प्रहरी युनिटसँग प्रहरी अस्पताल कार्यक्रम



वीरेन्द्रनगर ।

कर्णाली प्रदेश प्रहरी अस्पताल सुर्खेतको आयोजनामा ‘प्रहरी युनिटसँग प्रहरी अस्पताल’कार्यक्रम शुभारम्भ भएको छ । यस कार्यक्रमको पहिलो चरणमा पहिलो दिन सुर्खेत उपत्यकास्थित प्रहरी युनिट अन्तर्गत कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा शुभारम्भ गरिएको हो । उक्त कार्यक्रमको उद्घाटन गण प्रमुख प्रहरी उपरीक्षक प्रेम सागर केसीको प्रमुख आतिथ्यमा सोमबार गरिएको थियो ।

कर्णाली प्रदेश प्रहरी अस्पतालका प्रमुख डा. श्याम कृष्ण लौडारी नेतृत्वको ६ सदस्यीय स्वास्थ्यकर्मी टोलीले गणमा कार्यरत प्रहरी कर्मचारीहरूको स्वास्थ्य परीक्षण तथा बिएमआई जाँच गरेको थियो । स्वास्थ्य परीक्षणमा ३८ जना महिला र १९१ जना पुरुष गरी जम्मा २२९ जना प्रहरी कर्मचारी सहभागी भएको कर्णाली प्रदेश प्रहरी अस्पतालले जनाएको छ ।

कार्यक्रमको प्रारम्भमा अस्पताल प्रमुख डा. लौडारीले सहभागी प्रहरीहरूलाई स्वास्थ्य र खानपानमा ध्यान दिने, मादक पदार्थ र सुर्तीजन्य वस्तुबाट टाढा रहने तथा मानसिक तनाव व्यवस्थापन सम्बन्धी परामर्श प्रदान गरेका थिए । यस कार्यक्रमअन्तर्गत सुर्खेत उपत्यकाका अन्य प्रहरी युनिटहरूमा पनि क्रमशः स्वास्थ्य परीक्षण र परामर्श कार्यक्रम सञ्चालन गरिने स्वास्थ्य परीक्षण टोलीका स्वास्थ्यकर्मी बिर्ख भण्डारीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २६ गते बुधबार