सम्पादकीयः आन्दोलन होइन संवाद रोजौँ



गत भदौ २३ र २४ गते भएको विध्वंश आन्दोलनका कारण देश अहिले जर्जर अवस्थाबाट गुज्रिरहेको छ । छ दर्जनभन्दा बढी नेपालीका छोराछोरीहरूले आफ्नो बलिदान दिएका छन् । उनीहरूको रगत अझैपनि ताजै छ । हजारौँ युवायुवतीहरू घाइते बने । अझैपनि दर्जनौँको सङ्ख्यामा युवाहरू विभिन्न अस्पतालहरूमा उपचाररत रहेका छन् । देशले अपूरणनीय मानवीय क्षति व्यहोर्नुका साथै अर्बौँ खर्बौँ रूपैयाँ बराबरका ऐतिहासिक भौतिक संरचनाहरू गुमाउनुप¥यो । देश वर्षौँसम्म पछि धकेलियो । अझैपनि कैयौँ सरकारी कार्यालय तथा स्थानीय सरकारहरूले सेवा सुचारु गर्न सकेको अवस्था देखिँदैन् । जेनजी आन्दोलनका कारण देशमा तत्कालीन सरकार परिवर्तन भयो र जेनजी आन्दोलनका बलमा नयाँ अन्तरिम सरकार बनेको अवस्था छ । अन्तरिम सरकारले अझैसम्म पनि आफूलाई पूर्णता दिन नसकेको अवस्था छ भने अर्कोतर्फ प्रतिनिधिसभा निर्वाचनको मितिसमेत तोकिएको अवस्था छ । यतिखेर देशमा निर्वाचनको माहौल हुनुपर्ने थियो । देश निर्वाचनको पूर्णतयारीका साथ लाग्नुपर्ने थियो तर अवस्था त्यस्तो देखिँदैन् ।

समयमै निर्वाचन होला कि नहोला भन्नेमा आमसर्वसाधारणले आशंका व्यक्त गरिरहेका छन् । अझैपनि देश तरलतामा बगिरहेको छ । कतिबेला के हुन्छ ? केही पनि भन्न सकिने अवस्थामा छैन् । यस्तो अवस्थामा पनि अझै केही जेनजी समूहहरू तथा अन्य विभिन्न संघसंस्थाहरूले आन्दोलन घोषणा गरेर सडक आन्दोलनमा आउने भनेर विभिन्न प्रचारहरू गरिरहेका देखिन्छन् । यो समय देशमा आन्दोलन होइन, शान्ति र सद्भावको खाँचो छ । विभिन्न कालखण्डमा भएका आन्दोलनबाट प्राप्त अधिकारहरूलाई संरक्षण र सुरक्षित गर्नुपर्ने खाँचो छ । देश अप्ठ्यारो स्थितिबाट हिँड्दै गर्दा आन्तरिक तथा वाह्य शक्तिहरूले चलखेल गर्ने मौका पाउनेछन् र आफ्नो मनपरी गर्नलाई नेपाललाई राम्रो थलोको रूपमा उपयोग गर्न उद्दत हुनेछन् । जसका कारण देश छिन्नभिन्नको अवस्थामा समेत नपुग्ला भन्न सकिँदैन् । यो अवस्थामा जेनजी समूहहरूले उठाएका विभिन्न माग र मुद्दाहरूलाई सरकारले आवश्यक सम्बोधन गर्न जरुरी छ । आन्दोलन होइन कि वार्ताका माध्यमबाट समस्याहरू समाधान गर्नका लागि असन्तुष्ट जेनजी समूहहरूलाई सरकारले वार्तामा आउने अवस्थाको सिर्जना गर्न आवश्यक छ ।

र आन्दोलन घोषणा गरेका कैयौँ जेनजी समूहहरूले पनि आन्दोलनको विकल्पमा वार्ता र संवाद रोज्नु आवश्यक छ । भर्खरै देशले यस्तो अपूरणीय क्षति बेहोरेको जगजाहेर नै छ । देशले आन्दोलन होइन, शान्ति र विकास खोजेको छ । सधैँभरी आन्दोलन भइरहने, सरकार परिवर्तन भइरहने हो भने स्थायी शान्ति कहिले हुने हो ? स्थायी सरकार कहिले बन्ने ? तसर्थ आफ्ना माग तथा मुद्दाहरूलाई वार्ता र संवादका माध्यमबाट सरकारलाई दबाब दिन आवश्यक छ । यो बेलामा जेनजी समूह मात्र नभएर अन्य च्याँखे समूहहरू पनि आन्दोलनका नाममा समाजलाई भड्काउने कोशिस गरिरहेका देखिन्छन् । उनीहरूको उद्देश्य भनेको देशमा सधैँभरी अस्थिरता ल्याउने, अवस्था धमिल्याउने र आफ्ना च्याँखे दाउँ थाप्ने मात्र हो । देशमा परिवर्तन ल्याउन उनीहरूको कुनैपनि योगदान देखिँदैन् । सर्वसाधारण नागरिकले पनि आफैँले बुझ्नुपर्ने समय हो यो।

देशले अनावश्यकरूपमा कति आन्दोलन थेग्ने हो ? प्राप्त उपलब्धिहरूलाई जोगाउनका लागि आन्दोलन छाडेर सम्पूर्ण नेपालीहरू एकजुट हुन आवश्यक छ । देशमा अस्थिरता बनाइराख्ने, घुसपैठ गर्ने, अशान्ति चाहने त्यस्ता तत्वहरूलाई सबैले चिन्न आवश्यक छ । सबै मिलेर संविधान र कानुन अनुसारनै राज्य सञ्चालनका लागि सहयोग गर्नुपर्दछ । देशमा निर्वाचन तोकिइसकेको अवस्थामा आन्दोलन नभएर चुनावी वातावरण तयार पार्नका लागि सम्पूर्ण राजनैतिक दल तथा जेनजी समूहहरूका युवापुस्ताहरू लाग्नु जरुरी छ । सधैँको अनावश्यक आन्दोलनलाई देशले थेग्न सक्दैन् । आन्दोलन घोषणा गरेका सम्पूर्ण समूहहरू तथा पक्षहरूले सम्बन्धित निकाय तथा सरकारसँग वार्ता र संवादका माध्यमबाट समस्या समाधानका लागि पहल गरौँ । आन्दोलन होइन संवाद रोजौँ ।

  • No tags available
प्रकाशित मिति : २०८२ कात्तिक ११ गते मंगलबार