बड्डीचौर–खम्बगाडे सडकको काम सुस्त



नन्दराम जैशी । सुर्खेत ।

बड्डीचौर–खम्बगाडे सडक निर्माण आरम्भ थालिएको तीन वर्ष बित्यो । आम बुझाईमा सडक अलपत्र पर्नुको मुख्य दोष निर्माण व्यवसायीलाई थुपारिँदै आइएको छ । तर, सडक निर्माणका लागि गरिनुपर्ने पूर्व तयारीविनै काम थाल्दा बड्डीचौर–खम्बगाडे १३ किलोमिटर सडक खण्डको काम सुस्ताएको हो । २०७९ असारमै ठेक्का आह्वान गरेर तत्कालिन सामाजिक विकास मन्त्री यज्ञबहादुर विसीले सडक निर्माणको शिलान्यास गरेका थिए ।

सडक शिलान्यास गरिएको तीन वर्षपछि संघीय सरकारले सडक निर्माण गर्न अनुमति दिएसँगै रूख कटानको अल्झन सुल्टिएको हो । सडकमा पर्ने ८६४ वटा विद्युतका पोल हटाउन र रूख कटानको काम अन्तिम चरणमा पुगेको छ । अनक जयदेवी जेभीका इन्जिनियर शंकर रावतका अनुसार संघीय सरकार मातहतको सडक हुनु, विद्युत पोल तथा रूख कटानको अल्झन नसल्टाउनु, बड्डीचौर बजार, जनज्योति स्कुल र पाइप डाँडाको विवाद समाधान नहुनु मुख्य बाधक हुन् । निर्माण व्यवसायीकै कारण सडक अलपत्र भयो भन्नु राम्रो नरहेको उनले बताए।

लगभग रूखको समस्या समाधान भएकाले अब तिब्र गतिमा काम हुने उनको भनाइ छ । ‘अझैँ बड्डीचौर बजार, स्कुल र पाइप डाँडामा विवाद छ । त्यो विवाद नसुल्टिए पनि निर्माणको गति बढाएका छौँ’ उनले भने, ‘यो वर्ष नागरिकलाई साँच्चै निर्माण व्यवसायीले काम गर्नेरहेछ भन्नेगरी दुई तीन महिनामै काम देखिने गरी निर्माण कार्य थालेका छाँै ।’ क्षेत्राधिकार बाहिरको सडक निर्माण गर्न प्रदेश सरकार कस्सिनुले सुर्खेत पश्चिमका नागरिकले पीडादायी यात्रा गर्नु परेको छ । सुर्खेत पश्चिमको बावियाचौर–विद्यापुर–गुटुहुँदै लगाम जोड्ने यो सडक २०५१ सालमै ट्रयाक खोलिएको हो ।

सुर्खेत पश्चिम जोड्ने मदन भण्डारी राजमार्ग नामाकरण गरिएको सडकको शून्य बिन्दु बड्डीचौरलाई मानेर काम थालिएको छ । पहिलो खण्डमा बड्डीचौरदेखी कालोपत्रे गर्न ४२ करोड ४७ लाख ६१ हजारमा अनक जयदेवी जेभी बाँकेले सम्झौता गरेको छ । जयदेवीका सञ्चालकले अपेक्षाकृत काम गर्न नसकेपछि अनकले निर्माणको पूरै जिम्मेवारी लिएको छ । बड्डीचौर बजारदेखि गिभिनेसम्म झण्डै ६ किलोमिटर र खम्बगाडेतर्फ एक किलोमिटर सडकमा नाला, सपोर्ट वाल र कल्भर्ट निर्माण यसअघि नै सकिएको छ ।

अब रूख कटान लगत्तै निर्माणको गतिले तिव्रता लिने पूर्वाधार विकास निर्देशनालय सुर्खेतले जनाएको छ । कार्यालय प्रमुख सूर्यबहादुर शाहीले आगामी असारसम्म कालोपत्रे सक्नेगरी समन्वय गरिरहेको बताए । उनका अनुसार पाइपडाँडा जोड्ने १० किलोमिटर सडक कालोपत्रे सक्ने अन्तिम चरणमा छ । १८ करोड लागत रहेको यो खण्ड निर्माणका लागि भदौ २०७९ मा ठेक्का सम्झौता गरिएको हो । सडक निर्माणको जिम्मा खड्का कन्ट्रक्सन बाँकेले लिएको छ । चैत २०८१ मा सम्पन्न गर्नुपर्ने सडक रूखकै कारण निर्माणमा ढिलाइ भएको थियो । स्थानीयले सडकमा पर्ने झण्डै ६० रूख काटिदिएपछि मंसिरसम्ममा कालोपत्रे सक्ने लक्ष्य लिएको सडक डिभिजन सुर्खेतले जानकारी दिएको छ ।

कुइने–चिसापानी सडकको काम सुस्त

सुदूरपश्चिमबाट कर्णाली र कर्णालीबाट सुदूरपश्चिम जाने छोटो मार्ग हो बड्डीचौर–बावियाचौर हुँदै जाने कुइने–चिसापानी सडक । सुदूरपश्चिम प्रदेशका अछाम, बाजुराबाट तराई पुग्न होस् वा पहाड पुग्ने छोटो मार्गको रूपमा यो सडकलाई लिइएको छ । यो सडक खण्डको चिसापानीबाट कैलालीकै कुइनेसम्मको दुरी १२ किलोमिटर छ । सात किलोमिटर सडक कालोपत्रेका लागि सडक डिभिजन कञ्चनपुरले ठेक्का व्यवस्थापन गरिसकेको छ । कालोपत्रेका लागि १३ करोडको लागतमा दिव्य ज्योति शाही लम्कीले जिम्मा लिएको छ ।

चिसापानी क्षेत्रको दुई किलोमिटर सडक कालोपत्रे छ, भने बाँकी क्षेत्रमा रूख र पोलका कारण काममा ढिलाइ भएको हो । हाल रूख कटान सकिएकाले यसै वर्ष कालोपत्रे गर्नेगरी काम भइरहेको सडक डिभिजन कञ्चनपुरका प्रमुख सिनियर डिभिजन इन्जिनियर राजेशकुमार यादवले जानकारी दिए । उनका अनुसार कुईनस्थित कर्णाली नदी र जामुमा रहेको भेरी नदीमा पक्की पुल सञ्चालनमा आएपछि त्रिदेशीय जोड्ने सडक छिटो निर्माण गर्न सरकारलाई दवाव बढेको हो ।

यहीँ सडक भएर कर्णालीका सुर्खेतसहित दैलेख, कालीकोट, जुम्ला, हुम्लाका नागरिकलाई सुदूरपश्चिमको कैलाली र कञ्चनपुर जान र फर्किन छोटो हुन्छ । कर्णाली राजमार्गको जमुनाह–हिल्सा त्रिदेशीय सडक जोडिएको छ । बावियाचौर–जंगलघाट सडक अझै स्तरोन्नति नभए तत्कालका लागि बड्डीचौरबाट कर्णाली राजमार्ग भएर यात्रा गर्न सहज हुनेछ । चिसापानीबाट बड्डीचौरसम्मको दुरी ४८ किलोमिटर छ । हिउँदको समयमा कैलालीबाट अछाम जाने दर्जन बढी सवारीहरू चिसापानीबाट सुर्खेत–दैलेख भएर अछामको कमलबजार र मंगलसैन पुग्ने गरेका छन् ।

कैलालीको चिसापानीबाट कोहलपुर–सुर्खेत हुँदै बाहिरिन र भित्रनु पर्छ । कैलालीबाट अछाम पुग्न मात्रै चिसापानी–कोहलपुर ७७, कोहलपुर–वीरेन्द्रनगर ९० र वीरेन्द्रनगर–बेलखेतहुँदै मंगलसेन अछाम १५९ किलोमिटर गरी ३२६ किलोमिटर दुरी तय गर्नुपर्ने अवस्थामा छ ।
बड्डीचौर–बावियाचौर–कुइने–चिसापानी सडक निर्माण सम्पन्न भए कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, मुगु, हुम्ला, जुम्ला र सुदूर पश्चिमको कैलाली, कञ्चनपुर, बाजुरा तथा अछाम आवतजावत गर्ने छोटो मार्ग बन्नेछ ।

पञ्चपुरी नगरपालिका सुर्खेत र तुर्माखाँद गाउँपालिका अछामको सिमानामा पर्ने जंगलाघाटको कर्णाली नदीमा पक्की पुल निर्माण गर्न लागिएको हो । यो पुल निर्माणका लागि ८ साउन २०७८ मै सम्झौता गरिएको थियो । १० कार्तिक २०८३ मा कर्णाली नदीमा पुक्की पुल निर्माण सम्पन्न गर्नेगरी म्याद थप गरिएको छ । १६ करोड ५८ लाख ६४ हजार लागत रहेको पुल निर्माणको जिम्मा लामा कन्ट्रक्सन प्रा.लि काठमाडौँले लिएको थियो ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २२ गते शनिबार