विज्ञान प्रदर्शनी प्रतियोगितामा डडेल्धुराको महेन्द्र मावि प्रथम



डडेल्धुरा ।

सुदूरपश्चिम प्रदेशस्तरीय विज्ञान प्रदर्शनी प्रतियोगितामा डडेल्धुराको महेन्द्र माध्यमिक विद्यालय प्रथम भएको छ । विद्यालयले भौतिक, रासायनिक र जीव विज्ञानसँग सम्बन्धित विभिन्न प्रयोगात्मक नमूना प्रदर्शनी प्रस्तुत गर्दै शीर्षस्थान हात पारेको हो । डडेल्धुरास्थित महेन्द्र माध्यमिक विद्यालयमा आयोजित प्रदर्शनीमा सुदूरपश्चिमका सात जिल्लाका नौ विद्यालयको सहभागिता थियो भने डोटी र अछामका विद्यालय भने अनुपस्थित रहेका थिए ।

स्थानीय तहबाट छनोट हुँदै प्रदेशस्तरसम्म पुगेका विद्यालयबीचको प्रतिस्पर्धामा निर्णायकमण्डलले स्थानीय सामग्रीको उपयोग, आर्थिक व्ययभार, प्रस्तुतीकरण र प्रभावकारिताका आधारमा मूल्यांकन गरेको थियो । महेन्द्र माविले सात जिल्लाका अन्य विद्यालयलाई पछि पार्दै प्रथम स्थान हासिल गर्दै रु २० हजार नगद पुरस्कार प्राप्त गरेको छ ।

दुर्गालक्ष्मी नमूना माध्यमिक विद्यालय अत्तरियाले द्वितीय हुँदै रु १५ हजार प्राप्त गरेको छ । यस्तै महेन्द्रनगर माध्यमिक विद्यालय कञ्चनपुर तृतीय भई रु १० हजार प्राप्त गरेको छभने भानोदय माध्यमिक विद्यालय बाजुराले सान्त्वना पुरस्कारस्वरूप रु पाँच हजार प्राप्त गरेको छ । विज्ञान विषयतर्फ विद्यार्थीको आकर्षण बढाउनका लागि विज्ञान प्रदर्शनी आयोजना गरिएको महेन्द्र माविका प्रधानाध्याक सुरेन्द्रसिंह ऐरले जानकारी दिए ।

पछिल्लो समय विज्ञान विषय पढ्ने विद्यार्थीको सङ्ख्या घट्दै गइरहेको उल्लेख गर्दै उनले विषय शिक्षक पाउन पनि मुस्किल भइरहेको बताए । कार्यक्रमले सुदूरपश्चिमका विद्यार्थीहरूमा विज्ञानप्रतिको रुचि र प्रयोगात्मक अध्ययनप्रतिको उत्साह बढाउने अपेक्षा गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार