अहिलेको नेपालको संस्कृति मिश्रित प्रकारको छ । यसलाई खिचडी संस्कृति पनि भनिन्छ । सामन्तवादी र साम्राज्यवादी संस्कृतिको मिलनबाट यो खिचडी संस्कृतिको निर्माण हुन्छ । यहाँ देवी देवताको पूजाआजा र डान्स बारहरू सँगसँगै चलिरहेका हुन्छन् ।टेलिभिजनहरूले पुराणका कथा र पश्चिमी छाडा संस्कृतिलाई आलोपालो गरि प्रस्तुत गर्दछन् ।
चिन्तामणि घिमिरे
संस्कृति भन्नाले मानिसको रहनसहन, लवाइखवाइ, बसउठ, आनीबानी, व्यवहार, चालचलन र जीवनशैली हो । यो मानिसको जीवन पद्धति हो । जीवन दृष्टि हो । सामान्यरूपमा मान्छेहरूले संस्कृतिलाई भेषभूषा, परम्परा, चाडपर्व, सामाजिक संस्कार, रीतिरिवाज, प्रथा, प्रचलन, धर्मकर्म आदिलाई बुझ्छन् । अझ गीत सङ्गीत र नृत्य आदिलाई पनि बुझ्दछन् । निश्चितरूपमा यी कुरा संस्कृतिका विविध रुप हुन । यिनलाई संस्कृतिबाट अलग गर्न सकिँदैन । मान्छेको आनीबानी, व्यवहार आदिमा संस्कृति झल्केको हुन्छ । संस्कृतिले व्यापक अर्थ समेटेको हुन्छ । व्यापक क्षेत्र ओगटेको हुन्छ । संस्कृतिलाई संकुचित अर्थमा नभएर व्यापक अर्थमा बुझ्नुपर्ने हुन्छ । वास्तवमा मान्छे, जात– जाति, वर्ग, समाज वा राष्ट्रकै पहिचान संस्कृति हो । मानवकै पहिचान संस्कृति हो । मान्छे पशुभन्दा फरक संस्कृतिकै कारणले हुन्छ ।
संस्कृत भाषाको संस्कृतबाट संस्कृति शब्दको निर्माण भएको हो । अंग्रेजीमा संस्कृति शब्दलाई ऋगतिगचभ भन्दछन् । अंग्रेजीको ऋगतिगचभ शब्द ल्याटिन भाषाको ऋगतिगचब शब्दबाट बनेको हो । यसको प्रारम्भिक अर्थ खेती गर्नु वा परिस्कृत तुल्याउनु हो । व्यापक अर्थमा भन्नुपर्दा संस्कृतिअन्तर्गत मानवश्रमद्वारा सिर्जित सबै वस्तु, मानिसका विचार, मूल्य–मान्यता, आचार आदि पर्दछन् । संस्कृतिको अर्थ परिमार्जन तथा शुद्धीकरण हो । महान साहित्यकार माक्सिम गोर्कीको विचारमा संस्कृति भनेको दोश्रो प्रकृति हो । पहिलो प्रकृति स्वस्फूर्तरूपमा विकसित रहिआएको प्रकृति हो भने दोश्रो प्रकृति भनेको मानवनिर्मित संस्कृति हो । सोभियत संघबाट प्रकाशित दर्शन कोश भन्ने किताबमा उल्लेख गरिएअनुसार ‘संस्कृति ती सबै भौतिक तथा आत्मिक मूल्यहरूको योग हो, जुन सामाजिक ऐतिहासिक व्यवहारको प्रक्रियामा मानिसद्वारा निर्माण गरिएको हुन्छ र जसले समाजको विकासमा आर्जित ऐतिहासिक चरणलाई अभिलक्षित गर्दछ ।’ यो भनाइले संस्कृतिको सारलाइ राम्रोसँग उद्घाटित गर्दछ । त्यस्तै माओत्सेतुङको भनाइमा ‘कुनै खास संस्कृति कुनै खास समाजको राजनीति र अर्थव्यवस्थाको विचारधारात्मक प्रतिविम्ब हो ।’ संस्कृतिसम्बन्धी माओको यो भनाइ विज्ञानसम्मत रहेको छ ।
संस्कृति प्राकृतिक हुँदैन, यो मानवनिर्मित हुन्छ । आफ्नो मौलिक आवश्यकताहरूको परिपूर्ति गर्ने उद्देश्यद्वारा अभिप्रेरित भइ प्रकृतिसँग अन्तरक्रिया गर्ने प्रक्रियामा श्रमकार्यका बीचबाट संस्कृतिको जन्म भएको हो । संस्कृतिको निर्माता श्रमिक जनसमुदाय हुन । संस्कृति मानवीय श्रमद्वारा निर्मित भौतिक तथा आत्मिक मूल्यहरूको समष्टि हो । वर्ग समाजमा संस्कृतिको स्वरुप वर्गीय हुने गर्दछ । सामान्यतया संस्कृतिलाई दुई भागमा विभाजित गर्न सकिन्छ– भौतिक र आत्मिक संस्कृति । भौतिक संस्कृति उत्पादनका औजार, प्रविधि, जीवनको भौतिक आवश्यकता परिपूर्तिका निम्ति उत्पादित वस्तुहरूका स्तर, गुण तथा मूल्यसँग सम्बन्धित हुन्छ । त्यस्तै आत्मिक संस्कृति दर्शन, नैतिकता राजनीति, कानुन विज्ञान, धर्म, सौन्दर्यबोध, कला, शिक्षालगायत वैचारिक पक्षमा आधारित हुन्छ । साथै भाषा र बोली पनि आत्मिक संस्कृतिको परिधीभित्र पर्दछन्। भौतिक संस्कृति र आत्मिक संस्कृति परस्पर सम्बन्धित छन् । भौतिक संस्कृति आत्मिक संस्कृतिको जग हो र आत्मिक संस्कृतिले भौतिक संस्कृतिलाई प्रभावित पार्दछ । कुनै देश वा समुदाय भौतिक संस्कृतिका दृष्टिले समृद्ध छ तर आत्मिक संस्कृतिका दृष्टिले कमजोर हुन सक्दछ । त्यसैगरी आत्मिक संस्कृतिका दृष्टिले अगाडि भएको देश भौतिक संस्कृतिमा पछाडि हुन सक्दछ ।
संस्कृति वर्गीय हुन्छ । ठगी खाने वर्गको संस्कृति र श्रमगरी खाने वर्गको संस्कृति । संस्कृति श्रमिक वर्गले उत्पादनको दौरानमा विकसित गरेको मूल्यमान्यता हो । श्रमिक वर्गको मान्यता भनेको श्रम गरी जिउनु पर्दछ र श्रमको उचित मूल्य पाउनु पर्दछ भन्ने हो । साथै मानिस मानिस बीचको भेदभाव अन्त्य हुनुपर्छ र एक आपसमा प्रेम हुनुपर्छ भन्ने हो । उता शोषक वर्गको मान्यता भनेको श्रमिक वर्गलाई लुटेर खान पाउनु पर्छ भन्ने हो । अहिले नेपाल र संसारभरी शोषक वर्गको संस्कृति हावी छ । विशेषतः साम्राज्यवादी संस्कृति हावी छ । साम्राज्यवादले संसारभरका उत्पीडित, अर्धविकसित र अविकसित राष्ट्रहरूमा धर्म, भाषा र शिक्षाको माध्यमबाट आफ्नो संस्कृति फैलाइरहेको छ । नेपाल पनि त्यसबाट अछुतो छैन ।
२०६२–०६३ सालको जनआन्दोलनपश्चात् देशमा सीमित प्रकारको लोकतन्त्र त आयो तर देश वैदेशिक हस्तक्षेपको चक्रव्यूहमा फस्यो । हुन त यो वैदेशिक हस्तक्षेप भन्ने कुरा नयाँ होइन । सन् १८१६ को अपमानजनक सुगौली सन्धिपश्चात् बृटिश भारतको निगरानीमा रहँदै आएको हो । सन् १९४७ पछि बेलायतले त्यो जिम्मेवारी भारतलाई सुम्पिदियो । भारतले अहिलेसम्म बेलायतको बिडो थामिरहेको छ ।
अहिले अमेरिका नेपालको राजनीतिमा प्रत्यक्ष सामेल भएको छ । एमसीसी प्रोजेक्टमार्फत अमेरिका प्रत्यक्षरूपमा जोडिन पुगेको हो । आर्थिक सहयोगको नाममा नेपालको अस्तित्वलाई धरापमा पार्ने कोसिस भइरहेको छ । भाषा, शिक्षा र संस्कृतिमाथि आक्रमण भइरहेको छ । मातृभाषाहरू संकटको स्थितिबाट गुज्रिरहेका छन । नयाँ पुस्ताको आकर्षण आफ्नो मातृभाषामा होइन अंग्रेजी भाषातिर छ । आफ्नो मातृभाषा अप्ठ्यारो र अंग्रेजी भाषा सजिलो लाग्न थालेको छ । निजी विद्यालयहरूले अंग्रेजी भाषालाई बढी फोकस गरिरहेका छन् । हाम्रो खानपान, रहनसहन, लवाइखवाइ सबैमा फरक हुँदै आइरहेको छ । अहिले दही, दूध र महीको सट्टामा कोकाकोला हावी हुँदै गइरहेको छ । मकैभट्ट (जसलाई पहाड र हिमाली भेगमा खाजाको रूपमा प्रयोग हुन्छ)को सट्टामा चाउचाउ र चाउमीन हावी हुँदै आइरहेको छ । जन्म र विवाहमा अपनाइने तौरतरिका र खर्चको स्थिति हेर्दा कहालीलाग्दो नै छ । धनाढ्य वर्गले मनपरि तरिकाले खर्च गर्छ भने मध्यम वर्गले पुँजीपति वर्गको संस्कृतिलाई शिरोपर गरिरहेको हुन्छ भने निम्नमध्यम वर्ग भने त्यो संस्कृति अपनाउन बाध्य भएको हुन्छ ।
राज्य पक्षबाट जनताको संस्कृतिलाई संरक्षण गर्नुको सट्टा उपेक्षा गर्ने काम भइरहेको छ । शारीरिक श्रमलाई सम्मान गर्ने संस्कृतिको विकास हुन सकेको छैन । यसमा दलाल पुँजीवादी संसद्वादी दलहरूलाई वास्ता हुने कुरो भएन तर आफूलाई कम्युनिस्ट भनेर चिनाउन खोज्ने दलहरूले श्रमसंस्कृति र जनसंस्कृतिको निर्माणका सवालमा आफूलाई अगाडि बढाउनुको सट्टा पछाडी धकेल्दै लगिरहेका छन् । अहिले नेपालमा नवऔपनिवेशिक संस्कृति फैलिरहेको छ । देख्दामा हामी पूर्णस्वतन्त्र जस्तो देखिन्छौँ तर व्यवहारमा हामी पूर्णनियन्त्रित छौँ । हाम्रो विचार, चेतना, साहित्य, संस्कृति, शिक्षा सबै नियन्त्रित छ । अर्थराजनीति परनिर्भर भएपछि अरु बाँकी कसरी आत्मनिर्भर हुन्छ । राज्यसत्तामा बसेर मनमौजी गर्नेहरूको सोचाइ नै पूरै मगन्ते (भिखारी) छ । सानोतिनो काम पर्दा पनि विदेशीहरूसँग हात थाप्ने चलन छ । कुरा फेरि यिनैका ठूला छन । देश बनाउने भन्दा पनि देश लुट्ने काम भइरहेको छ । नागरिकलाई कसरी स्वाभिमान बनाउन सकिन्छ भनेर सोचेको कहिल्यै देखिएन ।
जबसम्म मान्छे आर्थिकरुपले आत्मनिर्भर हुँदैन तबसम्म संस्कृति पनि दाताहरूकै बोकेर हिँड्नुपर्ने बाध्यता आइलाग्ने गर्दछ । अहिलेको नेपालको संस्कृति मिश्रित प्रकारको छ । यसलाई खिचडी संस्कृति पनि भनिन्छ । सामन्तवादी र साम्राज्यवादी संस्कृतिको मिलनबाट यो खिचडी संस्कृतिको निर्माण हुन्छ । यहाँ देवी देवताको पूजाआजा र डान्स बारहरू सँगसँगै चलिरहेका हुन्छन् । टेलिभिजनहरूले पुराणका कथा र पश्चिमी छाडा संस्कृतिलाई आलोपालो गरि प्रस्तुत गर्दछन् । पुँजीवादी र संसोधनवादीहरूले यही संस्कृतिलाई मलजल गरिरहेका छन् र नेपाली जनतामाथि लादिरहेका छन् । नेपाली जनतालाई अन्धकारमा राखिरहन चाहिरहेका छन् ।









प्रतिक्रिया दिनुहोस्