दश वामशक्तिबीच एकता



काठमाडौँको भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको थियो ।

भृकुटीमण्डपमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनमा नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा ९एकीकृत समाजवादी०का अध्यक्ष माधवकुमार नेपाललगायत । नेपाली कम्युनिष्ट पार्टी विभिन्न आठ वटा पार्टीको एकता भएको हो । तस्बिरः प्रदीपराज वन्त ररासस

काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । काठमाडौँको भृकुटीमण्डपमा बुधबार आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत वाम पार्टीबीच एकता घोषणा गरिएको हो ।

एकता घोषणापछि एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिष्ट पार्टी’ राखिएको छ । एकता घोषणासभामा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादीका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतम, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेपाल कम्युनिष्ट पार्टीका महासचिव चिरन पुनलगायत शीर्ष नेता तथा कार्यकर्ता सहभागी रहेका थिए ।

एकीकृत पार्टीको मार्गनिर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद र कार्यक्रम नेपाली विशेषताको वैज्ञानिक समाजवाद राखिएको छ । सो अवसरमा उक्त पार्टीको चुनाव चिह्न ‘पाँचकुने तारा’ सार्वजनिक गरिएको थियो । त्यस अवसरमा एकीकृत समाजवादीका वरिष्ठ नेता एवं एकता संयोजन समिति सदस्य प्रमेश हमालले सुशासन, सामाजिक न्याय र आर्थिक रुपान्तरण गर्दै समाजवादी क्रान्तिको लक्ष्य पूरा गर्न बृहत् कम्युनिष्ट आन्दोलनको एकीकरण आजको आवश्यकता भएकाले विभिन्न वाम घटकबीच एकता भएको बताए । उनकाअनुसार पुँजीवादी जनवादी क्रान्तिका उपलब्धिको रक्षा, राष्ट्रिय स्वाधीनताको संरक्षण, सुशासन, सामाजिक न्याय, सामाजिक आर्थिक समृद्धि र रुपान्तरण गर्दै समाजवादको आधार तयार गर्ने पार्टीको तत्कालीन कार्यनीति रहेको छ ।

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको ऐतिहासिक दिन भएको दाबी गरे । प्रचण्डले सम्भवतः १० वटा कम्युनिस्ट घटकहरू एकैपटक मिलेको यो पहिलो तथ्य हुनसक्ने पनि बताएका थिए । ‘आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनले इतिहासमा कहिल्यै नबिर्सने दिन हुनेछ । सम्भवतः १० वटा घटकहरू एकैदिन मिलेको दिन सबै आ–आफ्नो ठाउँमा वैचारिक संघर्षबाट गुज्रेका नेताहरूबाट भएको यो एकता साँच्चै अभूतपूर्व छ,’ प्रचण्डले भने ।

उनले आजको दिन नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा अविष्मरणीय ऐतिहासिक दिनका रूपमा अंकित भएको दाबी गरे । ‘तपाईँ हामी सबैका निम्ति यो गर्वको कुरा हो । यो दिन कसैले बिर्साएर अब इतिहासमा बिर्सने छैन । यो खाली कम्युनिस्ट आन्दोलनको एकताको दृष्टिकोणले मात्रै ऐतिहासिक होइन,’ प्रचण्डले अघि भने, ‘यो नेपाली राजनीतिमा अहिले देखा परेका चुनौती संकट समाधान गर्नका लागि राष्ट्रिय एकताको आधार पार्ने असाधारण दिन पनि हो ।’

नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले पार्टीलाई अझै एकीकृत र बलियो बनाएर लैजाने बताए । एकता राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै नेपालले विचार, सिद्धान्त मिल्नेसँग एकताको पहल गरिरहने र अन्य राष्ट्रवादी शक्तिसँग पनि मोर्चाबन्दी गरेर जाने बताएका हुन् । ‘संविधानको रक्षा गर्न चाहनेहरूबीच अझै पनि एकता आवश्यक छ । गणतन्त्र, संघीयताको रक्षा गर्नका लागि सके एकता नसके मोर्चाबन्दी गरेर भए पनि अगाडि बढ्ने छौँ,’ उनले भने, ‘गणतन्त्रका पक्षधरलाई हातेमालो गर्दै अगाडि बढ्नका लागि पहल गर्नेछौँ ।’

उनले विचार, सिद्धान्त, कार्यदिशा, रणनीति, कार्यनीति र कार्यक्रम मिल्नेसँग एकता गर्दै जाने तथा देशभक्त अन्य शक्तिहरूसँग मोर्चा बनाउँदै जाने बताए । कसैप्रति पूर्वाग्रह नराख्ने, सबैलाई सकारात्मक सोच राखेर एकीकृत गर्दै जाने बताएका नेपालले विदेशी दलाल, विदेशी हितका पक्षधर, गणतन्त्रका विरोधीहरूलाई भने पार्टीमा स्थान नदिइने उनले दाबी गरे । नवघोषित नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले केही विषयमा विमती भए पनि आफू एकतामा सहभागी भएको बताए ।

एकता समारोहलाई सम्बोधन गर्दै नेता खनालले आफू कहिल्यै एकताको विपक्षमा नरहेको बताउँदै केही ढिला भए पनि एकता समारोहमा सहभागी भएको बताएका हुन् । झलनाथ खनाल केही ढिला गरी कार्यक्रममा पुगेका थिए । एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकबाट एकता गर्ने निर्णयलाई अनुमोदन गर्दा झलनाथ त्यसको विपक्षमा उभिएका थिए । माधव नेपाल पक्ष एकतामै सहभागी भए पनि पार्टीलाई पुनर्गठन गरी नयाँ ढंगले अगाडि बढाउने घोषणा गरेका थिए ।

मंगलबार साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका उनले बुधबार बिहान माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका थिए । ‘मैले कमरेड प्रचण्डलाई भनिसकेको छु । हामी त्यो कुराहरू मिलाउछौँ भनेर प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यही विश्वासका आधारमा केही विमति भए पनि एकताको कुनै विकल्प छैन भनेर एकतामा बल पु¥याउनका लागि म यहाँ आएको हुँ,’ खनालले भने।
एकीकृत पार्टीबीच आगामी छ महिनाभित्र एकता राष्ट्रिय महाधिवेशनको आयोजना गर्ने सहमति भएको छ ।

एकता प्रक्रियामा सहभागी भएका पार्टीका साविकका केन्द्रीय समितिलाई समायोजन गर्दै आपसी सहमतिको आधारमा केन्द्रीय समिति गठन गरिनेछ । केन्द्रीय समितिमा संयोजक र सहसंयोजक पद रहनेछ । प्रदेश, जिल्ला, पालिका र वडा तहका सबै समितिहरूमा पनि संयोजक र सहसंयोजकको व्यवस्था हुनेछ ।एकता राष्ट्रिय सम्मेलन र एकता महाधिवेशनमा सहभागी हुने प्रतिनिधि, आयोजना, संगठनात्मक संरचनाको गठन सबै आपसी सहमति र समझदारीमा गरिने नौ दलहरूबीच सहमति भएको छ ।

पार्टी समितिहरूको सञ्चालन सामूहिक नेतृत्व प्रणालीमा आधारित जनवादी केन्द्रीयताको सिद्धान्तअनुरुप हुने उल्लेख छ । बुधबार नै विभिन्न १० वटा कम्युनिस्ट घटकहरू मिलेर नेपाली कम्युनिस्ट पार्टीको घोषणापत्र सार्वजनिक गरिएको थियो । काठमाडौँको भृकुटीमण्डपमा आयोजित कार्यक्रमकाबीच पार्टीका नेता देव गुरुङले सभामा नवगठित पार्टीको २३बुँदे घोषणापत्र सार्वजनिक गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक २० गते बिहीबार