कृषि पेशामा रमाउँदै ७१ वर्षीय प्रेमनारायण



कृषिमा उनलाई साथ दिने ६८ वर्षीया श्रीमती देवका आचार्यबाहेक साहारा दिने कोही नभए पनि कृषिप्रतिको उनको पे्रम दिनप्रतिदिन बढ्दो छ । उमेर काम गर्न छोड् छोड् भनिरहेको छ, तर उनले कृषिका आयामहरू थप्दै गएका छन् । पहिलादेखि मकै, गहुँ, धान, तोरी, सरसिउँ, आलु, प्याज, लसुन, गोपी, हलेदो, अदुवा र विभिन्न प्रकारका नगदेवालीहरू खेती गर्दै आएका पे्रमनारायाणले पछिल्लो समय व्यवसायिक रूपमा केराखेती गर्न थालेका छन् ।

श्यामलाल पोखरेल । बुटवल ।

प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर १ दाङावाङका पे्रमनारायण आचार्य ७१ वर्ष पुग्न थालेका छन् । उमेरले वृद्ध भएपनि २०–२२ वर्षे युवाले जस्तै काम गरेर आफ्नो कृषि पेशा धानेका छन् । उनको न त कुनै जागिर छ, न त कुनै उद्योग व्यापार नै । उनीसँग कृषि पेशा, हातमा काम गर्ने सीप, कृषिप्रति आत्मविश्वास र निरन्तरता छ । उनको कृषि पेशा जिजुबाजोका पालादेखिको पुर्र्खौली पेशा हो । विकास र भौगोलिक विकटताको हिसाबले प्युठानको दाङवाङ पछाडी परेको एक भूगोल हो ।

आफ्नो गाउँबाट धेरैजसो घरपरिवार बसाइँसराई गरेर तराई झरेर गाउँ रित्तो जस्तै भएपनि आफ्नै जन्मगाउँमा बसेर वृद्ध पे्रमनारायण आचार्यले आफ्नो पुर्खौली पेशा कृषि पेशामा रमाएका छन् । पछिल्लो समय दाङवाङलाई सडकले जोडेपनि पानीको अभावनै छ । अहिले पनि खानेपानीको अभाव भएको उक्त गाउँमा पे्रमनारायणले पानी बोकेर भएपनि कृषि पेशा छोडेका छैनन् । गाउँमा सिँचाइको कुनै सुविधा छैन ।उनलाई कसैले सहयोग पनि गरेका छैनन् ।

कृषिमा उनलाई साथ दिने ६८ वर्षीया श्रीमती देवका आचार्यबाहेक साहारा दिने कोही नभए पनि कृषिप्रतिको उनको पे्रम दिनप्रतिदिन बढ्दो छ । उमेर काम गर्न छोड् छोड् भनिरहेको छ, तर उनले कृषिका आयामहरू थप्दै गएका छन् । पहिलादेखि मकै, गहुँ, धान, तोरी, सरसिउँ, आलु, प्याज, लसुन, गोपी, हलेदो, अदुवा र विभिन्न प्रकारका नगदेवालीहरू खेती गर्दै आएका पे्रमनारायाणले पछिल्लो समय व्यवसायिक रूपमा केराखेती गर्न थालेका छन् । दाङवाङमा स्याउसमेत फलाएका उनले अहिले ५ रोपनी जग्गामा केराखेती गर्न थालेका हुन् ।

बाख्रा पाठा पाल्नमा गाउँमै गनिएका पे्रमनारायणले सबैभन्दा राम्रो र आम्दानी दिने केराखेती भएको बताए । बाख्रा पाठा पाल्दा मिनेटैपिच्छे स्याहार सुसार गर्नुपर्ने, अन्य खेतीपातीलाई दैनिक रूपमा ध्यान दिनुपर्ने र केराखेती गरेपछि बिक्री पनि घरबाटै हुने, कम सुसार गरेर हुने भएकाले केराखेती रोजेको उनको भनाइ छ । गाउँघरको लोकल मानिने मुंग्रे, फुर्से, मालवक र जादी, कुटुरे झुप्रीलगायत विभिन्न जातका पसाएका र पसाउने उमेर पुगेका २ सय बढी केरा छन् ।

केरा पसाएर कोसा बनेपछि काँचै पनि बिक्री हुने र पाकेपछि घरबाटै खोसाखोस हुने भएकाले बजार खोज्न कहीँकतै भौँतारिन नपर्ने उनले मिसन टुडेलाई बताए । पे्रमनारायाणले केराखेतीसँगै कागती, मेवा, अमिला, मौसमी लगायतका बिरुवासमेत रोपेका छन् । अर्को साल उत्पादन दिनेगरी यि बिरुवाहरू हुर्किरहेका छन् । प्रतिकोसा काँचैमा ५ रूपैयाँँमा र पाकेका केरा प्रतिदर्जन हेरिकन ७० देखि ९० रूपैयाँँमा बिक्री हुने सुनाउँदै उनले भने, ‘बिजुवार, बाग्दुला, खलङ्गा, बरौँलाबाट फोन गरेर केराका ग्राहकले खोज्ने गरेका छन् ।

केराखेती गरेको छ भन्ने थाहा पाएपछि अहिले दाङ, देउखरी र भालुवाङबाट पनि केरा खानका लागि फोन आउने गर्दछ । बजारको मागअनुसार केरा उत्पादन गर्न सकेको छैन । माग पूरा गर्नेगरी केराखेती बढाउने योजना बनाएको छु ।’ दाङवाङमा काम गर्ने मान्छे र सिँचाइको अभावले कृषि गर्न समस्या भए पनि पे्रमनारायण र देवका आचार्यले बाउबाजेका पालादेखिको कृषि पेशा छोडेका छैनन् । विकासले साथ नदिए पनि कृषिका लागि दाङवाङलाई प्रकृतिले साथ दिएको छ । पारिलो र मलिलो माटो भएकाले दाङवाङमा धान खेतीबाहेक अन्य सबैजसो खेती हुने बलबहादुर नेपालीले बताए ।

उमेरले आराम गर्ने अवस्थाका पे्रमनारायण र देवकलाले केरालगायतका अन्य कृषि उत्पादन बिक्री गरेर वार्षिक रूपमा ५ लाख कमाइ हुने सुनाए । गाउँबाट धेरैजसो बसाइँ सरेर तराई झरेपछि केही वर्ष यतादेखि दाङवाङ गाउँ सुनसान छ । पहिलाको बाक्लै बस्तीका घरहरू ढलिसकेका छन् । गाउँमा बस्ती घटेपछि विकासका योजनाहरू असाध्यै कम हुँदै जाँदा सिँचाइका लागि दाङवाङमा पानी ल्याउने अवस्था कमजोर बन्दै गएको छ ।

राजनीतिमा लागेका, पढेलेखेका र कमाइ गर्नसक्ने जतिले गाउँ छोडिसकेका छन् । गाउँमा रहेकाहरूको राजनीतिक पहुँच नहुँदा आवश्यक अनुसारका विकासका योजनाहरू घट्दै गएको स्थानीयको गुनासो छ । दाङवाङ पशुपालनका लागि पनि अब्बल गाउँ मानिन्छ । यहाँका अधिकांश घरपरिवारको मुख्य आयस्रोत भनेको बाख्रापालन हो । दाङवाङमा पहिलेदेखि नै सबै घरपरिवारले बाख्रापालन गर्दै आएको खिमप्रसाद आचार्यले बताए । आफूलगायत अन्य गाउँवासीको जीविका बाख्रापालनबाट चलेको र धेरैको आयस्रोतको माध्यम बाख्रापालन रहेको उनको भनाइ छ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक १६ गते आइतबार