एकै वडाका दुई युवा गुमाएको टोलः शव नपाउँदा छटपटीमा आफन्त



नेपालगन्ज वडा नम्बर १ को धम्बोझी आदर्श टोल अहिले दुईजना आफ्ना होनहार सपूतहरू गुमाउनुपर्दा शोकमग्न छ । त्यसैमाथि उनीहरूको शवसमेत नपाउँदा त्यसले थप पीडा दिइरहेको स्थानीयहरू बताउँछन् । ‘उहाँहरूले अहिले छोराको शव पाउँ भनेर हारगुहार नगरेको कुनै ठाउँ छैन,’ नेपालगन्ज उपमहानगरपालिका वडानम्बर १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘कसैले पनि उहाँहरूको सुनुवाइ गरिरहेको छैन । मृतकका परिवारमा परेका पीडातिर यतिखेर कसैको ध्यान छैन ।’

नेपालगन्ज ।

‘मेरो प्रिय छोरा सुलभराज श्रेष्ठ र हाम्रो देशका अरु छोराछोरीहरूको आत्मा र शरीरलाई मुक्त गराइदिन सहयोग गर्नुहोस् । उनीहरूको शरीर अहिलेपनि अस्पतालमा छ र गेट बन्द छ । हामी सबै असहाय छौँ । उसको आमाले नेपालगन्जमा उसको शव चाहिरहेकी छ । कृपया हामीलाई सहयोग गर्नुहोस्,’ भदौ २३ गते काठमाडौँमा जेनजीको आन्दोलनका क्रममा प्रहरीले हत्या गरेका नेपालगन्जका सुलभराज श्रेष्ठका पिता नरेन्द्र श्रेष्ठले गरेको आर्तनाद हो यो ।

उनले यो आर्तनाद जेनजी समूहले बुधबार आयोजना गरेको डिस्कर्ड छलफलको फेसबुकमा भइरहेको लाइभ स्ट्रिमिङमुनि पनि कमेन्टमा पनि पोष्ट गरिरहेका थिए । नरेन्द्र अहिले काठमाडौँमा छोराको शव लिनका लागि हारगुहार गरिरहेका छन् । सुलभका काका नाता पर्ने विवेककुमार श्रेष्ठ पनि अहिलेसम्म मृतकहरूको शवसमेत देख्न नपाउँदा परिवारमा पीडामाथि पीडा थपिइरहेको बताउँछन् । उनले भने, ‘सबैले पहल गरौँ । उहाँहरूको घरमा सारै पीडा छ । मृत बाबुको बाबा काठमाडौँ र आमा नेपालगन्जमा हुनुहुन्छ ।

उहाँहरूको घरको पीडा देख्दा सारै पीडा भइरहेको छ । यति दिन भैसक्यो कति आमाबाबाले मृत छोराछोरीको लाश पनि देख्न पाएको छैन ।’
नेपालगन्ज वडा नम्बर १ को धम्बोझी आदर्श टोल अहिले दुईजना आफ्ना होनहार सपूतहरू गुमाउनुपर्दा शोकमग्न छ । त्यसैमाथि उनीहरूको शवसमेत नपाउँदा त्यसले थप पीडा दिइरहेको स्थानीयहरू बताउँछन् । ‘उहाँहरूले अहिले छोराको शव पाउँ भनेर हारगुहार नगरेको कुनै ठाउँ छैन,’ नेपालगन्ज उपमहानगरपालिका वडानम्बर १ का अध्यक्ष प्रमोद रिजालले भने, ‘कसैले पनि उहाँहरूको सुनुवाइ गरिरहेको छैन । मृतकका परिवारमा परेका पीडातिर यतिखेर कसैको ध्यान छैन ।’

भर्खरै मात्र इन्जिनियर सकेका आयुश सुन्दर भविष्यको खोजीमा अमेरिका जाने तयारीमा थिए । उनले अमेरिकामा जागिरसमेत पक्का भएर जान लागेका आफन्तहरू बताउँछन् । छिमेकीहरूका अनुसार उनको सपना देशमा सुशासन होस् भन्ने पनि थियो । त्यही भएर उनी पनि आन्दोलनमा गएका थिए । त्यही आन्दोलनमा गएका बेला सुलभलाई प्रहरीले गोली हानेर हत्या गरिदियो । सुलभका आफन्तहरू उनलाई परिवारले आन्दोलनमा नजान भनेपनि उनी आन्दोलनमा सहभागी भएको बताउँछन् ।

आइतबार साँझ सुलभसँग नेपालगन्जमा रहेको परिवारसँग फोनमा अन्तिमपटक कुराकानी भएको थियो । उनले भोलिपल्ट आफू पनि आन्दोलनमा जाने कुरा बताएका थिए । बुवाआमाले आन्दोलनमा नजान आग्रह गरेपनि उनले आन्दोलनमा जानु जरुरी रहेको भन्दै सम्झाइबुझाइ गरेका थिए । तर, आन्दोलनमा प्रहरीको गोली लागेपछि घाइते भएका सुलभलाई तत्कालै ट्रमा सेन्टर पुयाइएपनि चिकित्सकहरूले बचाउन नसकिने बताएका थिए ।

धम्बोझीकै अर्का युवा आयुश थापाले पनि जेनजीको आन्दोलनका क्रममा प्रहरीको गोलीको सिकार हुनुपरेको छ । आयुष पनि केही दिनमा फ्रान्स जाने तयारीमा थिए । आयुषका बुवा सुशिल थापा काठमाडौँमा छन् । आयुशको परिवारको अवस्था यस्तो छ कि बुवा सुशिल घरमा मुटुमा पेशमेकर राखिएका बुवा र आमालाई छाडेर काठमाडौँ गएका छन् । तर काठमाडौँमा उनलाई पनि छोराको शव दिइएको छैन । फ्रान्स जाने तयारीमा रहेका आयुशले त्यसका लागि भिसा प्रक्रियाको अन्तिम चरणमा पुगेको परिवारसँग केही दिनअघि बताएका थिए ।

तर, उनी पनि जेनजीको आन्दोलनमा सहभागी हुँदा प्रहरीको गोली लाग्यो । उनलाई पनि उपचारका लागि ट्रमा सेन्टर लगिएकोमा चिकित्सकले बचाउन सकेनन् । आयुशका हजुुरबुवा अवकाशप्राप्त ब्रिटिश आर्मी टोपबहादुर थापाका अनुसार आयुश पनि ब्रिटिश आर्मी बन्ने सपना देख्थे । तर उनको दाँतमा भएको समस्याका कारण छनौट हुन नसकेपछि रोजगारीका लागि विदेश जाने तयारीमा थिए । टोपबहादुर र उनकी श्रीमती कलावतीलाई नातिको मृत्युको खबर दिइएको छैन ।

उनीहरूलाई घाइते भएको मात्रै भनिएको छ । छिमेकीहरूले उनीहरूलाई नातिको मृत्यु भइसकेको जानकारी नपुगोस् भन्ने हेतुले सावधानी अपनाएका छन् । आयुशका बुवा सुशिलका अनुसार उनी देशमा व्याप्त भ्रष्टाचार र कुशासनविरुद्ध क्रुद्ध थिए । उनले पुराना नेताहरूले देशमा सुशासन कायम गर्न नसकेको भन्दै असन्तुष्टि पोख्ने गरेका थिए । सुशिलले भने, ‘छोराहरू आफ्नो जायज सपनाहरू लिएर सडकमा उत्रिँदा गोली ठोकेर मारियो । तर, अहिले शव पनि दिइएको छैन । हाम्रो पीडातिर कसैको ध्यान छैन ।’

अहिले करिब एक किलोमिटरको फरकमा घर रहेका दुई होनहार युवाको आन्दोलनका क्रममा ज्यान गएपछि धम्बोझी टोल नै शोकमग्न छ । अर्काेतिर देश अन्यौलतामा रहँदा र शवहरू बुझ्न नपाउँदा स्थानीयहरूमा छटपटी छ । ‘पालैपालो जम्मा भएर परिवारलाई ढाडस दिइरहेका छौँ । हामीले सक्नेजति सबै प्रयास गयौँ तर केही लागेन । यतिखेर भन्ने पनि कसलाई ? कि आन्दोलनको अगुवाइ गरेको जेनजीले सहजीकरण गर्नुपयो कि सेनाले । हामी बडो बडो अन्यौलतामा छौँ,’ वडाध्यक्ष रिजालले मिसन टुडेसँग भने ।

  • No tags available
प्रकाशित मिति : २०८२ भदौ २७ गते शुक्रबार