काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा बुधबार दुई पक्षले काठमाडौँमै अलग अलग कार्यक्रम गरे । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ आयोजना गरेको थियो । संस्थापन इतर समूहले आफ्नो भेलाबाट राष्ट्रिय भेला गर्ने घोषणा नै ग¥यो ।
वीरेन्द्र जैसी । नेपालगन्ज ।
आफू प्रधानमन्त्री रहेको जननिर्वाचित सरकारलाई अपदस्त गरेका, ८ वर्ष जेलमा राखेका, मृत्युदण्डको मुद्दासमेत लगाएर निर्वासनमा जान बाध्य पारेका राजासँग मेलमिलापको नीति लिएर स्वदेश फर्किएका वीपी कोइरालाको स्मृति दिवसमा उनकै अनुसरण गर्छाैँ भन्ने काँग्रेसका नेताहरु एउटै मञ्चमा समेत बस्न सकेनन् । बरु पार्टीको संस्थापन र संस्थापनइतर पक्षमा बाँडिएर अलग अलग कार्यक्रम गरे । संस्थापन इतर समूहले आफ्नो भेलाबाट राष्ट्रिय भेला गर्ने घोषणा नै ग¥यो ।
काँग्रेसका संस्थापक नेता वीपी कोइरालाको ४४औँ स्मृति दिवसको अवसरमा बुधबार दुई पक्षले काठमाडौँमै अलग अलग कार्यक्रम गरे । काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले काठमाडौँ उपत्यकामा ‘ग्रीन रन’ आयोजना ग¥यो । बुधबार बिहान आयोजित कार्यक्रममा काँग्रेस सभापति गगनकुमार थापा लगायतका नेता–कार्यकर्ताहरु सहभागी भए । तर, संस्थापनइतर पक्षका नेताहरु उक्त कार्यक्रममा सहभागी भएनन् ।
‘जलवायु जनचेतना जगाउन जुटौँ’ नाराका साथ पाँच किलोमिटर दौड आयोजनापछि जावलाखेल चोक, फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती ः निराकरण कसरी’ शीर्षकमा विज्ञहरुसहितको समूहगत छलफलसमेत भयो । काँग्रेसले आज विहीबार राष्ट्रिय सभागृहमा ‘नवीन परिस्थिति ः नवीन संकल्प, नवीन अभियान’ विषयक विचार गोष्ठी आयोजना गर्ने जनाएको छ । त्यहाँ पनि संस्थापनइतर समूहका नेताहरु सहभागी हुने छैनन् ।
संस्थापनइतर समूहले बुधबार काठमाडौँको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना ग¥यो । उक्त कार्यक्रमबाट नेता प्रकाशमान सिंहले साउन २९ गते काठमाडौँमा गर्नेगरी राष्ट्रिय भेलाको घोषणा गरे । उक्त कार्यक्रममा काँग्रेसइतर पक्षका नेताहरू पूर्णबहादुर खड्का र प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला, मोहन बस्नेत, विमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइरालालगायत उपस्थित थिए । उक्त कार्यक्रममा बोल्ने केही वक्ताहरुले पार्टी मिलाउने भन्दा मुठभेडमा जानेसम्मको अभिव्यक्ति पनि दिए ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति दुर्लभ थापाले अब पार्टी केन्द्रीय कार्यालय कब्जा गर्न जानुपर्ने बताए । उनले मञ्चमा बसेका नेताहरुलाई देखाउँदै भने, ‘देशभरी ७० प्रतिशतको नेतृत्व गर्ने नेताहरु यहाँ हुनुहुन्छ । अब हामी सानेपाभन्दा बाहिर बस्ने ? अब सानेपा गएर कब्जा गर्नुपर्छ ।’ उनले यसो भनिरहँदा हलबाट समर्थनमा होहल्ला र तालीको आवाज आइरहेको थियो । सोही कार्यक्रममा काँग्रेसका नेता जितजंग बस्नेतले आत्मसम्मान गुमाएर पार्टी एकता हुन नसक्ने बताए ।
उनले भने, ‘एकता, एकता, एकता । एकता के शिर झुकाएर गर्ने हो ? आत्मसम्मान मारेर गर्ने हो ? एकता त सम्मानका लागि गर्ने हो नि त । लोकतन्त्र बचाउने हो भने एकता गर्नैपर्छ । एकता गर्न सक्दैन भने हामी घरमा सुत्ने हो त ? हामी त राजनीति गर्ने प्राणी हो । त्यसका लागि आगामी दिनमा राष्ट्रिय भेला गरेर अघि बढ्नुपर्छ ।’
कार्यक्रममा बोल्दै काँग्रेस नेता विजय गच्छदारले त सभापति थापालाई छोरा भन्न नहुने भनिएको भन्दै आपत्ति जनाए । उनले थापालाई आफूले साहसी मान्दै आएको र अब पार्टी एकता गर्न सकेमा खुलेर तारिफ गर्र्ने पनि बताए ।
उक्त कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी एकताका लागि नेताहरुको सम्मानको विषयमा सम्झौता नगर्ने बताए । खड्काले अहिलेको केन्द्रीय कार्यसमितिमा विशेष पक्षका ५४ प्रतिशत र नियमित महाधिवेशनका ४६ प्रतिशतलाई समेटेर समायोजन नगरिएसम्म एकता सम्भव नहुने बताए । उनले भने, ‘कोही पनि निष्क्रिय बस्नेवाला छैनौँ । हामी युवालाई अघि सारेर युवाहरूको रक्षा कवज भएर हिँड्न तयार छौँ । कहीँ पनि भ्रम नहोस्,’ उनले भने, ‘सम्मानका लागि पञ्चायतमा पनि लडियो । बरु मर्न तयार भइन्छ सम्मानमा सम्झौता गर्न सक्दैनौँ ।’
उनले पार्टी एकताका लागि जोड दिँदा बार्गेनिङको ट्याग लगाइएको भन्दै आपत्ति जनाए । ‘हामी विशेषलाई स्वीकार्न तयार । गगनजी नेतृत्वलाई पूर्णता दिन १४औँको केन्द्रीय समितिलाई मिलाएर पूर्णता दिनुस्, हामीलाई जोड्नुस् भन्दा बार्गेनिङ हुन्छ ?’ खड्काले भने । सोही कार्यक्रममा नेपाली काँग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले साउन महिनाको अन्तिमसम्ममा एउटा राष्ट्रिय भेला आयोजना गरेर नयाँ कार्यदिशा तय गर्ने बताए । उनले कार्यदिशा के हो भन्ने कुरा खुलाएनन् । बरु भने, ‘के हो नयाँ कार्यदिशा ? सबले बुझ्छन् ।’
उनले सभापति गगन थापालाई कपट नगरी पार्टी एकताको वातावरण बनाउन आग्रह पनि गरे । ‘अझै पनि भन्न चाहन्छौँ, तपाईँ गगन थापा साहसी बन्नुस्, अकपट बन्नुस् । असंकोच भएर, खुला छाती राखेर मैले जोडेँ काँग्रेस भन्ने आँट गर्नुस्,’ सिटौलाले भने, ‘तपाईँलाई जसले रोक्छ त्यसलाई धकेल्नुस्, तपाईँपट्टी आउन नदिनुस् । यति आँट छैन तपाईँमा ?’ २०८२ पुसमा विशेष महाधिवेशन आयोजनापछि उठेको आन्तरिक विवादपछि काँग्रेसभित्रको शक्ति संघर्ष झन् तीव्र बन्दै गएको इतर पक्षको सभामा अभिव्यक्त विचारहरुले देखाए ।
जीवनभर पार्टीभित्र विचार, बहस र लोकतान्त्रिक अभ्यासलाई महत्व दिएका वीपीलाई मान्ने बताउने नेताहरुले उनको स्मृति दिवसमा पनि एउटै मञ्चमा बस्न सकेनन् ।संस्थापनइतर समूहले छुट्टै भेलामार्फत शक्ति प्रदर्शनमा उत्रिएको देखिएको छ भने संस्थापन पक्षले इतर पक्षले राखेका सर्तहरुलाई ध्यानमा नलिएको देखिएको छ । काँग्रेसको संस्थापन पक्षले विवाद समाधान गरेर अगाडि बढ्ने भने पनि कुनै ठोस संयन्त्र निर्माण गरेको छैन । बिहीबार नयाँ अभियान सुरु गर्ने भनिए पनि कस्तो अभियान हो भन्ने जानकारी दिइएको छैन ।
साउन १ गते बसेको इतर समूहको बैठकपछि नेता मीन विश्वकर्माले बैठकले पार्टी एकता हुने सम्भावना ९९ प्रतिशत सकिएको निष्कर्ष निकालिएको बताएका थिए ।
संस्थापनइतर समूहले सदस्यता अद्यावधिकका नाममा खडा गरिएका अवरोधहरू हटाएर सहमतिका आधारमा अघि बढ्नुपर्ने, सदस्यताको अद्यावधिक प्रक्रियामा देखिएको विवाद समाधान गरेर सभापति गगन थापा महामन्त्री हुँदा टुंगिएको क्रियाशील सदस्यता नवीकरण प्रक्रियालाई मान्यता दिएर अगाडि बढ्नुपर्ने इतरसमूहको भनाइ थियो ।
वीपी स्मृति दिवसकै दिन पार्टी विभाजनको पाइलातर्फ जानेगरी अलग्गै राष्ट्रिय भेला आयोजना हुनु र समूहका बीचमा देखिएको अविश्वास, आरोपप्रत्यारोप र समानान्तर गतिविधिका कारण काँग्रेस विभाजनको संघारमा पुगेको विश्लेषण हुन थालेको छ । काँग्रेस नेता मिनेन्द्र रिजाल भन्छन्, ‘यस वर्षको स्मृति दिवस उहाँले स्थापना गर्नुभएको नेपाली काँग्रेसका लागि असाधारण रूपमा पीडादायी घडीमा परेको छ । प्रतिनिधिसभामा पार्टी ३८ सिटमा सीमित भएको छ । सभापति आफ्नै निर्वाचन क्षेत्रमा पराजित हुनुभएको छ । पुरानो नेतृत्व र परिवर्तनको पक्षमा उभिएको नयाँ पुस्ताबीचको दूरी झन् फराकिलो बन्दै गएको छ, र दुवैले एउटै निर्वाचन पराजयबाट ठीक विपरीत निष्कर्ष निकालेका छन् । यति मात्र होइन, धेरै वर्षदेखि केवल स्मृतिमा सीमित रहेको ‘विभाजन’ भन्ने शब्द फेरि पार्टीभित्र गम्भीरतापूर्वक उच्चारण हुन थालेको छ ।’
१९७१ भदौ २४ मा जन्मिएका वीपी कोइराला २०१५ सालको संसदीय निर्वाचनपछि २०१६ जेठमा पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए । उनको २०३९ साउन ६ गते निधन भएको थियो ।
काँग्रेसको नीतिमा पनि असहमति
काँग्रेसको संस्थापनइतरको बैठकमा बोल्ने नेताहरुले काँग्रेसको संस्थापन पक्षले लिएको सामाजिक लोकतन्त्रको नीतिमा पनि असहमति जनाएका छन् । नेता डा. शेखर कोइरालाले वीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद र अहिले चर्चामा आएको सामाजिक लोकतन्त्र एउटै नभएको टिप्पणी गरे । कार्यक्रममा बोल्दै नेता कोइरालाले भने, ‘सभापतिजीले आफ्नो विशेष अधिवेशनमा, आफ्नो भाषणमा सामाजिक लोकतन्त्रको कुरा गर्नुभएको छ, वीपीको विचार प्रजातान्त्रिक समाजवाद हो, के नेपाली काँग्रेसले वीपीको विचार थाँती राखेको हो ?’
प्रजातान्त्रिक समाजवाद र सामाजिक लोकतन्त्र सुन्दा उस्ताउस्तै सुनिए पनि फरक रहेको तर्क गर्दै कोइरालाले काँग्रेसले प्रजातान्त्रिक समाजवाद कहिल्यै छाड्न नसक्ने बताए । कोइरालाभन्दा अगाडि सम्बोधन गरेका पूर्वउपसभापति बिमलेन्द्र निधिले पनि काँग्रेसले प्रजातान्त्रिक समाजवाद छाडेर सामाजिक लोकतन्त्रमा गए पश्चगमन हुने टिप्पणी गरे । नेपाली काँग्रेसका पूर्वउपसभापतिसमेत रहेका विमलेन्द्र निधिले वीपी कोइरालाले प्रतिपादन गरेको प्रजातान्त्रिक समाजवाद नेपाली राजनीतिको चीरकालीक दर्शन रहेको बताए । त्यहीकारण काँग्रेसले वीपी कोइरालाको सधैँ सम्मान र वीपी विचार अनुशरण गरिरहेको उनले बताए ।
तर, पछिल्लो रास्वपाको चितवन महाधिवेशनमा ‘सामाजिक लोकतन्त्र’को प्रसंग उठेपछि त्यसलाई काँग्रेससँग जोडिएर बहस सुरु भएको भन्दै निधिले चिन्ता व्यक्त गरे । ‘म यो भन्न चाहन्छु, वीपी स्मृति दिवसका अवसरमा सामाजिक लोकतन्त्रको एजेन्डा यदि काँग्रेसले ग्रहण गरेको छ भने त्यो अग्रगमन होइन, पश्चगमन हो,’ निधिले भने ।
नेपाली काँग्रेस वीपीको विचारप्रति प्रतिबद्ध हुने हो भने प्रजातान्त्रिक समाजवादप्रति प्रतिबद्ध हुनैपर्ने उनले बताए । ‘प्रजातान्त्रिक समाजवादप्रतिको प्रतिबद्धता कायम रहेन, प्रजातान्त्रिक समाजवादको सट्टा सामाजिक लोकतन्त्र एडप्ट गर्नु भनेको यो गर्व को कुरा होइन । प्रतिगमन हो, पश्चगमन हो । म आरोप लगाउँछु, यसमा बहस होस् म चाहन्छु ।’









प्रतिक्रिया दिनुहोस्