मतदाता नामावली दर्ताका लागि सहयोग गर्दै जेनजी युवा



नेपालगन्ज ।

बाँकेको नेपालगन्जमा केही जेनजी युवाहरू मतदाता नामावली दर्ताका लागि स्वयंसेवी रूपमा अनलाइन प्रविष्ट गर्ने काम गरिरहेका छन् । इनडिपेन्डेन्ट नेपालगन्जिया युथ नेटवर्क नामक समूहमा आबद्ध उनीहरूले विभिन्न चोकमा पुगेर मतदाता नामावलीका लागि चाहिने विवरण अनलाइन प्रविष्ट गर्ने अभियान चलाइरहेका छन् ।

उक्त समूहका एकजना सदस्य जयराम जोशीले मतदाता नामावलीका लागि अनलाइनमा विवरण प्रविष्ट गरिएको हुनुपर्ने अनिवार्य गरिएको तर सबै मतदाता अनलाइनमा आफैँ प्रविष्ट गर्नसक्ने अवस्थाका नरहेकोले आफूहरूले सघाउने उद्देश्य राखेर अभियान चलाइरहेको जानकारी दिए। उनले आगामी निर्वाचनमा सकेसम्म धेरै मानिसहरू मत खसालेर राम्रो र सक्षम मानिसहरूलाई नीति निर्माण तहमा पु¥याउनुपर्छ भन्ने विचारमा एकमत भएर विभिन्न काम तथा रोजगारीमा आबद्ध नौ जना साथीहरू मिलेर उक्त अभियान चलाइरहेको बताए ।

कात्तिक २ गतेबाट सुरु भएको अभियान कात्तिक ३० गतेसम्म जारी रहने जोशीले जानकारी दिए । हालसम्म दुई सय ५० जनाभन्दा बढीको विवरण अनलाइनमा प्रविष्ट गर्ने काममा सहयोग गरिसकेको उनले जानकारी दिए । उक्त कामकै दुई सय रूपैयाँसम्म शुल्क लिने गरिएको थाहा पाएपछि आफूहरूले सिर्जनात्मक अभियान सुरु गरेको उनले बताए ।

त्रिभुवन चोकबाट सुरु गरेको अभियान अहिले सेतु विक चोकमा डेस्क राखेर अभियान चलाइरहेका उनीहरूले अब राँझा एयरपोर्ट, चौलिक्का चोक र फुलटेक्रा मन्दिर चोकमा पनि गर्ने जानकारी दिएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १८ गते मंगलबार