अहिले छठ पूजा मधेसमा सीमित छैन । काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान र नेपालगन्जमा समेत भव्यरूपमा मनाइन्छ । कृत्रिम पोखरीहरू र घाटहरू निर्माण गरी श्रद्धालुहरूलाई पूजा गर्न सहज बनाइन्छ । यसले धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाएको छ । हिन्दु, मुस्लिम, बुद्ध, किराँत समुदायका मानिसहरू समेत सहभागी भएर यो पर्वलाई सामूहिक उत्सवको रूप दिन्छन् ।

सर्लाहीको सदरमुकाम मलङ्गवा–४ स्थित शिवसागर पोखरीको छठ घटमा अस्ताउन लागेको सूर्य भगवानलाई पूजाअर्जना गर्न बसेका ब्रतालुहरु । तस्बिरः विश्वनाथ ठाकुर÷रासस
प्रेमचन्द्र झा
नेपाल धार्मिक, साँस्कृतिक र भाषिक विविधताको देश हो । यहाँका हरेक पर्वले केवल भक्ति र आस्थाको प्रतीक मात्र होइन, सामाजिक एकता र सहअस्तित्वको सुन्दर सन्देश पनि दिन्छ । यही बहुरङ्गी संस्कृतिको मधुर संगीतभित्र एउटा अनुपम पर्व छ– सूर्य षष्ठी व्रत, जसलाई प्रायः छठ पर्व भनेर पनि चिनिन्छ । यो व्रत सूर्यदेव र उहाँकी शक्ति माता षष्ठी अर्थात् छठी मइयाप्रति समर्पित हुन्छ । ‘सूर्य षष्ठी’ शब्दले नै यसको मर्म खोलिदिन्छ । ‘सूर्य’ जीवनका दाता, ऊर्जा र प्रकाशका स्रोत हुन् भने ‘षष्ठी’ संस्कृतमा छैटौँ तिथिको सूचक हो । त्यसैले शुक्ल पक्षको छैटौँ दिन सूर्यदेवको आराधना हुने भएकाले यसलाई सूर्य षष्ठी भनिएको हो । बिहार, झारखण्ड र उत्तर प्रदेशमा यो पर्व ‘छठ पर्व’ वा ‘दाला छठ’ नामले परिचित भए पनि नेपालमा यसले आफ्नै पहिचान र गहिरो साँस्कृतिक रंग पाएको छ । पुराणहरूमा सूर्य उपासना र षष्ठी देवीको महिमा विस्तारले उल्लेख गरिएको छ । रामायणमा समेत श्रीराम र सीताले अयोध्या फर्किएपछि राज्यको कल्याणका लागि सूर्यदेवको आराधना गरेको प्रसङ्ग पाइन्छ । लोककथाअनुसार राजा प्रियव्रत र रानी मालिनीका सन्तान नहुँदा षष्ठी देवीको आराधनाले उनीहरूलाई सन्तान प्राप्त भयो, त्यसैबेला यो व्रतको परम्परा सुरु भएको मानिन्छ ।
छठ व्रतको मुख्य उद्देश्य सूर्यदेव र छठी मइयाको आराधना गर्दै परिवारमा सुख, समृद्धि, दीर्घायु र स्वास्थ्यको कामना गर्नु हो । यस व्रतले श्रद्धालुलाई आत्म–संयम, शुद्धता र अनुशासनको बाटोमा लग्छ । व्रतालुहरू चार दिनसम्म अत्यन्त पवित्रता र कठोर नियमपालनसहित उपवास बस्छन् । यो पर्व नेपालमा विशेषगरी मधेस प्रदेशमा गहिरो रूपमा प्रभाव जमाएको छ । जनकपुर, सर्लाही, धनुषा, महोत्तरी, पर्सा, बारा, रौतहट, सिराहा र सप्तरीका घाटहरूमा यो पर्वले जीवन्त रूप पाउँछ । नदी, पोखरी र तालका किनारमा हजारौँ श्रद्धालुहरूको भीड लाग्छ, लोकगीत गुन्जिन्छन्, दियोहरू बल्छन् र वातावरण भक्ति र सौन्दर्यले भरिन्छ । छठ केवल धार्मिक कर्मकाण्ड होइन यो सामाजिक एकताको पनि प्रतीक हो । यस पर्वमा महिलाहरू प्रमुख भूमिकामा रहन्छन् । परिवारका सुख–समृद्धिका लागि उनीहरूले कठोर उपवास र संयम अपनाउँछन् । यसरी महिलाको श्रद्धा र धैर्यले सम्पूर्ण परिवारमा आस्था र अनुशासनको वातावरण बनाउँछ । व्रतालुलाई ‘पवनैतिन’ भनिन्छ र उनीहरूको तपस्या नै यो पर्वको आत्मा हो ।
चार दिनसम्म मनाइने यो पर्व नहाय–खायबाट सुरु हुन्छ । पहिलो दिन बिहानै स्नान गरी घर र आँगन सफा गरिन्छ । परवैतिनले एकपटक मात्र शुद्ध भोजन ग्रहण गर्छिन् । दोस्रो दिन खरना हुन्छ, जसमा दिनभर उपवासपछि साँझ सूर्यास्तको बेला दूध, गुड र चामलले बनेको खीर र रोटी तयार गरी यस पर्वमा पहिलो नैवेदसहित आराधना गरिन्छ । तेस्रो दिन साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने ‘संध्या अघ्र्य’को विशेष पूजा हुन्छ । महिलाहरू पानीमा उभिएर सूर्यलाई दूध र जल अर्पण गर्छन् । घाटहरू दियो, फूल र फलफूलले सजाइएका हुन्छन् । चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिई व्रत तोडिन्छ । यो क्षण परिवारका सबै सदस्यहरूका लागि अपूर्व उल्लास र आशीर्वादको क्षण हुन्छ । छठ पर्वको तयारीमा घरको सफाइदेखि घाट निर्माणसम्म सबै कार्य सामूहिकरूपमा गरिन्छ । बाँसका डोका, सूप, टोकरी, फलफूल, उखु, नरिवल, ठेकुवा, भुसुवा आदिको तयारीमा गाउँभर रौनक छाउँछ । महिलाहरू प्रायः पहेँलो वा सुन्तला रङको साडीमा सिँगारिन्छन्, जसले पवित्रता र सूर्यको तेज दुवै जनाउँछ ।
मधेसका गल्ली–गल्लीमा यस समयमा लोकगीत र भजन गुन्जिन्छन् — ‘केरवा जे फरेली घउदे से’ ‘अरे गंगा जल मेँ’, ‘उठल भोर भइल भिनसरिया’ जस्ता गीतहरूले भक्ति र भावना दुवैलाई एकसाथ जागृत गर्छन् । गीत, संगीत र भजनमा नाच्दै, गाउँदै श्रद्धालुहरूले छठ मइयाको आराधना गर्छन् । छठले पर्यावरणीय सन्देश पनि बोकेको छ । सूर्य, जल, माटो र फलफूलको पूजा गरेर यस पर्वले प्रकृतिप्रति सम्मान व्यक्त गर्छ । घाटहरू सफा गर्ने परम्पराले नदी र पोखरीको संरक्षणमा योगदान पु¥याउँछ । यस अर्थमा छठ केवल धार्मिक होइन, पर्यावरण–मित्र पर्व पनि हो । अहिले छठ पूजा मधेसमा सीमित छैन । काठमाडौँ, पोखरा, चितवन, बुटवल, धरान र नेपालगन्जमा समेत भव्यरूपमा मनाइन्छ । कृत्रिम पोखरीहरू र घाटहरू निर्माण गरी श्रद्धालुहरूलाई पूजा गर्न सहज बनाइन्छ । यसले धार्मिक सहिष्णुता र राष्ट्रिय एकताको सन्देश फैलाएको छ । हिन्दु, मुस्लिम, बुद्ध, किराँत समुदायका मानिसहरू समेत सहभागी भएर यो पर्वलाई सामूहिक उत्सवको रूप दिन्छन् ।
छठ पर्वको मर्म आत्म–संयम, श्रद्धा र कृतज्ञताको अभ्यासमा निहित छ । सूर्यदेव केवल आकाशका तेजका प्रतीक होइनन्, ज्ञान, सत्य र जीवनका पनि दाता हुन् । व्रतालुले आफ्नो शरीर र आत्मालाई शुद्ध पार्दै सूर्यप्रति धन्यवाद ज्ञापन गर्छन् । किनभने सूर्यबिना जीवन असम्भव छ ।
नेपालका मधेसका घाटहरूमा जब अस्ताउँदो सूर्यको सुनौलो किरण जलमा झिलमिलाउँछ, हजारौँ दियोहरू एकैसाथ बल्छन् र लोकगीतको मधुर स्वर फैलिन्छ, त्यतिबेला छठको दृश्य केवल आस्थाको नभई सौन्दर्यको पनि प्रतीक बन्छ । त्यही क्षणमा आस्था र प्रकृति एकअर्कामा विलय हुन्छन् । सूर्य षष्ठी व्रतले हामीलाई सिकाउँछ – जीवनमा अनुशासन, शुद्धता र प्रकृतिप्रतिको सम्मानबिना वास्तविक सुख सम्भव छैन । यो पर्वले परिवारमा प्रेम, समाजमा सहकार्य र राष्ट्रमा एकताको भाव जगाउँछ । छठ अब केवल मधेसको पर्व होइन, सम्पूर्ण नेपालीहरूको साझा आस्था बनेको छ । यसले धर्म, संस्कृति र सहअस्तित्वको अद्भुत मिसाल प्रस्तुत गरेको छ । सूर्यका किरणजस्तै यो पर्वले देशभर उज्यालो फैलाइरहेको छ– श्रद्धा, संयम र कृतज्ञताको उज्यालो । साँचो अर्थमा छठ पर्व त्यो क्षण हो जब सूर्य आकाशमा मात्र होइन, मानिसको मनमा पनि उदाउँछ ।









प्रतिक्रिया दिनुहोस्