गुठिचौरद्वारा सुशासन अभियानलाई प्राथमिकता



राम प्रकाश विक । जुम्ला ।

गुठिचौर गाउँपालिकाले सुशासन अभियानलाई प्राथमिकता दिने जनाएको छ । गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गर्दै प्रभावकारी सेवा प्रवाह र सुशासन अभियानमा जोड दिने बताएको हो । उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गर्दै नागरिकका आवश्यकताका आधारमा भौगोलिक अवस्थालाई मध्यरनजर गरेर विकासमा जोड दिने गाउँपालिका अध्यक्ष दानबहादुर बुढाले बताए । अब पालिकाको ध्यान नागरिकको सेवा प्रवाहमा केन्द्रित हुने उनको भनाइ छ ।

‘जनताबाट आएको गुनासो सम्बोधन गर्न युद्ध स्तरमा यो टिम लाग्ने प्रतिवद्धता गर्छु । गुठिचौरले ठूलोे संकल्पका साथ परिवर्तनको कुरा अगाडि बढाएको छ’ उनले भने, ‘गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै पूर्वाधार विकासमा जोड दिनेछौँ ।’ जिल्लाको प्रमुख पर्यटकीय स्थल ठाकुर ज्यू र आकासे तालमा यो आर्थिक वर्षमा सडक निर्माण गरेर सहज रूपमा पुग्ने वातावरण बनाउने उनले जानकारी दिए । जिल्लाकै पहिलो पालिकाका रूपमा सुशासन अभियान र सुरक्षित पालिका अभियान सञ्चालन गरेको उनले दाबी गरे ।

उनका अनुसार १० लाख भन्दा तलका योजना कार्यान्वयन गरिनेछ । भने प्रशासकीय भवनलाई पूर्णता दिइनेछ । नमूना गुठिचौरको नीति अवलम्बन गरिएको छ । आर्थिक वर्ष २०८१–०८२ को वार्षिक सार्वजनिक सुनुवाई कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्दै प्रमुख प्रशासकीय अधिकृत मायालक्ष्मी बुढाले एक वर्षमा १६५ वटा योजना निर्माण गरेको बताइन् । गुठिचौर गाँउपालिकामा गत आर्थिक वर्षमा चालू र पूँजीगत गरी कूल ४१ करोड ८२ लाख बढी बजेट विनियोजन गरिएको थियो ।

जसमा चालूतर्फ विनियोजित २४ करोड ३५ लाख ८६ हजारमध्ये २१ करोड ४६ लाख ७९ हजार रूपैयाँ खर्च भएको थियो । त्यस्तै पूँजिगततर्फ विनियोजित १७ करोड ४६ लाख १८ हजारमध्ये १५ करोड ६१ लाख आठ हजार खर्च भएको प्रगती प्रतिवेदनमा उल्लेख छ ।प्राविधिक शाखा प्रमुख दिपेन्द्र भण्डारीका अनुसार अन्य पूर्वाधार विकासतर्फ सार्वजनिक शौचालय पाँच वटा, विद्यालय भवन एक र मन्दिर तथा थान २० वटा निर्माण भएका छन् ।

यस्तै प्रतिक्षालय पाँच वटा, सामुदायिक भवन, स्वास्थ्य भवन तथा वडा कार्यालय निर्माण तथा मर्मत नौ वटा, गाउँपालिकाको तला थप र जलविद्युत मर्मत चार वटा निर्माण भएको उनले बताए । गुठिचौर गाउँपालिकाका पाँच वटा वडाबाट गत वर्ष आठ लाख ७६ हजार ३१३ रूपैयाँ राजस्व संकलन भएको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा सहभागी स्थानीयहरूले जेष्ठ नागरिकको बजेट घट्दै गएको बताएका थिए ।विकास निर्माणमा ढिलासुस्ती भएको र अपेक्षाकृत रूपमा पालिकाले काम गर्न नसकेको गुनासो गरे । टुक्रे योजना अन्त्य गर्नुपर्ने, आवश्यकताको आधारमा बजेट विनियोजन गर्नुपर्ने, सेवा प्रवाहलाई छिटो छरितो बनाउनु पर्ने र कार्यकर्तामुखी बजेट वितरण अन्त्य गर्नुपर्ने माग उनीहरूले गरेका थिए ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १९ गते बुधबार