नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको अनुवांशिक श्रोत केन्द्र, खुमलटारले बाँके, बर्दिया, कैलाली, कपिलवस्तु र पाल्पामा पाइने जंगली धानको प्रजाति, इतिहास र विशेषताबारे अनुसन्धान अघि बढाएको छ ।
निशु जोशी । नेपालगन्ज ।
बाँकेसहितका केही जिल्लामा प्राकृतिक रूपमा उम्रिएको जंगली धानको संरक्षण र प्रयोगबारे नेपाल सरकारले अध्ययन सुरु गरेको छ । नेपाल राष्ट्रिय कृषि अनुसन्धान परिषद (नार्क) अन्तर्गतको अनुवांशिक श्रोत केन्द्र, खुमलटारले बाँके, बर्दिया, कैलाली, कपिलवस्तु र पाल्पामा पाइने जंगली धानको प्रजाति, इतिहास र विशेषताबारे अनुसन्धान अघि बढाएको हो ।
यसै क्रममा केन्द्रका धान प्रजनन् विज्ञ डा. मुकुन्द भट्टराईले बाँके जिल्लामा स्थलगत अवलोकन गर्दै नमूना संकलन गरेका छन् । उनले बाँकेमा ‘निवारा’ र ‘रुफिपोगन’ गरी दुई प्रजातिको जंगली धान फेला परेको बताए । भट्टराईका अनुसार निवारा प्रजाति सतही पानी वा डेढ मिटरसम्मको पानीमा उम्रिन्छ भने रुफिफोगन गहिरा ताल–पोखरीमा पाइन्छ ।
जंगली धान बाँकेका नेपालगन्ज, कोहलपुर, पिपिरी लगायतका ठाउँहरूमा खाली जमिन, सडकछेउ र पानी जम्ने ठाउँमा पाक्न लागेको अवस्थामा प्रशस्त देखिएको छ । पाक्ने क्रममा क्रमशः एक एक गर्दै दाना झर्ने भएकाले बीउ संकलनमा कठिनाइ हुन्छ । तर, यस धानको विशेषता भनेको पानीभित्र खसे पनि बीउ एक वर्षसम्म सुरक्षित रहने र अर्को सिजनमा पुनः उम्रन सक्ने हो ।
डा. भट्टराईका अनुसार जंगली धानमा डुवान सहने, रोगकिरा प्रतिरोध गर्ने, असिना पर्दा कम क्षति हुने, फट्यांग्राले नखानेजस्ता विशेष गुण हुन्छन् । यी गुणलाई सामान्य धान वा अन्य अन्नबालीमा सारेर नयाँ प्रजाति विकास गर्न सकिन्छ । ‘धानको उत्पादन बढाउने होइन, तर रोग प्रतिरोधी वा असिना सहने गुण विकास गर्न जंगली धान महत्वपूर्ण हुन्छ,’ उनले भने ।
नेपालमा करिब २ सय वर्षदेखि जंगली धान रहिआएको अनुमान गरिएको छ । अघिल्ला पुस्ताले यसलाई ‘चोखो धान’ मानेर व्रतमा खाने परिकारका रूपमा समेत प्रयोग गर्ने गरेको पाइन्छ । अहिले पनि कपिलवस्तुमा यसको प्रयोग भइरहेको डा. भट्टराईले बताए । स्थानीय स्तरमा यसबारे खासै जानकारी नभए पनि बाँकेका कोहलपुर–८ का वडाध्यक्ष लालबहादुर रानाले आफ्नो क्षेत्रमा वर्षौँदेखि जंगली धान देखिँदै आएको बताए ।
‘जौँजस्तो चुंगा आएको धानजस्तो देखिने यो बाली सामुदायिक वनमा संरक्षण गर्न सकिन्छ भने हामी तयार छौँ,’ उनले भने । कोहलपुरकै धर्मकुमारी रानाले हरेक वर्ष घरछेउमा जंगली धान उम्रीने गरेको र दाना निकाली कुखुरालाई खुवाएको अनुभव सुनाइन् । तर यो खान मिल्ने हो कि होइन भन्ने जानकारी भने आफूलाई नभएको उनले बताइन् । जंगली धान संरक्षण अभियन्ता पुरमल बस्नेतका अनुसार बाँकेमा सडकछेउ, पोखरी र सामुदायिक वन क्षेत्रमा ४–५ विघा जमिनमा जंगली धान फैलिएको छ ।
उनले दीर्घकालीन संरक्षणका लागि समुदाय र सरकारी निकायबीच सहकार्य आवश्यक रहेको बताए । विशेषज्ञहरूका अनुसार जंगली धान नेपालकै मौलिक सम्पदा हो, जसलाई चीन र भारतले नेपाली सीमा क्षेत्रमा रहेको दाबी गर्दै आएका छन् । तर यति ठूलो सङ्ख्यामा अन्यत्र नभएकाले यसको उद्गमस्थल नेपाल नै भएको ठहर अनुसन्धानले गर्ने अपेक्षा गरिएको छ ।
नेपालमै पाइने यो अमूल्य धानको गुण संरक्षण गरी नयाँ प्रजाति विकास गर्न सकिए देशको खाद्य सुरक्षामा महत्वपूर्ण योगदान पुग्ने विज्ञहरूको भनाइ छ । कैलालीको घोडाघोडी ताल, पाल्पा लगायतका क्षेत्रमा विस्तारै यो धान मासिने क्रममा देखिएकाले संरक्षण गर्न आवश्यक देखिएको डा. भट्टराईले बताए ।









प्रतिक्रिया दिनुहोस्