कैलाली ।
स्थानीय सरकार नै सडकमा उत्रिएपछि चौकीडाँडा–ओलानी–फल्टुँडे सडक तत्काल निर्माण गर्ने प्रतिवद्धता जनाएका ठेकेदार कम्पनी पुनः सम्झौता मिच्न थालेका छन् । स्थानीय सरकार आन्दोलित भएपछि प्रमुख जिल्ला अधिकारीको रोहबरमा भएको सम्झौता बमोजिम अहिले सबबेसको काम सकिएर धमाधम बेस निर्माणको काम हुनुपर्ने थियो । तर, दुई वटा ठेक्कामध्ये एउटा ठेकदार पुनः सम्पर्कविहीन भएको छ भने अर्को ठेकेदारले सबबेस हालेको छ ।
योजना सञ्चालन गरिरहेको पूर्वाधार विकास कार्यालय कैलालीका अनुसार पहिलो खण्डको ठेक्का लिएको एड्भेन्चर–थेगिम–सनलाइट जेभीले बेसको काम गरिरहेको छ भने दोस्रो खण्डको ठेक्का लिएको टेडी निर्माण सेवा प्रालिले सबबेसकै काम अल्झाएको छ । सो सम्झौता बमोजिम काम नभएपछि गोदावरी नगरपालिका वडा नं. ३, १०, ११ र १२ का वडाध्यक्षहरू पूर्वाधार विकास कार्यालय पुगेर ठेकेदारले काम नगरेको गुनासो गरेका छन् । उनीहरूको गुनासोपछि कार्यालयले ठेकेदारहरूलाई पत्र काटी सात दिनको म्याद राखेर पत्र काटेको छ ।
सम्झौतामा ठेकेदारले असोज ३० भित्र सबबेसको काम सक्ने, कात्तिक ३० भित्र बेसको काम सक्ने, मंसिर १५ भित्र पहिलो लेयरको कालोपत्रे हाल्ने, फागुन १५ भित्र दोस्रो लेयरको कालोपत्रे सक्ने र चैत ३० भित्र रोड फर्निचरको काम पनि सक्याएर हस्तान्तरण गर्ने उल्लेख छ ।सम्झौतामा थेगिमको तर्फबाट अनिता पन्त र नारायण कडेलले हस्ताक्षर गरेका छन् भने टेडीको तर्फबाट दिलबहादुर ओलीले हस्ताक्षर गरेका छन् । रोहबरमा पूर्वाधार विकास कार्यालयका इञ्जिनियर जनक रोकाया, जितेन्द्रसिंह धामी, गोदावरी नगरपालिकाका मेयर वीरेन्द्र भट्ट तथा चार वटै वडाका वडाध्यक्षहरूले हस्ताक्षर गरेका छन् ।
सम्झौतापछि थेगिमले काम गरिरहेको भए पनि टेडीले सम्झौताको दुई–तीन दिनसम्म मात्रै काम गरी सम्पर्कविहीन भएको वडा नं. १२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताए । ‘थेगिमले सम्झौता अनुसारको समयमा काम नगरे पनि निरन्तर काम गरिरहेको छ,’ उनले भने, ‘सम्झौता गरेको दुई–तीन दिन काम गरेर टेडी सम्पर्कविहीन भयो । हामीले टेडीको सञ्चालकलाई फोन गर्दा रिसिभ हुँदैन ।’ डेढ वर्षमै निर्माण सम्पन्न गर्ने सर्तमा थेगिमले एड्भेञ्चर र सनलाइट कन्स्ट्रसनको जेभीमा पूर्वाधार विकास कार्यालय कैलालीले २०७७ साउन २४ गते सो सडकको चौकीडाँडाको कृष्ण मन्दिरदेखि वडा नं. १० को कार्यालयसम्म अढाई किलोमिटर सडक कालोपत्रे गर्ने ठेक्का लिएको थियो ।
पाँच करोड ४८ लाख २५ हजार १३ रूपैयाँमा ठेक्का कबोल गरेको थेगिमले काम नै नगरी पटक पटक म्याद थप लिंदै जाँदा ६ वर्षदेखि सडक नै अलपत्र पर्न पुगेको छ । पूर्वाधार विकास कार्यालयले सोही सडकमा थप तीन किलोमिटर (१० नम्बर वडा कार्यालयदेखि बांगेसालसम्म) सडक कालोपत्रे गर्नका लागि २०७९ चैत १७ गते अर्को ठेक्का लगाएको थियो । सो ठेक्का अढाई वर्षमा सम्पन्न गर्ने गरी छ करोड ६१ लाख ४१ हजार २०६ रूपैयाँमा तेडीले लियो । यो ठेक्काको म्याद २०८१ साउन १७ गते सकिएपनि तेडीले काम गरेको छैन । पटक पटक म्याद थप गरेपनि तेडीले काम नगरेपछि यो ठेक्का पनि अलपत्र गरेको छ ।
यि दुवै ठेक्काको भौतिक प्रगति ५०–५० प्रतिशत रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पूर्वाधार कार्यालयका ईञ्जिनियर जितेन्द्रसिंह धामीले थेगिमले आफ्नो ठेक्कामा केही दिनमै पहिलो लेयरको कालोपत्रे हाल्ने अवस्थामा पुग्ने बताए । उनले टेडीले काम नगरेको हुँदा उसलाई पछिल्लो सम्झौताको समय सीमाभित्र काम नसक्ने देखिएको बताए । ‘थेगिमले निरन्तर काम गरे समयमा ठेक्का सम्पन्न गर्न सक्छ,’ उनले भने, ‘टेडीले काम सक्ने जस्तो देखिएको छैन । माग गरे त टेडीले पनि सक्छ । तर काम नै गरेको छैन ।’
टेडीले सो ठेक्का काम सक्ने म्याद पुस ३० गतेसम्म थियो भने प्रदेश सरकारले थेगिमलाई २०८३ असार २० गतेसम्मको म्याद थपिदिएको थियो ।तर, पछिल्लो सम्झौता बमोजिम दुवै ठेकेदारहरूलाई आउँदो चैत ३० गतेसम्म म्याद दिने सहमती बनेको थियो । यि दुवै ठेक्काको काम गराउनका लागि सो सडकमा पर्ने गोदावरीको ३, १०, ११ र १२ नम्बर वडा कार्यालय जेनजी आन्दोलन अघि सडकमै कार्यालय सञ्चालन गरी विरोध गरिएको थियो । सो विरोधपछि भदौ २३ गते ठेकेदार र आन्दोलनरत स्थानीय सरकारबीच पूर्वाधार विकास कार्यालय र प्रमुख जिल्ला अधिकारीको रोहबरमा सम्झौता भएको थियो ।
चौकीडाँडादेखि बान्द्रे खालसम्मको सडकको लम्बाई १६ किलोमिटर छ भने यो सडकलाई फल्टुडेसम्म विस्तार गरी महाकाली हाइवेसंग जोड्ने योजना छ । प्रदेश सरकारले बांगेसालसम्मको सडक ठेक्का लगाए छ भने बांगेसालदेखि ओलानी, बान्द्रेखाल हुँदै कोलमुडासम्म सडक डिभिजन कार्यालय महेन्द्रनगरले ठेक्का लगाएको छ ।
संघीय ठेक्काबाट भइरहेको कामबाट प्रगति भएपनि प्रदेशको ठेक्का अलपत्र परेको गोदावरी वडा नं. १२ का वडाध्यक्ष भीमबहादुर खड्काले बताए । उनले बांगेसालदेखि ओलानीसम्म कालो पत्रे भइसकेको बताउँदै छिट्टै कोल्मुडासम्म सडक कालोपत्रे हुने बताए । यो सडकको बान्द्रै खालबाट कोलमुडा हुँदै फल्टुडेसम्म ट्रयाक पहिले नै खोलिसकिएको छ । सो सडकका लागि पूर्वाधार विकास तथा यातायात मन्त्रालयले चालूवर्ष ११ करोड रूपैयाँ विनियोजन गरेपनि जेनजी आन्दोलनपछि बनेको सरकारले तत्कालका लागि सो बजेट कार्यान्वयन नगर्न परिपत्र गरी रोक्का गरेको छ ।









प्रतिक्रिया दिनुहोस्