नेपालगन्ज ।
नेपालगन्जमा आइतबार राष्ट्रिय किसान सञ्जालले विभिन्न माग राख्दै प्रदर्शन गरेको छ । किसानका विविध समस्याहरूका विषयमा सरकारलाई दवाव दिने उद्देश्यले आयोजित शान्तिपूर्ण जुलुस प्रदर्शनपछि आयोजित कोणसभामा बोल्ने वक्ताहरूले किसानका समस्याहरू समाधान गर्न राज्य सधैँ चुकिरहेको बताए । उक्त सभालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष एवम् राष्ट्रिय किसान सञ्जालका अध्यक्ष डा. प्रेम दंगालले विभिन्न समयका सरकारले किसानको समस्या सम्बोधन गर्नै नचाहेको आरोप लगाए ।
उनले किसानका मुद्दामा राज्य संवेदनशील हुन नसकेको आरोप लगाउँदै भने, ‘कहिले उखुको समस्याको कुरा आउँछ, कहिले मल पाएनौँ भन्ने समस्या आउँछ । अहिले धानले मूल्य नपाएको गुनासो आइरहेको छ । सरकारले किसानको पीरमर्का नै बुझ्नै चाहेको छैन् ।’ अध्यक्ष दंगालले किसानको हक, अधिकारको वकालत गर्न महासंघले सबै पहलदमी लिइरहेकोसमेत दाबी गरे ।
उक्त कार्यक्रममा बोल्दै नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष गणेशचन्द तिमिल्सिनाले किसानहरूले भोग्नु परेका समस्याको निराकरणका लागि सरकारविरुद्ध आन्दोलनको विकल्प नभएकाले नै सडकमा आउनुपरेको बताए । किसानका लागि हुने बीमा सम्बन्धि व्यवस्थाको उचित सम्बोधन, सहुलियत दरका कृषि कर्जा अनुदान, कृषि थोक बजारको उचित व्यवस्थापन, कृषि ऐन, समयमा मल, विउको सरल र सहज उप्लव्धता, दुध रकमको भुक्तानी, धान र उखुको समर्थन मूल्यको सरलीकृत गरिनुपर्ने महासंघको माग रहेको र माग पूरा नहुन्जेल दवावका कार्यक्रम जारी रहने उनले बताए ।
काँरकाँदोस्थित एस.के. पेट्रोल पम्पबाट सुरु भएको जुलुस सुर्खेतरोडस्थित खाद्य संस्थान नजिकै सभामा परिणत भएको थियो । जुलुस प्रदर्शनमा नेपाली काँग्रेसको भातृ संस्था नेपाल किसान महासंघ र नेकपा एमालेको भातृ संस्था अखिल नेपाल किसान महासंंघ तथा किसान सम्बद्ध अन्य विभिन्न संगठनका पदाधिकारी लगायतको सहभागिता रहेको थियो ।
साथै नेपाली काँग्रेसका जिल्ला सचिव सुधांशु कोइराला, एमाले जिल्ला सचिव बलराम भट्टराई, अखिल नेपाल किसान महासंघका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज आरती पौडेल, नेपाली काँग्रेस प्रदेश प्रतिनिधि पुरुषोत्तम शर्मा, नेपाल किसान महासंघका केन्द्रीय सदस्यद्वय प्रेम खरेल र विनोदराज सिग्देल, लुम्बिनी प्रदेश उपाध्यक्ष खड्ग बुढाथोकी लगायत पनि जुलुसमा सहभागी भएका थिए ।









प्रतिक्रिया दिनुहोस्