लागूऔषधविरूद्व विद्यालयस्तरीय महाअभियान



कोहलपुर (बाँके) ।

बाँके जिल्लामा प्रमुख समस्याका रूपमा रहेको लागूऔषधविरुद्ध विद्यालयस्तरीय महाअभियान सुरु गरिएको छ । बाँके जिल्लाका प्रमुख सामाजिक समस्यामध्ये एक रहेको लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि विद्यालयस्तरीय महाअभियान सुरु भएको हो । ‘हाम्रो आवाज लागूऔषध दुव्र्यसनबाट मुक्त समाज’ भन्ने मूल नारासहित कोहलपुर–५ स्थित ब्रिज इन्टरनेशनल स्कुलबाट अभियान सुरु गरिएको हो ।कोहलपुर नगरपालिका वडा नम्बर ५, समाज सेवा संस्था नेपाल र स्कुलको संयुक्त प्रयासमा अभियान सञ्चालन गरिएको हो ।

अभियान वडा नम्बर ५ को आर्थिक सहयोगमा वडाका सम्पूर्ण विद्यालयमा सञ्चालन गरिनेछ । कोहलपुरका अन्य वडा र पालिका तथा जिल्लाका अन्य स्थानीय तहमा अभियानलाई समाज सेवा संस्था नेपालले सहजीकरण गर्नेछ । महाअभियानको नाम ‘लागूऔषध दुव्र्यसन न्यूनीकरण सम्बन्धी सचेतनामूलक विद्यालयस्तरीय अभिमुखीकरण कार्यक्रम’ रहेको छ । शुक्रबार ब्रिज इन्टरनेशनल स्कुलबाट सुरु गरिएको कार्यक्रमको आयोजना भने समाज सेवा संस्था नेपालले गरेको हो ।

उक्त महाअभियानको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) चक्रबहादुर डमरपालले उद्घाटन गरेका थिए । लागूऔषध, जिल्लाको अवस्था कारण र समाधानका विषयमा सहजीकरण गर्दै डीएसपी डमरपालले मानिसमा लत सिर्जना गरी दुव्र्यसनी तुल्याउने वस्तु वा पदार्थ लागूपदार्थ वा औषधलाई लागूऔषध भनिने बताए । सामान्यतया शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउने पदार्थलाई लागूपदार्थ भनिन्छ । यस्ता पदार्थले मानिसको केन्द्रिय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाईमा परिवर्तन ल्याउने उनले बताए ।

‘कानुनद्वारा निषेधित गाँजा अफिम हिरोइन मर्फिन कोकिन आदि अवैध लागूऔषध हो भने सूर्तिजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागूपदार्थ हो । विश्व स्वास्थ्य संगठनले लागूपदार्थलाई स्वस्थ शरिरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ । यो जिल्लाकै प्रमुख समस्याका रूपमा रहेको छ । अझ कोहलपुरमा यसको अवस्था विकराल छ,’ उनले भने ।

कोहलपुरमा लागूऔषधको प्रयोग, बेचविखन कारोबार र दुव्र्यसन डरलाग्दो अवस्थामा रहेको भन्दै न्यूनीकरण र निर्मुलीकरणका लागि समुदाय प्रहरी आवश्यक रहेकोमा जोड दिए । हाल कोहलपुरको हिरासतमा ५४ जना हिरासतमा रहेका छन् । तीमध्ये २४ जना बालबालिका मात्रै छन् । उनीहरू १४ देखि १८ वर्षको उमेर समूहका हुन् । ९० प्रतिशत बढी हिरासतमा रहेका व्यक्ति लागूऔषधसँग सम्बन्धित मुद्दामा सम्बन्धित रहेको उनले बताए ।

उनी भन्छन्, ‘कोहलपुरमा असुरक्षा छ । विकरालस्थितिबाट जोगिन आवश्यक छ । त्यसको लागि अभिभावक, शिक्षक, बुद्धिजीवी र सरोकारवालाहरूबीच एकजुट हुन आवश्यक छ ।’ उक्त अवसरमा विद्यार्थीहरूले डीएसपी डमरपाललाई लागूऔषधसँग सम्बन्धित प्रश्नसमेत सोधेका थिए । यस्तै, इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी निरीक्षक राम नारायण गुप्ताले खराब संगत, सेवनका लागि दवाव, पारिवारिक बेमेल र झैझगडा, लक्ष्यमा असफलता लगायत लागूऔषध दुव्र्यसनका प्रमुख कारण रहेको बताएका थिए ।

उनका अनुसार लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि सामूहिक प्रयासको खाँचो छ । संघ संस्था र विद्यालय तथा स्थानीय सरकारको अगुवाईँमा यस्ता खालका अभियान सञ्चालन हुनु सकारात्मक पक्ष रहेको प्रहरी निरीक्षक गुप्ताको भनाइ छ । महाअभियान शुभारम्भ कार्यक्रममा बोल्दै इलाका प्रशासन कार्यालय कोहलपुर बाँकेकी प्रमुख अन्तिम सिंजालीले लागूऔषध दुव्र्यसन न्यूनीकरणका लागि अभिभावक र बालबालिकाहरूबीच समन्वय हुन आवश्यक छ ।

‘विद्यार्थी र शिक्षकहरूसमेत यस्ता समस्या समाधानका लागि अघि बढ्न आवश्यक छ । व्यक्ति स्वयम्समेत सचेत हुन आवश्यक छ । यस्ता कार्यका लागि हातेमालो गरेर अघि बढ्नुको विकल्प छैन,’ उनले भनिन् । उक्त अवसरमा बोल्दै ब्रिज इन्टरनेशनल स्कुलका विव्यस अध्यक्ष शिवकुमार पौडेलले सामाजिक विकृति मौलाउँदो अवस्थामा रहेकोले विद्यालयमा पटकपटक यस्ता कार्यक्रम सञ्चालन गर्दै आएको बताए । समाज रूपान्तरण सबैको भूमिका महत्वपूर्ण रहेकामा उनले जोड दिए ।

ब्रिज इन्टरनेशनल स्कुलका संस्थापक समीर घर्तीले लागूऔषध दुव्र्यसन लगायतका समस्या समाधानका लागि विद्यालयले निरन्तर विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बताए । उक्त अवसरमा बोल्दै कोहलपुर नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष दीपेन्द्र श्रेष्ठले स्थानीय सरकारले सडक नाटक र अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिरहेको बताए । ‘विद्यालयमा यस्ता कार्यक्रम हुनु सकारात्मक हो । सबै मिलेर न्यूनीकरण गर्न आवश्यक छ । विकृतिरहित समाज हाम्रो संकल्प हो ।

सिकेका कुरा व्यवहारमा लागू गर्न आवश्यक छ । आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रम गर्नेछौँ,’ वडाध्यक्ष श्रेष्ठले भने । समाज सेवा संस्था नेपालका अध्यक्ष विनोद थापाले अभियान जिल्लाभरका विभिन्न विद्यालयमा सञ्चालन गरिने बताए । अभियान शुभारम्भ कार्यक्रममा ब्रिज इन्टरनेशनल स्कुलमा अध्ययनरत ३ सय भन्दा बढी विद्यार्थी र अभिभावकहरूको सहभागिता रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार