शिवु खनाल । दाङ ।
नेपालसँग सीमा नाका जोडिएको भारतको सीमावर्ती क्षेत्रमा दुईजना सिकारी पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा भारतको बलरामपुर जिल्ला हरैया निवासी २८ वर्षीय राकेशकुमार पासवान र जिल्ला बलरामपुर किथूरा निवासी ३० वर्षीय वंशीलाई भारतीय एसएसबीले पक्राउ गरेको हो । नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासँग जोडिएको सोहेलवा वन क्षेत्र (९)औँ वाहिनी सशस्त्र सीमा बल ‘एफ’ कम्पनी, सिरिया नाका कार्यक्षेत्रअन्तर्गत संयुक्त गस्ती टोलीले दुईजना सिकारीलाई पक्राउ गरेर नियन्त्रण लिएको हो । पक्राउ परेका सिकारीहरू बँदेलको अवैध शिकारमा संलग्न रहेको बताइएको छ ।
घटनाबारे जानकारी दिँदै सशस्त्र सीमा बल (एसएसबी) र वन विभाग, बाह्रौँ रेन्जका संयुक्त स्रोतका अनुसार मंगलबार साँझ पौने छ बजे गोप्य सूचना प्राप्त भएपछि तत्काल संयुक्त गस्ती टोली पठाइएको थियो । गस्ती टोलीले जंगलको गहिरो भागमा केही व्यक्तिहरूलाई शंका लाग्ने गरी हिँड्दै गरेको देखेपछि नियन्त्रणमा लिन खोज्दा ती सिकारीहरू भाग्ने प्रयास गरेका थिए । सोहीक्रममा दुईजना सिकारीहरूलाई सीमा स्तम्भ नम्बर ६०७ (सीमाबाट करिब ७.५ किलोमिटर भारततर्फ)नजिकै पक्राउ गरिएको जनाइएको छ । पक्राउ परेकाबाट बँदेलको मासु, शिकारमा प्रयोग हुने हतियार, एक मोटरसाइकल र एक साइकलसमेत बरामद गरिएको छ ।
बरामद सामग्री र व्यक्तिहरूलाई नियन्त्रणमा लिएर वन विभागको जिम्मा लगाइएको छ । वन विभागका अनुसार पक्राउ परेका दुईजनाबाहेक अन्य फरार रहेका छजना सिकारीहरूविरुद्ध वन्यजन्तु संरक्षण ऐन १९७२ को धारा ९, २७, २९, ३१ र ५१ अन्तर्गत मुद्दा नम्बर ३२÷२०२५–२०२६ दर्ता गरिएको छ । वन विभागका एक अधिकृतका अनुसार भारत–नेपाल सीमाक्षेत्रको जंगलमा पछिल्लो समयमा अवैध सिकारीहरूको गतिविधि बढ्दो क्रममा छ । सीमा सुरक्षामा निरन्तर गस्ती बढाइने वन विभागले जानकारी दिएको छ । सोहेलवा वन क्षेत्र वन्यजन्तुका दृष्टिले संवेदनशील क्षेत्र मानिन्छ ।
जहाँ जँगली सुँगुर (बँदेल), हरिण, नीलगाई लगायतका दुर्लभ प्रजातिहरू पाइन्छन् । वन विभागले स्थानीयवासीलाई पनि वन्यजन्तु संरक्षणमा सहयोग पु¥याउन अनुरोध गरेको छ । वन्यजन्तुको अवैध चोरी सिकारी नियन्त्रण गर्न दुई देशबीच सहमति भए तापनि दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढ्दै गएको पाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा हुने वन्यजन्तुको चोरी सिकारी अवैध व्यापार नियन्त्रणका लागि सूचना तथा तथ्य र तथ्याङ्क आदानप्रदान गरेर अपराध नियन्त्रण गर्न नेपाल र भारतका सरकारी अधिकारीबीच सहमति भएको छ तर, भारत–नेपालमा संरक्षित दुर्लभ वन्यजन्तुको चोरी–सिकारी प्रत्येक वर्ष बढ्न थालेको भारतीय वन विभागले जनाएको छ ।
भारतीय वन विभागका अनुसार सीमा–नाका क्षेत्रमा दुर्लभ वन्यजन्तुको चोरी–सिकारी बढेको पाइएको छ । चोरी–सिकारीमा संलग्न तस्कर धेरै पक्राउ परेकाले पनि यसको कारोबार भइरहेको देखाउँछ । अनुसन्धानले विशेषगरी उत्तरी नाकातर्फ चोरी सिकारी बढेको देखिन्छ ।
नेपाल–भारत अन्तर्राष्ट्रिय सीमासँग जोडिएको सोहेलवा वन क्षेत्रभित्र रहेको दुर्लभ वन्यजन्तुको संरक्षणको निरन्तर प्रयास गरे पनि जरायो, चित्तल, बँदेलजस्ता आहाराजन्य प्रजातिको बढ्दो चोरी–सिकारी हुने गरेको छ भने बेलाबखत दुर्लभ रेडपाण्डा, निलगाई, लगायतका जनावरहरूको अवैध व्यापार हुने गरेको पाइएको छ । यसैगरी भारतीय निकुञ्जभित्र रहेका विभिन्न प्रजातिका वन्यजन्तुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएसँगै मानव र वन्यजन्तुबीचको द्वन्द्वमा पनि वृद्धि भएको छ ।









प्रतिक्रिया दिनुहोस्