नेपालगन्ज ।
बाँकेमा धान खरिदका लागि चालू आर्थिक वर्ष २०८२–०८३ मा गत आर्थिक वर्षको भन्दा आधामात्रै कोटा तोकिएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले बाँकेका लागि १५ हजार क्विन्टल मोटा धान र पाँच हजार क्विन्टल मध्यम धान गरी २० हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य दिएको छ । गत वर्ष कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जलाई ४० हजार क्विन्टल धान खरिदको लक्ष्य दिएको थियो । तर कार्यालयले ३२ हजार क्विन्टल मात्रै धान खरिद गर्न सकेको थियो ।
मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख रामशरण लामिछानेले बाँकेका नयाँ प्रजिअ आइसकेपछि प्राथमिक खरिद समितिको बैठक बसेर खरिद मिति तोकिने जानकारी दिएका छन् । उनले आगामी हप्तामा धान खरिद सुरु हुनसक्ने बताए । ३४ हजार सात सय ११ हेक्टरमा धान खेती हुँदै आएको बाँकेमा यस वर्ष करिब एक लाख ५० हजार मेटन धान उत्पादन हुने अनुमान गरिएको कृषि ज्ञान केन्द्र बाँकेका प्रमुख विनोद घिमिरेले जानकारी दिए । गत वर्ष एक लाख ४७ हजार मेटन धान उत्पादन भएकोमा यस वर्ष मौसम राम्रो रहेकोले केही मात्रामा वृद्धि हुने अनुमान गरिएको उनले बताए ।
उत्पादनका हिसाबले यस वर्ष बाँकेमा धान खरिदका लागि तोकिएको कोटा १३ प्रतिशत मात्रै हुन आउँछ । कम्पनीको मुख्य शाखा कार्यालय नेपालगन्जका प्रमुख लामिछानेले यस वर्ष केन्द्रबाटै धान खरिदका लागि कम रकम छुट्याइएकोले कोटा पनि घटेको जानकारी पाएको बताए । उनले गत वर्षको धानबाट तयार चामलको मूल्यले बजारमा प्रतिस्पर्धा गर्न नसक्दा अझै २० हजार क्विन्टल धान गोदाममै थन्किएको पनि बताएका छन् ।
उनले व्यापारीहरूले भारतबाट सस्तोमा चामल आयात गरेर पहाडी तथा हिमाली जिल्लामा पु¥याएको बताए । तर, खाद्यको चामल तुलनात्मकरूपमा महँगो भएकोले उपभोक्ताले पनि खरिद नगर्ने गरेको उनको भनाइ छ । उता बर्दियास्थित कम्पनीको मुख्य शाखा कार्यालय राजापुरले ३० हजार क्विन्टल धान खरिदको लक्ष्य पाएको जानकारी दिएको छ । शाखा प्रमुख कमलराज पाण्डेले २५ हजार मोटा धान र पाँच हजार मध्यम धान खरिदको लक्ष्य पाइएको र सम्भव भएसम्म आइतबार खरिद समितिको बैठक बसेर मिति तोकिने जानकारी दिए ।
यस वर्ष सरकारले मोटा धानको तीन हजार चार ६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको तीन हजार ६ सय २८ रुपैयाँ ३३ पैसा समर्थन मूल्य तोकेको छ । धान खरिद गर्दा टोकन प्रणाली अपनाएर पालो निर्धारण गरिने, भुक्तानीका लागि किसानको खाता अनिवार्य गरिने र किसानको विवरण अनलाइनमा प्रविष्ट गर्ने तयरी भइरहेको पनि लामिछानेले जानकारी दिएका छन् । लामिछानेले किसानहरूको सहजीकरणका लागि स्थानीय तहहरूले गोदाम घर निर्माण गर्ने, ढुवानीमा अनुदान दिनेजस्ता सुविधा दिन सुझाव दिइरहेको बताए ।
यसका साथै स्थानीयस्तरमै पुगेर धान खरिद गर्ने वातावरण बनाउन पनि विभिन्न उपायहरू सुझाइएको उनको दाबी छ । यता चाडो धान पाकेका किसानहरूबाट व्यापारीहरूले सस्तोमै धान खरिद गर्न थालिसकेका बताइएको छ । केही किसानहरूले दुई हजार पाँच सयमै धान बेचेको सूचना आफूहरूसम्म आएको लामिछानेले बताएका छन् । धानको समर्थन मूल्य किसानहरूले पाउने व्यवस्था गर्न प्रशासनले मूल्य कायम भए नभए बजार अनुगमन गर्नुपर्ने, किसानहरू जागरुक हुनुपर्ने र खाद्यले किन्ने धानको कोटा बढाउनुपर्ने बताए ।
खाद्यद्वारा कैलालीमा धान खरिद सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा धान खरिद गर्न सुरु गरेको छ । कम्पनीले बुधबारबाट जिल्लाका छ स्थानमा खरिद केन्द्र राखेर किसानबाट धान खरिद सुरु गरेको हो । जिल्लाको मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुरबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए ।
उनका अनुसार जिल्लामा मोटा धान खरिद गरिने र यस वर्ष सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ दशमलव ८१ पैसा निर्धारण गरेको छ । उनले भने, ‘यस वर्ष कम्पनीको जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल रहेको छ, कोटा बढ्न सक्ने देखिन्छ, प्रतिकिसानबाट बढीमा ५० क्विन्टलका दरले धान खरिद गर्ने योजना छ ।’ कार्यालय प्रमुख थापाले धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस, चेकको प्रतिलिपि ल्याउनुपर्ने बताए ।
खाद्यले धान खरिद सुरु गरेसँगै किसानले सरकारले निर्धारण गरेको समर्थन मूल्य पाउने भएका छन् । यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य थिए । गत वर्ष जिल्लामा कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०० क्विन्टलमात्र खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।









प्रतिक्रिया दिनुहोस्