वीरेन्द्रनगर ।
राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको काम निकै सुस्त गतिमा भइरहेको छ । विगत १० वर्षको अवधिमा आयोजनाको ५७ प्रतिशत मात्र काम सम्पन्न भएको हो । आयोजना निर्माणको कामले गति लिन नसकेपछि कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सो आयोजनालाई समस्याग्रस्त आयोजनाको रूपमा परिणत हुननदिन संघीय सरकारसँग आग्रह गरेका छन् ।
सरकारले सो आयोजनालाई ‘समस्याग्रस्त आयोजना’का रूपमा राख्ने तयारी गरेको चर्चाबीच उनले आयोजनास्थल अनुगमनसमेत गरेका छन् । ‘यही अवस्थामा कामको गति नबढ्ने र थप भएको समयमा समेत आयोजना सम्पन्न नहुने अवस्थाले आयोजनाको भविष्यप्रति चिन्ता उत्पन्न भएको छ,’ उनले भने, ‘समस्याग्रस्त आयोजना बन्न नदिन संघीय सरकारले विशेष पहल लिनुपर्छ । यो आयोजना सम्पन्न गर्नका लागि संघीय सरकारको विशेष पहल आवश्यक छ । यसमा हाम्रो भूमिका खेल्न तयारा छौँ ।’
मुख्यमन्त्री कँडेलले संघीय सरकारको कार्यक्षेत्र रहेपनि प्रदेशको चासो र चिन्ता धेरै भएकाले उक्त राष्ट्रिय गौरवको आयोजना निर्माणको गतिलाई यही अवस्थामा छाड्न नहुने सुझाव दिए । हालसम्म पनि ५७ प्रतिशत मात्र काम हुँदा यही गतिले अर्को चार वर्षमा पनि आयोजना सम्पन्न नहुने छाँट देखिएको हो ।
यो आयोजनालाई राष्ट्रिय गौरवको भने पनि संघीय सरकारले जति चासो लिनु पथ्र्यो, त्यो मात्रामा काम नभएको टिप्पणी भइरहेको छ । ‘आयोजनाको अहिलेको कार्यप्रगति हेरेर समस्याग्रस्त आयोजनाका रूपमा राख्ने तयारीभन्दा कामको गति बढाउने गरी विशेष योजना निर्माण गर्न संघीय सरकारले पहल लिनुपर्छ,’ मुख्यमन्त्री कँडेलले थपे, ‘यस सम्बन्धमा चाँडै नै संघीय सरकारको ध्यानाकर्षण गराइनेछ ।’ यता भेरी–बबई आयोजना प्रमुख सुरेन्द्र पौडेलले आयोजनाको कार्यप्रगति अपेक्षाभन्दा कमजोर रहेकाले थपिएको समयमा काम सम्पन्न हुन नसक्ने जानकारी दिए ।
आयोजनाका सन्दर्भमा आफूहरूको अधिकार सीमित रहेकाले माथिल्लो निकायबाट यस सम्बन्धमा विशेष पहल हुनुपर्ने उनले बताए । उनका अनुसार आर्थिक वर्ष २०७१–०७२ मा सुरु गरिएको यो आयोजनाको समग्र प्रगति विवरण कमजोर छ । २०८२ चैतसम्म काम सम्पन्न गर्ने अवधि तोकिएको सो आयोजनाका लागि अब करिब साढे पाँच महिना मात्र बाँकी रहेको छ । हाल आयोजनामा १० जना उच्च तहका प्राविधिकको पद रिक्त रहँदा कामको गति प्रभावित पारेको पौडेलले बताए ।
सुर्खेतको भेरीगंगा नगरपालिका–११ चिप्लेमा अवस्थित यो आयोजनाले भेरी नदीको पानी १२.२ किलोमिटर लामो सुरुङमार्फत बर्दिया जिल्लाको बबई नदीमा फाल्ने तयारी छ । यसबाट ४६.६ मेगावाट विद्युत् उत्पादनका साथै बाँके र बर्दियाका करिब ५१ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखिएको छ । तर आयोजनाको काम सुस्त गतिमा हुँदा आयोजना अलपत्र पर्नसक्ने भन्दै नागरिक तहबाट चिन्ता र चासो व्यक्त हुन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्