हुम्ला ।
हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालयमा बुधबार राति भएको आगलागीबाट रु करोड बढीका संरचना जलेर क्षति पुगेको छ । अदानचुली–३ मा रहेको सो विद्यालयमा माथिल्लो तलाकोे झ्यालबाट आगलागी सुरु भएको थियो । आगलागीबाट विद्यालयको दुईतले भवन पूर्ण रूपमा जलेर नष्ट भएको छ ।
विद्यालयको मुख्य प्रवेशद्वारसहित कक्षा कोठा तथा माथिल्लो तलामा रहेको कार्यालय कोठासमेत जलेर नष्ट भएको विद्यालयका शिक्षक नन्द फडेराले जानकारी दिए । उनकाअनुसार कार्यालय कोठामा रहेको भवनमा आगलागी हुँदा विद्यालयमा रहेका सम्पूर्ण दस्तावेज जलेर नष्ट भएका छन् ।
कार्यालय कोठामा भएका सोलार एक थान, दुई थान ल्यापटप, दुई थान कम्प्युटर, चार थान दराज, २० थान कुर्ची, तीन थान मादल, हार्माेनियम, क्यासियो, ड्रमसेट, २०५२ साल देखिका कागजात र दस्तावेजलगायत कक्षा कोठाका डेस्कबेञ्च, प्रिन्टरलगायत सामग्री जलेर नष्ट भएका शिक्षक फडेराले बताए । उनकाअनुसार भौतिक संरचनासहित रु दुई बरोड बराबरको सामग्री जलेर नष्ट भएको अनुमान गरिएको छ ।
विद्यालय नजिक बस्ती तथा आगो बाल्ने घरसमेत नरहेकाले अज्ञात समूहले नियोजित रूपमा आगलागी गरेको हुनसक्ने आशङ्का गरिएको विद्यालयका शिक्षक जमानसिंह परियारले बताए । आगलागी भएको समयमा कार्यालय कोठाको ढोका खुला रहेको पाइएको उनको भनाइ छ । उनका अनुसार विद्यालयमा कक्षा १ देखि ८ सम्म पढाई हुने गरेको छ ।









प्रतिक्रिया दिनुहोस्