शेरबहादुर ऐर । कैलाली ।
कैलालीको धनगढीस्थित होटल साथीमा सञ्चालित किङ्स लञ्च गेमिङ क्लबमा जिल्ला प्रशासन कार्यालयले अनुगमन गरेको छ । यस मिसन टुडे राष्ट्रिय दैनिकमा ‘क्यासिनो नियमविपरीत सञ्चालन, नेपाली निर्वाध प्रवेश’ शीर्षकमा समाचार प्रकाशन भएपछि शुक्रबार प्रशासनले अनुगमन गरेको हो । जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत तथा सूचना अधिकारी शिवराज जोशीले क्यासिनोमा अनुगमन गर्दा नेपाली प्रवेश गरेको नपाइएको बताए । उनले भने, ‘क्यासिनोमा अनुगमन गर्दा नेपाली प्रवेश गराइएको भेटिएन । क्यासिनोमा लाइभ जुवा कहिलेकाहीँ हुने गरेको रहेछ ।’
क्यासिनो नियमावलीअनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र गेम खेलाउन पाउँछन् । नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठूला क्यासिनो– जहाँ लाइभ जुवा नै चल्छ । दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । तर पर्यटन विभागको यो नियमलाई लत्याउँदै धनगढीमा सीमा क्षेत्रनजिकै होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले ठूलो क्यासिनो दाबी गर्दै जुवातास खेलाइरहेको स्वयम् सञ्चालकले स्वीकार गरेका थिए ।
होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले दैनिक नभई सातामा जुवातास खेलाउने गरेको क्यासिनोका प्रबन्धक सुनील श्रेष्ठले बताए । उनले भारतीय नागरिकलाई मध्यनजर गरेर दैनिक नभई सातामा जुवातास खेलाउने गरेको स्वीकार गरे । उनले भने, ‘हामीले वार्षिक एक करोड पर्यटन विभागमा राजस्व तिरिरहेका छौँ । धनगढी उपमहानगरपालिकामा पनि वार्षिक ५० हजार राजस्व तिरिरहेका छौँ । यो मिनि क्यासिनो होइन । ठूलो क्यासिनो हो ।’
धनगढीमा अहिलेसम्म चारतारे होटलसमेत खुल्न सकेको छैन । अहिले होटल सनलाइट र चौलानी होटल स्तरोन्नति गर्दै पाँचतारे होटल बनाउने तयारीसहित लागिरहेको छ । होटल साथीले पनि आफूलाई स्तरोन्नति गराउने तयारी गरेको थियो । क्यासिनोले दुई÷तीन महिनाअघि नेपालीलाई पनि निर्वाध क्यासिनोमा प्रवेश गराइरहेको प्रमाण यस दैनिकसँग सुरक्षित रहेको छ । हामीसँग प्राप्त प्रमाणमा प्रलोभनमा पारि क्यासिनोले नेपाली प्रवेश गराइरहेको थियो । क्यासिनो भारतीय ग्राहकलाई लक्षित गरी मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरूको समेत भिड लाग्ने गरेको थियो ।
जसले गर्दा कतिपय नेपाली परिवारहरूको बिल्लीबाठ हुन पुगेका छन् । क्यासिनोले सञ्चालन गरेको तास जुवाबाट धनगढीका कतिपय करोडपति व्यापारी युवाहरू रोडमा आएका छन् । क्यासिनोमै म्यारिज, पप्लु र फलासको जुवाबाट धनगढीका सुन व्यवसाय गरिरहेका व्यापारी घर, न घाटका बनेका छन् । हामीलाई प्राप्त प्रमाणका आधारमा क्यासिनोमा नेपाली व्यवसायीलाई आकर्षण गराउन विभिन्न प्रलोभनमा पारिएको थियो । विगतमा धनगढीका व्यापारीहरू क्यासिनो खेल्न कैलालीदेखि नेपालगन्जसम्म जाने गर्थे ।
तर, अहिले केही व्यवसायीहरू सोही क्यासिनोमा पुगेर सम्पत्ति नास भएको बताउँछन् । एक व्यापारीले भने, ‘कहिले आधा पैसा देउ त, कहिले भोलि पर्सी दिनु तथा नयाँ–नयाँ आकर्षण अफर रहेकोलगायत ह्वाटएप्समा म्यासेज गरि बोलाउने कार्य क्यासिनोबाट भयो । यहाँका धेरै कमाउने व्यापारीहरूलाई नै सोही क्यासिनोले निशाना बनाएको देखिन्छ ।’ प्रबन्धक सुनील श्रेष्ठले जुवातास खेलाउने गरेको स्वीकार गरेको भएपनि नेपालीहरूलाई क्यासिनोमा प्रवेश गराउने गरेको विषयमा अस्वीकार गरे ।
क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावलीअनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट पाँच किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पुँजी चाहिने, धार्मिक तथा सांस्कृतिकरूपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । नेपालका क्यासिनोहरूले यो मापदण्ड मानेका छैनन् ।









प्रतिक्रिया दिनुहोस्