धनगढीको होटल साथीमा रहेको मिनी क्यासिनो किङ्स लञ्च गेमिङ क्लबले मापदण्डविपरित जुवातास खेलाउने गरेको छ । त्यहाँ नेपाली जुवाडेहरूको समेत भिड लाग्ने गरेको छ । जसले गर्दा कतिपय नेपाली परिवारहरूको बिल्लीबाठ हुन पुगेका छन् । मिनि क्यासिनोले खेलाउने जुवाबाट धनगढीका कतिपय करोडपति व्यापारी युवाहरू रोडमा आएका छन् ।
शेरबहादुर ऐर । कैलाली ।
क्यासिनो नियमावलीअनुसार मिनी क्यासिनोले मेसिनबाट मात्र गेम खेलाउन पाउँछन् । तर, सो विपरीत कैलालीको धनगढीमा खुलेको एक मिनी क्यासिनोले ठूला क्यासिनोमा जस्तै जुवा खेलाउने गरिएको पाइएको छ । नेपालमा दुई किसिमका क्यासिनो छन् । पहिलो, पाँचतारे होटेलमा सञ्चालित ठूला क्यासिनो– जहाँ लाइभ जुवा नै चल्छ ।
दोस्रो उपत्यका बाहिरका मिनी क्यासिनो– जहाँ मेसिनबाट मात्र जुवा खेल्न पाइन्छ । तर पर्यटन विभागको यो नियमलाई लत्याउँदै धनगढीमा सीमा क्षेत्रनजिकै होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले ठूलो क्यासिनो दाबी गर्दै जुवातास खेलाइरहेको पाइएको हो । होटल साथीमा किङ्स लञ्च गेमिङ क्लबले दैनिक नभई सातामा जुवातास खेलाउने गरेको क्यासिनोका प्रबन्धक सुनील श्रेष्ठले बताए ।
उनले भारतीय नागरिकलाई मध्यनजर गरेर दैनिक नभई सातामा जुवातास खेलाउने गरेको स्वीकार गरे । उनले भने, ‘हामीले वार्षिक एक करोड पर्यटन विभागमा राजस्व तिरिरहेका छौँ । धनगढी उपमहानगरपालिकामा पनि वार्षिक ५० हजार राजस्व तिरिरहेका छौँ । यो मिनी क्यासिनो होइन । ठूलो क्यासिनो हो ।’ धनगढीमा अहिलेसम्म चार तारे होटलसमेत खुल्न सकेको छैन ।
अहिले होटल सनलाइट र चौलानी होटल स्तरोन्नति गर्दै पाँच तारे होटल बनाउने तयारीसहित लागिरहेको छ । होटल साथीले पनि आफूलाई स्तरोन्नति गराउने तयारी गरेको थियो । तर, अहिलेसम्म सो मापदण्डअनुसार पुग्न सकेको छैन । जुवातासमात्र नभई सो क्यासिनो भारतीय ग्राहकलाई लक्षित गरी मिनी क्यासिनो सञ्चालन भए पनि त्यहाँ नेपाली जुवाडेहरूको समेत भिड लाग्नेगरेको छ । जसले गर्दा कतिपय नेपाली परिवारहरूको बिल्लीबाठ हुन पुगेका छन् ।
क्यासिनोले सञ्चालन गरेको तास जुवाबाट धनगढीका कतिपय करोडपति व्यापारी युवाहरू रोडमा आएका छन् । क्यासिनोमै म्यारिज, पप्लु र फलासको जुवाबाट धनगढीका सुन व्यवसाय गरिरहेका व्यापारी घर न घाटका बनेका छन् । हामीलाई प्राप्त प्रमाणका आधारमा क्यासिनोमा नेपाली व्यवसायीलाई आकर्षण गराउन विभिन्न प्रलोभनमा पारिएको देखिन्छ ।
विगतमा धनगढीका व्यापारीहरू क्यासिनो खेल्न कैलालीदेखि नेपालगन्ज जाने गर्थे । तर, अहिले केही व्यवसायीहरू सोही क्यासिनोमा पुगेर सम्पत्ति नास भएको बताउँछन् । एक व्यापारीले भने, ‘कहिले आधा पैसा देउ त, कहिले भोलि पर्सि दिनु तथा नयाँ–नयाँ आकर्षण अफर रहेको लगायत ह्वाट्सएपमा म्यासेज गरि बोलाउने कार्य क्यासिनोबाट भयो । यहाँका धेरै कमाउने व्यापारीहरूलाई नै सोही क्यासिनोले निशाना बनाएको देखिन्छ ।’
नेपालीलाई प्रवेश दिलाउनु र खेलाउनै नपाइने कार्ड गेम खेलाउने काम क्यासिनो नियमावलीविपरीत हो । क्यासिनोमा खासगरी नेपालीबाहेकलाई प्रवेश पाउने नियम छ । प्रबन्धक सुनील श्रेष्ठले जुवातास खेलाउने गरेको स्वीकार गरेको भएपनि नेपालीहरूलाई क्यासिनोमा प्रवेश गराउने गरेको विषयमा अस्वीकार गरे । उनले भने, ‘हामीले परिचयपत्र हेरेरमात्र क्यासिनोमा प्रवेश गराउने गरेका छौँ । तपाईँलाई आएको गुनासो झुठो हो । तपाईँ यहाँ राखिएको सीसीटिभी फुटेज पनि हेर्न सक्नुहुन्छ ।’
क्यासिनो सञ्चालन निर्देशिका तथा नियमावलीअनुसार क्यासिनो सञ्चालनका लागि अन्तर्राष्ट्रिय सीमाबाट पाँच किलोमिटर टाढा हुनुपर्ने, क्यासिनो सञ्चालनका लागि पर्यटकीय क्षेत्र घोषणा हुनुपर्ने, कम्तीमा २५ करोड चुक्ता पुँजी चाहिने, धार्मिक तथा सांस्कृतिक रूपमा संवेदनशील मानिएको क्षेत्र बाहिर हुनुपर्ने प्रावधान छ । नेपालका क्यासिनोहरूले यो मापदण्ड मानेका छैनन् ।
कैलालीकी सहायक प्रमुख जिल्ला अधिकारी किरण जोशीले क्यासिनोबाट नेपालीहरू लुटिएको तथा जुवातास खेलाइरहेकोबारे कसैबाट गुनासो नआएको बताइन् । उनले भनिन्, ‘नियमविपरीत क्यासिनोबाट कार्य भइरहेको जानकारी पाए अनुगमन गरि नियमनमा ल्याइने छ ।’ उनले नेपालीहरूका लागि क्यासिनो सञ्चालन नगरिएकाले त्यहाँ नजान अनुरोध गरिन् ।








प्रतिक्रिया दिनुहोस्