराटनगरको ८ अंक छ । पाँच खेलमा तीन जित र दुई हारको नतिजासहित काठमान्डु गोर्खाज ६ अंकसहित तेस्रो स्थानमा रहेको छ । चितवन राइनोजले हालसम्म चार खेल खेलेको छ । हालसम्म खेलेका चार खेलमा उसको मिश्रित नतिजा छ । हालसम्म दुई जित र दुई हारको नतिजासहित अंक तालिकाको चौथो स्थानमा रहेको छ । चितवन राइनोजको ४ अंक छ ।
यस्तै हालसम्मका पाँच खेलमा दुई जित र तीन हारको नतिजासहित लुम्बिनी लायन्स अंक तालिकाको पाँचौँ स्थानमा रहेको छ । लुम्बिनीको पनि चार अंक छ । यस्तै गत सिजनमा तेस्रो स्थानमा सिजनको समाप्ती गरेको कर्णाली याक्सले हालसम्म चार खेल खेलेको छ । कर्णाली याक्सले अहिलेसम्म एउटा मात्रै खेल जितेको छ । कर्णालीले तीन खेल हारेको छ । अंक तालिकाको छैठौँ स्थानमा रहेको कर्णालीको दुई अंक मात्रै छ ।
हालसम्म चार खेल खेलेको पोखरा एभेन्जर्स अंक तालिकाको साताँै स्थानमा रहेको छ । पोखराले पनि एक जित निकालेको छ । तीन खेल हारेको छ । उसको पनि दुई अंक छ । साविक विजेता जनकपुर बोल्ट्स अंक तालिकाको पुछारमा छ । आठाँै नम्बरमा रहेको जनकपुरले हालसम्म खेलेका चारमध्ये कुनैपनि खेल जितेको छैन । उसको प्लेअफ पुग्ने सम्भावना लगभग सकिएको छ । जनकपुर एनपीएलको साविक विजेता हो ।









प्रतिक्रिया दिनुहोस्