सिंजा गाउँपालिका–३ नराकोट स्वास्थ्य चौकीमा सोमबार र मंगलबार सञ्चालन गरिएको दुईदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरमा उनीहरू जस्तै ४८ जनाले दृष्टि फिर्ता पाएका छन् । तीमध्ये २६ जना पुरुष र २२ जना महिला रहेका छन् ।
राम प्रकाश बिक । जुम्ला ।
जिल्लाको सिंजा गाउँपालिका–३ की साउनी चौलागाईँको अनुहारमा मंगलबार बिहान नयाँ उज्यालो चम्किएको थियो । किनकी उनी पहिले लट्ठीको भरमा छाम्दैछाम्दै बाटो खोज्थिन् । अब फेरि आफैँ बाटो देख्ने भएकी छन् । उनले भनिन्, ‘दुई वर्षअघि बन्द भएको दाहिने आँखाले फेरी संसार देख्न थालेपछि खुसी छुँ । आँखा नदेखेपछि जीवन अन्धकारजस्तै बनेको थियो । अब संसार फेरि उज्यालो लाग्न थालेको छ ।’
यस्तै अर्का दीप बुढा पनि खुसी बाँडिरहेका थिए । कनकासुन्दरी गाउँपालिका–३ गोठेलबाडाका बुढा शल्यक्रियापछि दृष्टि फिर्ता पाएपछि भावविह्वल हुँदै शल्यक्रिया गर्ने चिकित्सकलाई अंगालो हालेका थिए । उनले भने, ‘डाक्टरहरू त भगवान् नै हुन् । बन्द आँखामा फेरी प्रकाश ल्याइदिए ।’ सिंजा गाउँपालिका–६ भाडगाउँका १४ वर्षीय विद्यार्थी दिनेश रावतको खुसी पनि कम छैन ।
दुई महिनाअघि घरायसी काम गर्दा काँडाले आँखामा चोट पु¥याएको थियो । त्यसयता अक्षरसमेत नचिन्ने अवस्थामा पुगेका दिनेशले मंगलबारको निःशुल्क शल्यक्रियापछि पुनः स्पष्ट रूपमा पढ्ने भएका छन् । सिंजा गाउँपालिका–३ नराकोट स्वास्थ्य चौकीमा सोमबार र मंगलबार सञ्चालन गरिएको दुईदिने निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविरमा उनीहरू जस्तै ४८ जनाले दृष्टि फिर्ता पाएका छन् ।
तीमध्ये २६ जना पुरुष र २२ जना महिला रहेका छन् । यस्तै २ सय ४२ जनाको आँखा परीक्षण गरिएको थियो । शिविर नेपाल नेत्रज्योति संघ जुम्लाको समन्वय, हिमालयन आँखा अस्पताल पोखराको प्राविधिक सहयोग र गाउँपालिकाको आयोजनामा सम्पन्न भएको थियो ।गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ललितबहादुर रोकायाका अनुसार शल्यक्रिया मात्र होइन, बिरामीको आवतजावतदेखि आवाससम्मको सम्पूर्ण खर्च गाउँपालिकाले नै बेहोरेको थियो ।
रोकायाले मिसन टुडेसँग भने, ‘बिरामीले उपचार गर्न काठमाडौँ वा नेपालगन्ज पुग्दा लाखौँ खर्चिनुपर्ने अवस्था थियो, अहिले गाउँमै निःशुल्क उपचार हुँदा नागरिकका आँखामा आशाको ज्योति पलाएको छ ।’ उनका अनुसार गत कात्तिक १२, १३ र १४ गते जुम्लाको सदरमुकाम खलंगामा पनि १ सय २७ ज्येष्ठ नागरिकले निःशुल्क शल्यक्रियाबाट दृष्टि फिर्ता पाएका थिए ।
नेपाल नेत्रज्योति संघ जुम्लाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको साउनदेखि मात्रै एक हजार ४ सय ७० जनाले आँखा परीक्षण गराएका छन्। गत वर्षभरमा पाँच हजार ७ सय जनाले उपचार सेवा लिएका थिए । सिंजा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धितालले आर्थिक अवस्था र जनचेतनाको कमीका कारण धेरै नागरिक दृष्टि गुमाइरहेका छन् । ‘यस्ता निःशुल्क शिविरले अन्धोपन घटाउने मात्र होइन, ग्रामीण जनजीवनमा उज्यालो ल्याउने काम गरिरहेको छ’ उनले भने, ‘जुम्लाका गाउँहरूमा सूर्य अस्ताउँदा अन्धकारले ढाक्ने गर्छ, तर यसपटक जुम्लाको गाउँमा अन्धकार होइन, मानिसका आँखाभित्र उज्यालो फर्किएको छ ।’









प्रतिक्रिया दिनुहोस्