शेरबहादुर ऐर । कैलाली ।
धनगढी उपमहानगरपालिका क्षेत्रको एल.एन. (लक्ष्मी नारायण) चौकदेखि राष्ट्र बैंकसम्मको सडकमा नाली निर्माणका क्रममा विद्युत पोल र ट्रान्सफर ढलेको छ । घटनामा मानवीय क्षति नभए पनि सवारी साधनमा क्षति पुगेको र केही समयका लागि विद्युत आपूर्ति अवरुद्ध भएको छ।
स्थानीयवासीका अनुसार रातिको समयमा नाली खन्ने क्रममा सडक किनारमा रहेका विद्युत पोलहरू असन्तुलित बन्दा ट्रान्सफर अचानक सडकतर्फ ढल्यो । सो क्रममा सडकमा गुड्दै गरेको स्कुटी पनि क्षतिग्रस्त भएको बताइएको छ ।
पत्रकार भिम चौधरीका शब्दमा, ‘धनगढीमा अलि अनौठो विकास भइरहेको छ । सबै ठाउँमा पहिले नाली त्यसपछि सडक कालोपत्रे हुन्छ । तर एल.एन. चौकदेखि राष्ट्र बैंकसम्म पहिले कालोपत्रे सडक अनि नाली निर्माण भइरहेको परिणाम गुड्दै गरेको स्कुटीमाथि विद्युत पोल ढलेको छ।’ स्थानीयहरूका अनुसार धनगढी उपमहानगरपालिकाले केही समयअघि सो सडक कालोपत्रे गरेको थियो । तर, नाली निर्माणको योजनापछि ल्याइएको हो । नाली निर्माण सुरु भएपछि पोलहरूको व्यवस्थापन नगरी नै सडक खनिँदा जोखिमपूर्ण स्थिति उत्पन्न भएको हो ।
नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले घटनापछि मर्मत टोली परिचालन गरिएको र विद्युत आपूर्तिका लागि कामको थालनी भएको जानकारी दिएको छ । ‘ट्रान्सफर र पोल ढल्दा सवारी साधनमा क्षति भएको छ, तर जनधनको क्षति छैन,’ स्थानीयहरूले भने । स्थानीयवासी राजिब गुप्ताका अनुसार, ‘नाली खनिँदा पोलहरू हल्लिँदै थिए, तर सम्बन्धित निकायले तत्काल व्यवस्थापन गरेन । राति ट्रान्सफर ढल्दा ठूलो दुर्घटना हुन सक्थ्यो ।’ धनगढी उपमहानगरपालिकाले नाली निर्माणका लागि खन्न थालिएको भए पनि पूर्व तयारी र विद्युत संरचनाको सुरक्षातर्फ ध्यान नदिइएको स्थानीयको गुनासो छ ।
स्थानीय इञ्जिनियरहरूको भनाइमा, यो घटना ‘सडक निर्माण र पूर्वाधार व्यवस्थापनबीचको असमन्वयको परिणाम’ हो । उनीहरूका अनुसार, सडक, नाली र विद्युत संरचना एउटै योजनाअन्तर्गत निर्माण गर्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना भइरहेको छैन् । धनगढी उपमहानगरपालिकाले निर्माण कम्पनीलाई दोष देखाउँदै आफू उम्कने प्रयास गरेको छ ।
तर, निर्माण कम्पनीले उपमहानगरपालिकालाई विद्युत पोलको व्यवस्थापनका लागि निवेदन दिँदा समेत वेवास्ता गरेको जनाएको छ । निर्माण कम्पनीको निवेदनमा उपमहानगरपालिकाले ध्यान नदिँदा रातिको समयमा विद्युत पोल ढल्दा समेत अहिलेसम्म उपमहानगरपालिकाको ध्यानाकर्षण देखिएको छैन् । विद्युत कार्यालयले सो क्षेत्रमा विद्युत सुचारु गर्न दुई दिनदेखि काम गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्