मोहन मृत्युको कारण खोज्दै प्रहरी



कोहलपुर ।

एकसाता अघि मृत अवस्थामा भेटिएका कोहलपुर नगरपालिका–११ भोला टोलका मोहन थारूको मृत्यु प्रकरण अझै रहस्यमै छ । थारूको मृत्यु भएको एकसाता बितिसक्दासमेत थारूको मृत्युको एकीन कारण खुल्न सकेको छैन् । थारू कार्तिक १४ गते राति कोहलपुर–२ विकासनगरस्थित सामुदायिक वन क्षेत्रमा मृत फेला परेका थिए ।

दिउँसो छिमेकी तीन जना महिलासँग घाँस दाउरा संकलन गर्ने उद्देश्यले जंगल गएका उनी दिउँसो फर्किएनन् । राति ९ बजेतिर बाघको आक्रमणबाट मानिसको मृत्यु भएको खबर फैलिएपछि नेपाल प्रहरी, नेपाली सेना, बाँके राष्ट्रिय निकुञ्ज तथा स्थानीयहरू घटनास्थल पुगेका थिए। त्यहाँ पुगेपछि उनीसँग गएका दुई जना महिला हराएको बताएपछि उनीहरूको समेत खोजी गरिएको थियो ।

मोहनसँगै उनका छिमेकी देउमति खड्का, मिना भुसाल र जानुका कार्कीपनि गएका थिए । सबैभन्दा पहिला कार्कीले घटनाबारे जानकारी दिएकी थिइन् । उनी आत्तिदै आएर बाघले लखेटेको बताएकी थिइन् । उनीहरूसँगै गएका देउमति र मिना भने शुक्रबार राती साढे १० बजेको समयमा खड्कवारस्थित नेपाली सेनाको ब्यारेकमा भेटिएका थिए । इलाका प्रहरी कार्यालय कोहलपुरले घटनाको अनुसन्धानका लागि कार्तिक १५ गते घटनास्थल मुचुल्का उठाएको थियो ।

सोही दिन पीडितका तर्फबाट मृतक मोहन थारूका दाई सोहनलाल थारूले घटनाको निष्पक्ष छानबिनका लागि भन्दै जाहेरी दिएका थिए ।इलाका प्रहरी कार्यालय कोहलपुर प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले घटनाबारे अनुसन्धान भइरहेको बताए । उनका अनुसार मृतक मोहनसँगै गएका महिलाहरूलाई सोधपुछ गरिएको छ । प्रहरीसँगको बयानका क्रममा उनीहरूले आफूहरूले घाँस काटिरहेको बेला बाघको डरलाग्दो आवाज सुनेपछि भागदौड भएको बताएका छन् । ‘हामी सबैजना घाँस काटिरहेका थियौँ ।

एक्कासी बाघको आवाज सुनियो । त्यसपछि भागाभाग भयो । को कता गयो थाहै भएन । मोहनपनि हामीसँगै भागेका थिए । पछि त्यस्तो खबर सुनियो,’ महिलाहरूले सोधपुछका क्रममा भनेका कुरा उद्धत गर्दै डीएसपी डमरपालले मिसन टुडेसँग भने । उनले घटनाका बारेमा अनेक अपवाहसमेत फैलाइएको बताए । सुरुमा आफूहरूलाई जानकारी आउँदा बाघले आक्रमण गरिएको भनिएको थियो । तर, आफूहरू घटनास्थलमा पुग्दा र पछि थप अनुसन्धान गर्दा बाघले आक्रमण गरेको कुनै निसाना नै नदेखिएको उनले बताएका छन् ।

पछि भागभाग हुँदा मरेको भनिएको छ । रूखबाट खसेको हुन सक्ने विषयमा समेत प्रहरीले आफ्नो तवरबाट अनुसन्धान गरिरहेको उनले बताए। घटनाबारे यथार्थ जानकारी पत्ता लागोस् भनेर प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ । उनले भने, ‘हामी अनुसन्धानमै छौँ । घटनाका सम्बन्धमा सम्बद्ध पक्षसँग सोधपुछ गरिएको छ । अझै पोष्टमार्टम रिपोर्ट आएको छैन् । रिपोर्टले थप कुरा बताउँला । अहिले नै एकीन गर्न सकिने अवस्था छैन्,’ केही दिनमा पोष्र्टमार्टम रिपोर्ट आएपछि सबै कुरा थाहा हुने डीएसपी डमरपालले बताए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २३ गते आइतबार