शेरबहादुर ऐर । कैलाली ।
कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ मा रहेको कठरिया मेडिकल हल दर्ता नगरि सञ्चालनमा रहेको छ । औषधि बिक्री वितरण गर्दै आइरहेको सो मेडिकल हलले इजाजतपत्र नलिई सञ्चालनमा रहेको पाइएको हो । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको गंगोत्री मेडिकल हललाई स्वास्थ्य कार्यालयमा आएर १५ दिनभित्र दर्ता इजाजतपत्र लिन निर्देशन दिइयो ।
स्वास्थ्य कार्यालय कैलाली, प्रदेश प्रयोगशाला, धनगढी उपमहानगरपालिकाको स्वास्थ्य शाखाले बुधबार गरेको बजार अनुगमनका क्रममा धनगढी उपमहानगरपालिकाभित्र सञ्चालित क्लिनिक तथा फार्मेसी र प्याथोलोजीहरू दर्ता इजाजतपत्र नलिई सञ्चालन भइरहेको पाइएको हो ।धनगढीमा रहेको नमुना प्याथोलोजी, सिद्धार्थ डाइग्नोष्टिक पनि दर्ता इजाजतपत्र नलिई सञ्चालन भएको पाइएको स्वास्थ्य कार्यालय कैलालीले जनाएको छ ।
स्वास्थ्य कार्यालयका दिपक जोशीका अनुसार बुधबार २२ वटा क्लिनिक, पोलिक्लिनिक र फार्मेसी अनुगमन गरिएको थियो । जसमध्ये केही दर्ता इजाजतपत्र लिनुपर्नेबारे अनभिज्ञ देखिएको पाइएको जनाइएको छ । उनले भने, ‘अनुगमनका क्रममा चार वटा फार्मेसी तथा क्लिनिक र मेडिकल हलमा कैफियत फेला परेको थियो । उनीहरूलाई १५ दिनभित्र दर्ता इजाजतपत्र लिन अनुरोध गरेका छौँ ।’
धनगढीमा सञ्चालनमा रहेका फार्मेसी, प्याथोलोजीहरू आन्तरिक राजस्व कार्यालयबाट प्यान नम्बर लिई सञ्चालन भइरहेका भएपनि सम्बन्धित स्वास्थ्य कार्यालय, स्थानीय तहको स्वास्थ्य महाशाखामा दर्ता नवीकरण नगरि सञ्चालन भइरहँदासमेत सरोकारवाला निकायले सम्झाइ बुझाई गरी छोड्ने प्रवृत्ति बढ्दो रहेको छ । सुदूरपश्चिम प्रदेशको प्रमुख स्वास्थ्य केन्द्रका रूपमा परिचित धनगढी पछिल्ला वर्षहरूमा स्वास्थ्यको हव बन्दै गएको छ ।
सरकारी र निजी दुवै क्षेत्रका स्वास्थ्य संस्था विस्तारसँगै उपचार सेवामा सहजता भएको दाबी गरिएपनि नियमनमा कमजोरीकै कारण अवैधरूपमा सञ्चालन भइरहेका अस्पताल, क्लिनिक र प्रयोगशालाले स्वास्थ्य सेवा प्रणालीमै प्रश्न उठाइदिएका छन् । धनगढीस्थित सेती प्रादेशिक अस्पताल अगाडीनै सरकारी मापदण्ड पूरा नगरेका निजी स्वास्थ्य संस्थाहरू खुलारूपमा सञ्चालनमा रहेको पाइएको छ ।
स्वास्थ्य कार्यालय कैलालीका अनुसार गरीमा पोलिक्लिनिक र सिटी पोलिक्लिनिक दुवै संस्थाले इजाजतपत्रबिना नै सेवा दिइरहेका छन् । गरीमा पोलिक्लिनिकको इजाजतपत्र २०७९ सालमै सकिएको भएपनि तीन वर्षदेखि म्याद नवीकरण नगरी अवैधरूपमा स्वास्थ्य सेवा दिइरहेको तथ्य फेला परेको हो । स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ अनुसार मापदण्ड पूरा नगरेसम्म कुनै पनि संस्थालाई अनुमति नदिने व्यवस्था छ ।
तर, अनुमति नपाए पनि यी क्लिनिकहरूले स्वास्थ्य सेवा प्रवाह गरिरहेका छन् । स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवरले दुवै क्लिनिकले फाइल पेश गरिसकेको तर मापदण्ड पूरा भएनभएको अनुगमन भइरहेको बताए । उनले मापदण्डविपरीत सञ्चालनमा रहेको पाइएको खण्डमा तत्काल बन्द गर्ने चेतावनीसमेत दिए ।
नियमनमा उदासिनता
स्थानीय तह, स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच समन्वयको अभावले गर्दा अवैध स्वास्थ्य संस्था नियन्त्रणमा आउन नसकेको सरोकारवालाको भनाइ छ । बजार क्षेत्रदेखि ग्रामीण इलाकासम्म कानुनको पालना नगरी सञ्चालन भइरहेका अस्पताल, प्रयोगशाला र मेडिकलहरूलाई नियन्त्रण गर्ने जिम्मेवारी निकायहरू उदासिन बनेका कारण समस्यामा वृद्धि भएको देखिन्छ ।
स्वास्थ्य कार्यालय कैलालीका प्रमुख कुँवरका अनुसार निजी स्वास्थ्य संस्थाहरूको फाइल मापदण्डअनुसार परीक्षण भइरहेको छ । तर अनुमतिबिना सेवा प्रवाह गर्नेहरूलाई जिल्ला प्रशासन कार्यालयमार्फत कारबाहीको सिफारिस गर्ने प्रथा मात्रै चलिरहेको र कार्यान्वयनमा कमजोरी रहेको स्वीकारोक्ति समेत छ ।
स्वास्थ्य सुरक्षामाथि प्रश्न
अवैधरूपमा सञ्चालनमा रहेका स्वास्थ्य संस्थाले उपचारमा गुणस्तर कायम गर्न नसक्ने र बिरामीको जीवनसमेत जोखिममा पार्ने चिन्ता बढेको छ । सरोकारवालाहरूले अवैध र मापदण्डविपरीत सञ्चालित स्वास्थ्य संस्थामाथि तत्काल कडाइका साथ कारबाही गर्न सरकारसँग माग गरेका छन् ।









प्रतिक्रिया दिनुहोस्