दिनेशकुमार वली, अध्यक्ष रानीघाट पार्क व्यवस्थापन समिति
१. रानीघाट क्षेत्र कसरी पर्यटकीय क्षेत्रका रूपमा अघि बढ्यो ?
यो कोहलपुर नगरपालिका वडा नम्बर १३ खड्कवार क्षेत्रका नागरिकहरूको सामूहिक प्रयासबाट सुरु भएको काम हो । यहाँ रानीघाट मध्यवर्ती सामुदायिक उपभोक्ता समिति छ । त्यो समितिले यस्तो योजना अघि सारेको हो । यहाँका नागरिकहरूको श्रमदानबाट अहिलेसम्मको अवस्था पुगेको हो । हामीले यसको लागि बाँके राष्ट्रिय निकुञ्जबाट अनुमति लिएका छौँ । यो क्षेत्र ५ हेक्टर क्षेत्रफलमा फैलिएको छ ।
२. रानीघाट पार्कमा कहाँ–कहाँबाट पर्यटक आउँछन् ?
कात्तिक २२ गते शनिबार मात्रै पार्कमा ५४ वटा गु्रप पिकनिकका लागि आएका थिए । शुक्रबार १४ वटा गु्रप आएका थिए । अहिलेसम्म बर्दिया, दाङ र सुर्खेतबाट समेत पर्यटकहरू आउनुभएको छ । हरेक दिन सयौँको सङ्ख्यामा नागरिकहरू पर्यटकहरू आइरहनु भएको छ । बाँके जिल्लाका कोहलपुरपछि नेपालगन्ज र खजुरा क्षेत्रबाट बढी आन्तरिक पर्यटकहरू आउनुहुन्छ । सबैभन्दा बढी लुम्बिनी प्रदेश र त्यसपछि कर्णाली प्रदेशबाट धेरै आउनुहुन्छ
३. पर्यटकका लागि के कस्ता व्यवस्था छन् ?
समितिले क्रमिकरूपमा काम गरिरहेको छ । अहिलेपनि थप सुविधा थप्न कार्य भइरहेको छ । गार्डेन निर्माण गरिरहेका छौँ । पिकनिक क्षेत्रको लागि चाहिने धारा, शौचालय, विद्युत्, फोटो जोन, पिङ, सवारी पार्किङस्थलको व्यवस्था गरिएको छ । मचानहरू निर्माण गरेका छौँ । नजिकै रानीघाट नदी छ । त्यहाँ नुहाउनेसमेत व्यवस्था रहेको छ ।
नजिकै हात्तीसार रहेको निकुञ्जसँगको समन्वयमा हात्तीसफारीसमेत गर्न पाइन्छ । ट्री हाउसहरू निर्माणको चरणमा रहेका छन् । यस्तै रंगरोगनका लागि कार्य गरिरहेका छौँ । अब हामीले यसको कार्ययोजना निर्माण गरिरहेका छौँ । हामीलाई पार्क क्षेत्र तारबार गर्नुपर्नेछ । त्यसको लागि सरोकारवालालाई आग्रह गरिरहेका छौँ । आशा गरौँ चालू आर्थिक वर्षमै त्यो काम हुन्छ ।
४. रानीघाट पार्कमा भ्रमणका लागि समितिको तर्फबाट के भन्न चाहनुहुन्छ ?
एकचोटी आएर हेरिदिनुहोस् । यहाँको हरियाली र सुन्दर दृश्य अवलोकन गरेर जानुहोस् । हामी तपार्इँहरूलाई स्वागत गर्न आतुर छौँ । हात्तीसार नजिकै छ । हात्ती सफारी पनि गर्नुहोस् । एकपटक हामीलाई सेवा गर्ने मौका दिनुहोस् । तपाईँहरू टाढाको हुनुहुन्छ भने म यहाँसम्म कसरी पुग्ने भनेर तपाईँहरूलाई बताउन चाहन्छु । सबैभन्दा पहिला चप्परगौडी आउनुहोस् । चप्परगौडीमा ठूलो गेट छ । त्यहाँबाट पाँच किलोमिटर दूरी पार गर्नुभयो भने । रानीघाट पार्क भेटिन्छ । यहाँ आएर तपाईँहरू मज्जाले घुम्न र आनन्द लिन सक्नुहुनेछ ।









प्रतिक्रिया दिनुहोस्