कोहलपुर (बाँके) ।
बाँके कोहलपुर नगरपालिका–१३ भरैयाकी २० वर्षीय उषा शाही मृत्यु प्रकरणमा परिवारमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कार्तिक १९ गते आफ्नो घरमै मृत अवस्थामा फेला परेकी शाहीको मृत्यु प्रकरणमा उनका परिवारमाथि नै आत्महत्या दुरुत्साहन मुद्दामा अनुसन्धान भइरहेको हो । मृतक शाहीका दाईले इलाका प्रहरी कार्यालय कोहलपुरमा परिवारविरुद्ध आत्महत्या दुरुत्साहन मुद्दामा किटानी जाहेरी दिएका थिए ।
माइती पक्षको किटानी जाहेरीपछि परिवारका पाँचजना सदस्यहरूलाई पक्राउ गरेर घटनाको अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राम नारायण गुप्ताका अनुसार मृतक शाहीका दाईले कार्तिक २० गते नै किटानी जाहेरी दिएका थिए । जाहेरीमा शाहीलाई कुटपिट गरी हत्या गरिएको उल्लेख गरिएको छ । उनका शरिरमा चोटपटक देखिएकोले आत्महत्या हुन नसक्ने माइती पक्षले दाबी गरेको छ ।
परिवारको संग्लनतामा हत्या गरिएको भन्दै दोषीमाथि कारबाही हुनुपर्ने माइती पक्षको माग छ । जाहेरीलगत्तै प्रहरीले शाहीका श्रीमान्सहित सासु, ससुरा,जेठाजू र देवरलाई पक्राउ गरिएको थियो । पछि अदालतमा म्याद थपका लागि लैजाँदा तीन जनाविरुद्ध म्याद थप भएको प्रहरी निरीक्षक गुप्ताले जानकारी दिए । अदालतले मृतक शाहीका ससुरा र देवरविरुद्ध म्याद थप गरेन् । पछि माइती पक्ष, गाउँले, स्थानीय सरकार र प्रहरीसमेतको रोहबरका अन्य घरायसी प्रक्रियाका लागि ससुरा र देवरलाई छाडिएको र अन्य तीन जना हिरासतमै रहेको उनको भनाइ छ । ‘तीन जना हिरासतमै छन्।
पहिलोपटक दुई दिनको म्याद थप भएको थियो । फेरि म्याद थपका लागि पठाएका छौँ । म्याद थपिएर आउँछ होला । प्रहरीले घटनाका सम्बन्धमा गम्भीर रूपमै अनुसन्धान गरिरहेको छ,’ प्रहरी निरीक्षक गुप्ताले भने ।उषा शाही मृत्यु प्रकरणमा अहिले शाहीका श्रीमान् २२ वर्षीय कृष्ण सिंह, ४५ वर्षीया सासू राज कुमारी सिंह र २५ वर्षीय जेठाजू योगेस बहादुर सिंह कोहलपुर प्रहरीको हिरासतमा छन् । उनीहरूविरुद्ध आत्महत्या दुरुस्साहन मुद्दामा अनुसन्धान भइरहेको छ । प्रहरी निरीक्षक गुप्ता भन्छन्, ‘प्रारम्भिक सोधपुछ भएको छ ।
घटनाका सम्बन्धमा थप अनुसन्धान गर्नुपर्ने देखिएको छ । अदालतमा म्याद थप भएर आएपछि थप अनुसन्धान गर्छौँ ।’ उनका अनुसार शाहीको पोष्टमार्टम भइसकेको छ । रिपोर्ट आउन बाँकी रहेकोले घटनाबारे अहिले नै थप भन्न नसकिने उनले बताए । रिपोर्ट आएपछि सबै कुरा थाहा हुने उनको भनाइ छ । यता, प्रहरीले भने घटनाबारे अनुसन्धान गरिरहेको छ । हुम्लाको अदानचुली गाउँपालिकामा माइती घर भएकी शाहीको कोहलपुर–१३ भरैयाका कृष्णसँग गत असोज महिनामा मात्रै विवाह भएको थियो ।
उनीहरूबीच प्रेम विवाह भएको परिवारले बताएको छ । पारिवारिक स्रोतका अनुसार उनीहरू केही वर्षदेखि सम्बन्धमा थिए । यही वर्षको दसैैँमा मात्रै उनीहरूले केही वर्षको प्रेम सम्बन्धलाई वैवाहिक जीवनमा परिणत गरेका थिए ।









प्रतिक्रिया दिनुहोस्