बाँकेमा थपिए पाँच हजार नयाँ मतदाता



कोहलपुर (बाँके) ।

बाँकेमा करिब ५ हजार नयाँ मतदाता थपिएका छन् । असोज १० गतेदेखि हालसम्म कूल ४ हजार ७ सय ७० मतदाता थपिएका हुन् । निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली दर्ता आह्वान गरेदेखि बिहीबारसम्म कूल २ हजार ४ सय २४ जना पुरुष र २ हजार ४ सय ४६ जना महिला मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय बाँकेले जनाएको छ । कार्यालयका सूचना अधिकारी युवराज पन्तका अनुसार जिल्लामा दैनिक ४ देखि ५ सय जनासम्म मतदाता नामावलीमा आफ्नो नाम दर्ता गराउन आउने गरेका छन् ।

बिहीबार मात्रै ११० जना सनाखतका लागि कार्यालयमा उपस्थित भएको उनले बताए । कार्यालयमा आउनेमध्ये करिब ९५ प्रतिशत नयाँ मतदाता रहेका छन् । पछिल्लोपटक सूचना जारी भएको मितिदेखि हालसम्म बाँकेमा १३६ जना मतदाताले आफ्नो मतदाता नामावली अद्यावधिक गरेका छन् । तीमध्ये पुरुषको सङ्ख्या ९३ जना र महिलाको सङ्ख्या ४३ जना रहेको छ । ‘नाम र वा ठेगाना त्रुटी भएका बढी आउँछन् । मतदान केन्द्र र उमेर फरक परेकासमेत आउने गरेका छन् ।

जस्तोसुकै त्रुटी भएपनि कार्यालयमा आए सबै सम्बोधन हुन्छ,’ सूचना अधिकारी पन्तले भने । यसैगरी १३५ जना पुरुष र १३० जना महिलागरी कूल २६५ जना मतदाताले बाँके जिल्लाबाट अन्य जिल्लामा ठाउँसारी गरेको सूचना अधिकारी पन्तको भनाइ छ । उनी भन्छन्, ‘अहिलेसम्म त सामान्य रूपमा आइरहनु भएको छ । अब भने समय अन्तिम भएकोले मतदाता नामावली बनाउन आउनेको सङ्ख्या बढ्छ । अन्तिमतिर सधैँझैँ चाप बढ्ने देखिन्छ ।’

असोज १० गतेदेखि हालसम्मको अवस्था हेर्दा बाँकेमा उत्साहजनक रूपमा नयाँ मतदाता नामावली बनाउनेहरूको सहभागिता भइरहेको जिल्ला निर्वाचन कार्यालय बाँकेका निर्वाचन अधिकारी टेकबहादुर शाही बताउँछन् । उनका अनुसार नयाँ मतदाता लिनेमा आधाभन्दा धेरै नयाँ पुस्ताका मतदाता छन् । विगतको तुलनामा युवापुस्ताका मतदाता यसपटक बढेको उनले बताए । ३५ वर्षभन्दा मुनीका मतदाताको उल्लेख्य सहभागिता रहेको उनको भनाइ छ ।

मतदाता नामावली भर्ने गाउँभन्दा सहरी क्षेत्रका मतदाता रहेको उनले बताए । जिल्लाका नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका, जानकी, खजुरा र जानकी लगायतका क्षेत्रबाट बढी आउने गरेको निर्वाचन अधिकारी शाहीले जानकारी दिए । ‘अब समय धेरै छैन् । छिटो कार्यालयमा आएर नामावलीमा आफ्नो नाम सुरक्षित गर्न आग्रह गर्दछौँ,’ उनले मिसन टुडेसँग भने ।२०७९ सालको निर्वाचनमा बाँकेमा १ लाख ६९ हजार ४९४ पुरुष र १ लाख ६४ हजार ५९ जना महिला गरी कूल ३ लाख ३७ हजार ८६२ जना रहेको थियो ।

३० कात्तिकसम्म नयाँ मतदाता नामावली दर्ता गर्न सकिने छ । १६ वर्ष उमेर पूरा भएका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नागरिकले सार्वजनिक बिदाको दिनबाहेक बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म प्रदेश निर्वाचन कार्यालय तथा जिल्ला निर्वाचन कार्यालयमा नाम दर्ता गर्न सक्छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २१ गते शुक्रबार